DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बिनादेउवा, बिनादाहालका नेपाल


  • पुष १३, २०७९
  • 201 Views
बिनादेउवा, बिनादाहालका नेपाल image

काठमाडौँ । सरकारमा सहभागी हुनेबारे ‘पर्ख र हेर’ नीति लिएको एकीकृत समाजवादी ९एस० का अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच संवादको वातावरण बन्दै गएको छ । एमाले नेतृत्वमा नयाँ गठबन्धन निर्माणसँगै माओवादीमा दोस्रो तहका नेता एसका नेतासँग निरन्तर संवादमा छन् । प्रधानमन्त्री दाहाल र नेपालबीच बुधबार छलफल हुने स्रोतले जनाएको छ ।

सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री र नेपालबीच छलफल गर्ने कुरा भएको छ,’ दाहालनिकट एक नेताले भने, ‘अहिलेसम्म ठोस आकार भने आइसकेको छैन ।’ एमाले अध्यक्ष केपी ओली र नेपालबीच बोलचाल भए पनि तिक्तता भने कायम छ ।

दाहाल प्रधानमन्त्री हुँदा आफूले चित्त दुखाउनुपर्ने कारण नभएको नेपालले कान्तिपुरसँग बताए । प्रधानमन्त्री दाहाल आफूहरूसँग सहयोग माग्न नआएको उनको भनाइ छ । ‘सहयोग माग्न आउनुपर्‍यो नि । त्यसैले एकीकृत समाजवादीको नीति ‘वेट एन्ड सी’ हो । प्रचण्ड मसँग आउन सक्नुहुन्थ्यो । ‘मान नमान मै तेरा मेहमान’ भएर जाने कुरा आउँदैन,’ अध्यक्ष नेपालले भने, ‘शेरबहादुर देउवा हुँदा खुसी हुनुपर्ने र प्रचण्ड हुँदा चित्त दुखाउनुपर्ने कारण के छ रु प्रचण्डसँग हाम्रो विवाद, बहस, असमझदारी केही छैन किनभने शेरबहादुर र कांग्रेस पार्टीको अहंकारले बिगारेको हो ।’

एमालेले भने एससँग छलफल जरुरी नभएको जनाएको छ । एमाले उपमहासचिव विष्णु रिमालले तत्काल संवाद हुने सम्भावना नभएको बताए । ‘अहिले संवाद सुरु हुने अवस्था छैन, त्यसको जरुरी पनि छैन । अहिलेको समय र प्रसंगमा त्यो कामलाग्दै भएन । सरकार बनिसकेकै छ । उहाँहरू शेरबहादुरकै गठबन्धनमा रमाइरहनुभएको छ । संवादका लागि समय पनि हुनुपर्‍यो नि,’ उनले भने, ‘समय आएपछि सबै कुरा हुन्छ ।’

कांग्रेस नेतृत्वमा भएको गठबन्धन चुनावसम्मका लागि भएको र सातदलीय गठबन्धन मिसन भएको उनले बताए । ‘एउटा मिसन छ, त्यसको चक्र पूरा हुन्छ,’ रिमालले भने । एमालेका केही नेता पनि अध्यक्ष नेपालसँग संवादमा छन् । मंगलबार एसको मुख्यालय तीनकुनेमा आयोजित कार्यक्रममा पनि अध्यक्ष नेपालले दाहाललाई पहिलो प्रधानमन्त्री बन्न आफूले सुझाव दिएको बताएका छन् ।

‘मेरो र प्रचण्डबीच कुराकानी के भयो भने परिस्थिति जटिल छ, रवि लामिछानेले नयाँ र क्रान्तिकारी कुरा गरेर जितेर आएका छन् । जनताको एउटा पक्षले ठूलो आशा र अपेक्षा गरेका छन् । भोलि जनताको असन्तुष्टि कतिखेर सडकमा पोखिने हो, त्यो कुरा विद्यमान छ । संसारका विभिन्न देशमा आर्थिक संकट आएपछि मानिस सडकमा उत्रेको हामीले देखिरहेका छौं,’ नेपालले भने, ‘यो सबै अवस्थामा शेरबहादुर देउवाबाट हुन सक्दैन भनेर प्रचण्डजी तपाईं अघि बढ्नुपर्छ मैले भनेको हो । तर प्रचण्डजीले शेरबहादुर देउवासँग एक्लै कुरा गरेर प्रधानमन्त्री बन्ने कुरा लिइहाल्नुभयो ।’

शनिबार पार्टी मुख्यालय तीनकुनेमा आयोजित कार्यक्रममा पनि नेपालले देउवासँग कुरा नमिलेपछि ओलीसँग कुराकानी गर्न सँगै जाने भने पनि दाहाल एक्लै गएको भन्दै चित्त दुखाएका थिए । ‘हामी पनि केपी शर्मा ओलीपीडित, उहाँहरू पनि पीडित । पीडितपीडित एकै स्थानमा भएर विद्रोह गरिहाल्नुपर्छ भन्ने भयो । कसरी अघि जाने भन्ने विषयमा कुराकानी भयो,’ नेपालले कार्यक्रममा भने, ‘उहाँले तपाईं, म र केपी ओली छुट्टै बसेर कुराकानी गरौं, कुरा गरेर नयाँ ढंगले अघि बढौं’ भन्नुभयो, मैले हुन्छ भनें । पछि प्रचण्डजी खुमलटारबाट बालकोट जानुभएछ ।’

आइतबार शपथग्रहणलगत्तै कीर्तिपुरस्थित पुष्पलाल पार्क पुगेका प्रधानमन्त्री दाहाल र नेपालबीच संक्षिप्त भेट भएको थियो । दाहालले नेपाललाई चाँडै भेटेर छलफल गर्ने जानकारी गराएका थिए । ‘पुष्पलाल पार्कको पदाधिकारीका रूपमा हामी पुगेका थियौं । माल्यार्पणपछि केही समय सँगै रह्यौं । दाहालले आज (आइतबार) फुर्सद भएन, चाँडै भेटेर कुरा गर्छु भन्नुभएको थियो,’ एसका महासचिव वेदुराम भुसालले भने, ‘पहिलो यो गठबन्धन कस्तो हो रु के उद्देश्यले बनेको हो रु कहाँसम्म जाने हो रु सबै कुरा स्पष्ट छैन । त्यसैले हामी पर्ख र हेरको नीतिमै छौं ।’

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्षका रूपमा नेपालले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई स्वागत गरेका थिए । महासचिव भुसालका अनुसार माओवादीका दोस्रो तहका नेताहरू निरन्तर सम्पर्कमा रहेको र उनीहरूले सँगै मिलेर जान प्रस्ताव गरेका छन् ।

यसैबीच, सोमबार दिउँसो वामदेव गौतमले अध्यक्ष नेपालसहितका नेतासँग भेट गरेका थिए । त्यस क्रममा गौतमले नेपाललाई गठबन्धनमा जाँदा राम्रो हुने सुझाव दिएका थिए । ‘गौतमले विगतका तीतामीठा कुरा छाडेर गठबन्धनमा सामेल हुँदा वाम एकता भएर जान सजिलो हुन्छ भन्नुभयो,’ भुसालले भने । एमाले गठबन्धनको मुख्य शक्ति भएका कारण ओलीलाई विश्वासमा लिएर दाहाल अघि बढ्नुपर्ने अवस्था छ । ओलीसँग विश्वासको वातावरण पनि दाहालले नै बनाउने माओवादीका नेताहरूले नेपाललाई आश्वस्त पारिरहेका छन् ।

आइतबार अपराह्न शीतलनिवासमा भएको शपथग्रहण समारोहमा ओली र नेपाल सँगै बसेका थिए । त्यसक्रममा ओलीले नेपालको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । निमोनियाका कारण केही दिनअघि अस्पताल भर्ना भएका नेपाललाई स्वास्थ्यमा ख्याल गर्न ओलीले सुझाव दिएका थिए ।

एमाले विभाजनपछि दुवै नेताबीच पहिलो पटक संवाद भएको हो । दुवैबीच आरोप–प्रत्यारोपको लामो शृंखला चलेको थियो । नवौं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गरेका ओली र नेपालबीच एमाले हुँदै नेकपासम्म चर्को अन्तरद्वन्द्व थियो । २०६५ सालमा बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमा भने अध्यक्षमा प्रतिस्पर्धा गरेका ओलीलाई नेपालले सघाएका थिए ।

नेकपाभित्र शक्ति संघर्ष चर्किंदा तत्कालीन अध्यक्ष ओलीविरुद्ध दाहाल र नेपाल एकै स्थानमा रहेका थिए । २०७७ पुस ५ मा ओलीले संसद् विघटन गर्दा दाहाल र नेपालले त्यसविरुद्ध कानुनी उपचार खोज्नेदेखि सडक संघर्षसम्मका कार्यक्रम आयोजना गरेका थिए ।

२०७७ भदौ २ मा नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएसँगै ओली र नेपालबीचको साढे ४ दशक लामो राजनीतिक सहकार्य टुटेको थियो । स्थानीय चुनावभन्दा पनि एसका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव निराशाजनक रह्यो । गण्डकी प्रदेशमा नील रहेको एस राष्ट्रिय दल बन्न सकेन । अन्य प्रदेशमा पनि उल्लेख्य प्रदर्शन गर्न सकेन । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.