DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बागमतीमा लागूऔषध दुर्व्यसन तीव्र


  • भाद्र ३१, २०८०
  • 234 Views
बागमतीमा लागूऔषध दुर्व्यसन तीव्र image

हेटौंडा । बागमती प्रदेश लागूऔषध उत्पादन, कारोबार र प्रयोगको केन्द्र बन्दै गएको विभिन्न घटनाक्रमले देखाएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेर सार्वजनिक गर्ने तथ्यांक र मुद्दा चलाएर फैसला सँगै कारागार चलान भएकाहरूको सूची हेर्दा प्रदेशका धेरै नागरिक लागूऔषध कारोबारमा फसेको देखिन्छ।

प्रदेशका विभिन्न कारागारमा रहेका लागूऔषध मुद्दाका कैदीबन्दीमध्ये सबैभन्दा धेरै मकवानपुरका स्थानीय छन्। यो जिल्लाका मात्रै १ सय ९४ जनाले विभिन्न कारागारमा लागूऔषध मुद्दामा कैद सजाय भोग गरिरहेको कारागार व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ। यस्तै चितवनका १ सय ५१, धादिङका २८, काभ्रेका ११, दोलखाका ६, सिन्धुलीका ५, सिन्धुपाल्चोकका ४, काठमाडौंका २ साथै रसुवा र नुवाकोटका १र१ जना छन्।

यो तथ्यांक काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेकको मात्रै हो। काठमाडौं उपत्यकाभित्रका कारागारमा लागूऔषध मुद्दामा कैद सजाय भोग गरिरहेका बागमती प्रदेशका नागरिकहरूको सूचीसमेत थप्ने हो भने अझै धेरै हुने विभागका अधिकारी बताउँछन्। उपत्यका बाहेकका जिल्लाका मात्रै लागूऔषध कारोबारमा संलग्नहरूको पक्राउ पर्ने क्रम पनि प्रत्येक वर्ष बढ्दो क्रममा रहेको प्रदेश प्रहरीको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७७र७८ मा २ सय ६५ जना लागूऔषध मुद्दामा पक्राउ परेका थिए। अर्को आर्थिक वर्ष २०७८ र ७९ मा बढेर यो तथ्यांक ५ सय ३० पुग्यो भने २०७९ र ८० मा ५ सय ५६ जना पक्राउ परे। यो तथ्यांकलाई हेर्दा प्रत्येक वर्ष लागूऔषध कारोबार, प्रयोग र उत्पादनमा प्रदेशका नागरिक पस्दै गएको देखिने कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटी बताउँछन्।

विभागका अनुसार कुल ४ सय ३ जना बागमती प्रदेशका नागरिक लागूऔषध मुद्दामा विभिन्न कारागारमा छन्। विभागका अनुसार मकवानपुरको भीमफेदी कारागारमा रहेका १ हजार ७० जना कैदीबन्दीमध्ये तीन सय जनाले लागूऔषध मुद्दामा सजाय भोग गरिरहेका छन्। जसमध्ये मकवानपुरका मात्रै १ सय ७५ पुरुष र ६ जना महिला गरी १ सय ८१ जना कारागारमा रहेको कारागार प्रमुख तीर्थराज पौडेलले बताए। यस्तै चितवन कारागारमा रहेका १ सय ९० जना लागूऔषध मुद्दामा सजाय भोग गरिरहेकामध्ये सात जना मकवानपुरका रहेका चितवन कारागार कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलले बताए।

धादिङ कारागारमा रहेका २ सय ७७ कैदीबन्दीमध्ये ४० जना लागूऔषध मुद्दामा सजाय भोग गरिरहेका छन्। जसमध्ये मकवानपुरका दुई जना छन्। सिन्धुली कारागारमा सात सय ६० कैदीबन्दीमध्ये १ सय ८३ जना लागूऔषधका मुद्दाका कैदीबन्दी रहेको सिन्धुली कारागारका सूचना अधिकारी मात्रिका प्रसाद पहाडीले बताए। उनका अनुसार कारागारमा चार जना मकवानपुरका लागूऔषध मुद्दाका कैदीबन्दी छन्। बागमतीमा लागूऔषध कारोबारमा संलग्नहरू पक्राउ पर्ने र जेल चलान हुने क्रम पनि प्रत्येक वर्ष बढ्दो मात्रामा देखिन्छ। यो अवस्था रोक्न जनचेतना फैलाउन आवश्यक छ।

रामचन्द्र शिवाकोटी, सूचना अधिकारी, कारागार व्यवस्थापन विभाग

उपमहानगरपालिकाले यसलाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रमहरू गरिरहेको छ। प्रत्येक वर्ष बजेट नै विनियोजन गरेर विभिन्न अभिमुखीकरण र वडास्तरमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
मीनाकुमारी लामा, मेयर, हेटौंडा उपमहानगरपालिका कानुनले बन्देज गरेको लागूऔषध गाँजा र अफिम खेतीलाई रोक्दै वैकल्पिक खेतीका रूपमा कफीका बिरुवा रोप्न किसानहरूलाई बिरुवा उपलब्ध गराएका छौं। यसले लागूऔषध दुव्र्यसन घटाउन मद्दत पुग्ला।

किरण राणा, प्रहरी नायव महानिरीक्षक, प्रदेश प्रहरी कार्यालय

यो तथ्यांकले प्रदेशमा सबैभन्दा बढी लागूऔषध तस्करी र कारोबार मकवानपुरमा हुने गरेको देखिन्छ। यस्तै दोेस्रो स्थानमा रहेको चितवनमा पनि लागूऔषध कारोबार धैरै हुने गरेको पाइएको छ। मकवानपुरको भीमफेदी कारागारमा मात्र चितवनका ३२ जनाले लागूऔषध मुद्दामा सजाय भोग गरिरहेका छन्। चितवन कारागारमा १ सय १७ जना र सिन्धुली कारागारमा दुई जना गरी कुल १ सय ५१ जना कारागारमा सजाय भोग गरिरहेका छन्। तेस्रो स्थानमा धादिङ जिल्ला पर्छ। धादिङ कारागारमा रहेको कुल २ सय ७४ कैदीबन्दीमध्ये ४० जना लागूऔषधका छन्। जसमध्ये धादिङकै २६ जना छन्। अन्यमा सिन्धुली र रसुवा कारागारमा १र१ जना गरी कुल २८ जना कैदीबन्दी छन्।

प्रदेशको चौथो बढी लागूऔषधको कारोबार काभ्रेमा हुने गरेको पाइएको छ। काभ्रे कारागारमा १४ जना लागूऔषधका कैदीबन्दी रहेकोमा आठ जना काभ्रे जिल्लाकै छन्। चितवनमा एक जना र सिन्धुली कारागारमा दुई जना गरी कुल ११ जना कैदीबन्दी काभ्रेका रहेको पाइएको छ। दोलखा कारागारमा रहेको कुल १ सय ५३ जना कैदीबन्दीमध्ये लागूपदार्थ मुद्दामा ६ जना छन्। कारागारमा रहेका ६ जनामध्ये चार जना कैदीबन्दी सोही जिल्लाकै रहेका कारागार प्रमुख रामकृष्ण घिमिरेले बताए। दोलखा जिल्लाका थप १र१ जना, सिन्धुली र रामेछाप जिल्लामा रहेका समेत गरी कुल छ जनाले लागूऔषध मुद्दामा कारागारमा सजाय भोग गरिरहेका छन्।

सिन्धुपाल्चोक कारागारमा १ सय ३० जना कैदीबन्दीहरू रहेकोमा एक जना मात्र लागूऔषध मुद्दाका छन्। उनी सन्धुपाल्चोककै नागरिक रहेको कारागारका सूचना अधिकारी गौरव श्रेष्ठले बताए। यस्तै सोही जिल्लाका एक जना चितवनमा, दोलखामा एक जना, काभ्रे कारागारमा एक जना गरी चार जना कैदीबन्दी सजाय भोग गरिरहेको पाइएको छ।

नुवाकोट जिल्लाको कारागारमा रहेका कुल १ सय २० जना कैदीमध्ये दुई जना मात्र लागूऔषध मुद्दाका रहेका पाइएको छ। जसमध्ये एक जना नुवाकोट जिल्लाकै महिला छन्। रसुवा जिल्ला कारागारमा रहेका ६७ जना कैदीबन्दीमध्ये तीन जना मात्र लागूऔषध मुद्दामा सजाय भोग गरिरहेका छन्। जसमध्ये एक जना रसुवाकै छन्। सिन्धुली कारागारमा सिन्धुली जिल्लाकै चार जना र रामेछाप कारागारमा एक जना गरी पाँच जना कैदीबन्दी छन्।

काठमाडौंका दुई जना लागूऔषध मुद्दामा धादिङ कारागारमा छन्। प्रदेशअन्तर्गत रहेका १० वटा कारागारमा लागूऔषध मुद्दाका भक्तपुरका कैदीबन्दी भेटिएको छैन। ललितपुर कारागारमा विभिन्न आपराधिक गतिविधिमा संलग्न भई कारागारमा सजाय भोग गरिरहेका संख्या कुल १५ सय १३ छ। जसमध्ये स्वदेशी १४ सय १७ जना छन् भने विदेशी ९६ जना रहेका कारागार प्रमुख कल्पना घिमिरेले बताइन्। उनका अनुसार ललितपुर कारागारमा लागूऔषधका २ सय ४२ जना कैदीबन्दी रहेकामा धेरै संख्यामा ललितपुर, काठमाडौं र भक्तपुरकै छन्।

यो कारागार सेन्टर जेल जस्तो भएको छ। यो कारागार भएको क्षेत्रमा अदालतहरू, अस्पतालहरू पनि छ। त्यसैले पनि ७७ वटै जिल्लाका कैदीबन्दी यहाँ छन्। धेरैको बास्तविक ठेगाना आउन गाह्रो भए पनि प्रायः धेरै संख्यामा भने बागमती प्रदेशकै रहेको कारागार प्रमुख घिमिरेले बताइन्। देशका ७७ जिल्लामध्ये ७२ वटा जिल्लामा ७४ वटा कारागार छन्। यद्यपि प्रदेशको जिल्लागत संख्यामत्मक स्थिति हेर्दा देशभरका अन्य कारागारमा अझै यो संख्या बढ्न सक्ने देखिन्छ।

हेटौंडाका लागूऔषध मुद्दाका कैदीबन्दी धेरै

प्रदेशका १३ जिल्लामध्ये मकवानपुरको सबैभन्दा बढी लागूऔषध मुद्दामा कैदीबन्दी छन्। मकवानपुरका १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाको ६७ जना लागूऔषध मुद्दामा प्रदेशका विभिन्न कारागारमा रहेको पाइएको छ। यस्तै राक्सिराङ गाउँपालिकाको ३१ जना, कैलाश गाउँपालिकाको २९ जना, मनहरी गाउँपालिकाको ३० जना, थाहा नगरपालिकाको १२ जना, भीमफेदी गाउँपालिकाको ११ जना, मकवानपुरगढी गाउँपालिकाको दुई जना, बकैया गाउँपालिकाको ११ जना र इन्द्रसरोवर गाउँपालिकाको एक जना गरी कुल १ सय ९४ जना नागरिक लागूऔषध मुद्दामा कारागारमा छन्।

चितवन जिल्लाकालागूऔषध मुद्दामा कारागारमा रहेकामध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका छन्। प्रदेशको दोस्रो ठूलो महानगर भरतपुरका ६१ जना प्रदेशअन्तर्गत रहेका विभिन्न कारागारमा छन्। यस्तै रत्ननगर नगरपालिकाका १८ जना, खैरहनी नगरपालिका ५, राप्ती नगरपालिका १९, कालिका नगरपालिकाका १३, इच्छाकामना गाउँपालिकाका १, माडी नगरपालिकाका एकजना र भीमफेदी कारागारमा रहेका ३२ जना गरी कुल १ सय ५१ जना कैदीबन्दीहरू लागूऔषध मुद्दामा कैदी जीवन बिताइरहेका छन्।

तेस्रोमा रहेको धादिङका २८ जना धादिङ कारागारसहित प्रदेशका विभिन्न कारागारमा लागूऔषध मुद्दामा सजाय भोग गरिरहेका छन्। जसमध्ये सबैभन्दा बढी धादिङको गजुरी गाउँपालिकाको १६ जना छन्। यस्तै बेनीघाट रोराङ गाउँपालिको तीन जना, नीलकण्ठ नगरपालिकाको र सिद्धलेक गाउँपालिकाको २र२ जना कैदीबन्दी छन्। यस्तै रुबिभ्याली खानिवास गाउँपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, धुनेवेशी नगरपालिका र खानीवास गाउँपालिका १र१ जना कैदीबन्दी छन्।

गाँजाको पकेट क्षेत्रमा कफी खेती सुरु

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकासहित चितवनका कतिपय क्षेत्रमा कानुनले बर्जित गरेको लागूऔषध गाँजा र अफिमको खेती नै हुने गरेको छ। यी क्षेत्रहरू सदरमुकामबाट टाढा हुनुको साथै विकट पनि रहेकोले यी क्षेत्रहरूमा खुला रूपमै गाँजा र अफिमको खेती वर्षौंदेखि हुँदै आएको पाइन्छ।

पहिले गाँजाको मात्र खेती हुने यी क्षेत्रहरूमा अहिले अफिमको पनि खेती बढेको छ। यी दुई जिल्लामा गाँजा खेतीलाई विस्थापन गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय र मास्के मल्टिपर्पोज एग्रिकल्चर एन्ड रिसर्च प्रालि चितवनको सहकार्यमा गाँजा उत्पादनको पकेट क्षेत्रमा कफी खेतीको अभियान सुरुवात गरिरहेको छ।

प्रालिले पहिलो चरणमा मकवानपुर र चितवन जिल्लाको पहाडी भू–भागमा अवस्थित राप्ती नगरपालिका–१, परेवाकोटबाट कफी रोप्न सुरु गरेको छ। यस्तै मकवानपुरमा राक्सिराङ गाउँपालिकाअन्तर्गत रहेका विभिन्न वडाहरूमा कफी खेती गर्न सुरु गरेको छ। प्रदेश प्रहरीले चितवनको राप्ती नगरपालीका–१ र मकजानपुरको राक्सीराङ गाउँपालिका–५ कैलाश गाउँपालिकामा स्थानीय किसानहरूसँग संयुक्त कार्यक्रम आयोजना गरी कफी खेतीबाट हुने फाइदाबारे कृषकहरूलाई उत्प्रेरित र सचेत गराउँदै चितवनमा २० हजार र मकवानपुरमा १५ हजार कफीका बिरुवा समेत किसानलाई उपलब्ध गराई सकेको प्रदेश प्रहरी नायव महानिरीक्षक किरण राणाले बताइन्।

‘कानुनले बन्देज गरेको गैरकानूनी रूपमा हुँदै आएको लागूऔषध गाँजा र अफिम खेतीलाई रोक्दै वैकल्पिक खेतीका रूपमा कफीका बिरुवा रोप्न किसानहरूलाई बिरुवा उपलब्ध गराएका छांै’, उनले भनिन्, ‘प्रदेश प्रहरीले प्रदेशका विभिन्न जिल्लाहरूमा गैरकानुनी रूपमा हुने यस्ता खेतीलाई विस्थापन गर्न आर्थिक बर्ष २०८०र०८१ मा लागि प्रमुख १० लक्ष्यभित्र समेटेर अघि बढेका छौं।’

के भन्छन् जनप्रतिनिधि ?

हेटौंडा उपमहानगरपालिकाले लागूऔषधको प्रयोगकासाथै ओसारपसार बढेको सन्दर्भमा त्यसलाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रमहरू गरिरहेको बताएको छ। प्रत्येक वर्ष बजेटनै विनियोजन गरेर विभिन्न अभिमुखीकरण र वडा स्तरमा चेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको उपमहानगर प्रमुख मीनाकुमारी लामाले बताइन्। उपमहानगरले अन्य विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसंग समवन्य गर्दै काम गरिरहेको भए तापनि दिनप्रति दिन लागूऔषध प्रयोगकर्ता र ओसारपसारमा कमी भने नभएको भन्दै चिन्ता व्यक्त गरिन्। यस्तै–यस्तै धादिङ जिल्लाको गजुरी गाउँपालिकाको माथिल्लो भेगका १ र ८ नम्बर वडामा गाँजा खेती गरिन्छ भनिँदै आए तापनि अहिले देखिन छाडेको गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले बताइन्। पालिकाले गैरकानुनी गाँजा अफिमलगायत कानुनले निषेध गरेका कुराहरूको विकल्पको रूपमा कृषिलाई अघि सारेर विभिन्न कार्यक्रमहरू गरिरहेको बताइन्।

मकवानपुरको कैलाश गाउँपालिकामा गैरकानुनी गाँजा, अफिमलगायतको खेती हुँदै आएकोमा अहिले त्यसलाई निरुसाहित पार्न कृषि उत्पादनसँग जोडन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बताए। ‘विशेष गरेर वडा नं १,२,६ र १० का मानिस कारागारमा धेरै रहेको हामीले पाएका छौं। त्यसले पनि गाउँपालिकाभित्र रहेका १० वटै वडाहरूमा विभिन्न चेतनामूलक कार्यक्रमहरू, अभिमुखीकरणका कार्यक्रमहरूलगायत सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं’, उनले भने।

प्रत्येक वर्ष बढ्दै लागूऔषध तस्करी

बागमती प्रदेशका १३ जिल्लामध्ये उपत्यका बाहेकको दश जिल्लामा प्रत्येक वर्ष लागूऔषध तस्करी बढ्दो क्रममा रहेको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। प्रदेशमा आर्थिक वर्ष २०७७र०७८ लागूऔषध मुद्दामा पक्राउ परेका २ सय ६५ जनाको मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक रेग्मीले बताए। उक्त वर्ष प्रदेशका १० वटा जिल्लामध्ये सबैभन्दा बढी मकवानपुरमा मुद्दा दर्ता भएको देखिन्छ।

उक्त वर्ष मकवानपुरमा एक सय चार, चितवनमा ९५ वटा, सिन्धुलीका ३२ वटा, धादिङका १५ वटा, काभ्रेका आठ वटा, सिन्धुपाल्चोकका ५ वटा, नुवाकोट पाँच वटा र रामेछापका १ वटा गरी २ सय ६५ जनाविरुद्ध मुद्दा दर्ता भएको प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ। जसमा चितवनमा एक सय ४२ जना, मकवानपुरमा एक सय ६० जना, सिन्धुलीमा ५३ जना, रामेछापमा एक जना, काभ्रेमा ११ जना, सिन्धुपाल्चोकमा ७ जना, नुवाकोटमा १० जना र धादिङ जिल्लामा २७ जना गरी ४ सय ११ जना पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले बताएको छ।

आर्थिक वर्ष २०७८र०७९ मा पनि पक्राउ पर्नेहरूको संख्या बढेको देखिन्छ। प्रहरी प्रवक्ता रेग्मीका अनुसार आर्थिक वर्ष २०७८र०७९ मा ५ सय ३० जना पक्राउ परेकोमा ३ सय ४३ वटा मुद्दा दर्ता भएको थियो। जसमध्ये लागूऔषध मुद्दा सबैभन्दा बढी मकवानपुरमा १ सय ४९ वटा, चितवनमा १ सय ६ वटा, सिन्धुलीमा ४९ वटा, काभ्रेमा ७ वटा, सिन्धुपाल्चोकमा २ वटा, नुवाकोटमा १ वटा र धादिङ जिल्लामा २९ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाउँछ।

यस्तै उक्त वर्ष मकवानपुरबाट २ सय ३० जना, चितवनबाट १ सय ७२ जना, सिन्धुलीबाट ६६ जना, काभ्रेबाट ११ जना, सिन्धुपाल्चोकबाट छ जना, नुवाकोटबाट २ जना र धादिङबाट ४३ जना गरी ५ सय ३० जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रेग्मीले बताए।

यस्तै आर्थिक वर्ष २०७९र८० मा ५ सय ५६ जना पक्राउ र तीनसय ६३ वटा लागूऔषधका मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ। उक्त वर्ष मकवानपुरमा १ सय ५३ वटा, चितवनमा १ सय ७ वटा, धादिङमा ४६ वटा, सिन्धुलीमा ३९ वटा, काभ्रेमा १३ वटा, रामेछापमा २ वटा र नुवाकोटमा ३ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा देखिन्छ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गतका विभिन्न जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेका ५ सय ५६ जनामध्ये सबैभन्दा बढी पक्राउ पनि मकवानपुर र चितवनमा जिल्लामा देखिन्छ। प्रदेश प्रहरी प्रवक्ता रेग्मीका अनुसार उक्त वर्ष मकवानपुरबाट २ सय ५० जना, चितवनबाट १ सय ६४ जना, सिन्धुलीबाट ४९ जना, रामेछापबाट दुई जना, काभ्रेबाट २१ जना, नुवाकोटबाट ९ जना र धादिङबाट ६१ जाना पक्राउ परेको उनले बताए।

बागमती प्रदेशमा उपत्यकका बाहेकका जिल्लाहरू मकवानपुर र चितवन जिल्ला लागूऔषध खेतीको पनि ‘हब’ बन्दै गएको छ। यी दुई जिल्लामा गाँजा, अफिमलगायत लागूऔषध खेती मौलाएको छ। चेतनाको कमी, कम सयममा धेरै पैसा कमाउने लोभ, अशिक्षालगायत कुराहरूले प्रदेशमा लागूऔषधको खेतीसँगगै तस्करहरूसमेत बढेको रेग्मीले बताए। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.