भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बलात्कारीलाई मृत्युदण्डको पैरवी


  • आश्विन १३, २०७७
  • 417 Views
बलात्कारीलाई मृत्युदण्डको पैरवी image

काठमाडौं । कलिला नानीहरूको घाँटी निमोठ्ने मानव सभ्यताविपरीतका घटनालाई विद्यमान कानुनले थेग्न नसकेपछि महिला सांसदहरू यसमा कठोर भएर जाने निष्कर्षमा पुगेका छन्। यस्ता कुकार्यमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिनुपर्ने उनीहरूको ठहर छ। त्यसका लागि संविधान, कानुन र अन्तर्राष्ट्रिय सन्धिरसम्झौतामा परिवर्तन वा परिमार्जन गर्न पछि पर्न नहुनेमा सबै दलका महिला सांसदको एकमत छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका ३२ सांसदको सोमबारको भेलाले १६ वर्ष मुनिका बालिकाको बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिनुपर्ने आवाज उठाएको हो। भेलाले मृत्युदण्ड सजायको व्यवस्थाका लागि अध्ययन गर्न ९ सदस्यीय समिति नै गठन गरेको छ। प्रमुख विपक्षी कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले १६ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्थाका लागि सामाजिक रूपमै दबाब सिर्जना गर्नुपर्ने बताइन्।

मृत्युदण्डको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव ल्याउन सरकारलाई सिफारिस गर्नुपर्ने उनको भनाइ थियो। नेकपाकी सचेतक शान्ता चौधरीले बलात्कारीलाई कि मृत्युदण्डको व्यवस्था गर्ने कि नपुंसक बनाउने भन्नेमा बहस हुनुपर्ने धारणा राखिन्। चौधरीले दिनमा सातवटासम्म बलात्कारका घटना दर्ता भएको सरकारी आँकडा नै पेस गरिन्। ‘बलात्कार गरेर मान्छे मार्नेका लागि राम्रो कानुन बनाइराख्नु आवश्यक छैन,’ चौधरीले भनिन्, ‘आपराधिक मानसिकता बोकेकाहरूलाई तह लगाउने गरी कानुनको व्यवस्था गरौँ।’ सांसद शान्तिमाया पाख्र्रिनले फाँसीको सजाय दिने व्यवस्था नभएसम्म बलात्कारीको मनोबल नघट्ने बताइन्। ‘१६ होइन २१ वर्षमुनिकालाई बलात्कार गर्नेलाई फाँसीको सजायको व्यवस्था गरौं’, उनको प्रस्ताव थियो। सांसद आशा विकले विशेषगरी गरिब, निमुखा र कथित तल्लो जातका बालिकामाथि बलात्कारका घटना भइरहेको भन्दै मृत्युदण्डसम्बन्धी कानुन निर्माणका लागि संसद् र सरकारले विशेष पहल गर्न‘पर्ने धारणा राखिन्।

सांसद लक्ष्मी विकले दलित र गरिबमाथि बलात्कारका घटना भइरहेको बताइन्। ‘बलात्कारीलाई फाँसी र पीडितलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था हुनुपर्छ’, उनले भनिन्, ‘यहाँ त गरिबीसँग भावना साट्ने काम भइरहेको छ। बलात्कार गर्ने र पैसाको बार्गेनिङ गरेर घटनालाई भित्रभित्रै सामसुम पार्ने काम भइरहेका छन्।’ सांसद कोमल वलीले बलात्कारका घटनामा मिलापत्र गरेर बिहे गरिदने प्रचलन अन्त्य गर्न‘पर्ने बताइन्।महिला बालबालिका समिति सभापति नीरूदेवी पालले बलात्कारीलाई मृत्युदण्डको सजायको कानुनी व्यवस्थाका लागि आफ्नो समितिले पनि साथ दिने उल्लेख गरिन्।

महिला सांसदहरूको भेलाले मृत्युदण्डको कानुनी व्यवस्थाका लागि अध्ययन गर्न नेकपा सांसद बिन्दा पाण्डेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ। समितिमा सांसदहरू शान्ता चौधरी, पुष्पा भुसाल, नीरूदेवी पाल, अमृता थापा, पार्वती थापा रावल, प्रमिलाकुमारी यादव, अनिता देवकोटा र लक्ष्मी परियार सदस्य छन्। समितिलाई बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको कानुनी व्यवस्थाका लागि आवश्यक अध्ययन र सिफारिस गर्ने जिम्मेवारी तोकिएको छ।
अन्नपूर्ण पोेष्टबाट…….

 


Thali Mobile Pvt.Ltd.