भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ


  • फाल्गुन २, २०७७
  • 575 Views
बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ image

बुटवल । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ (रिब) बुटबलमा निर्माण भइरहेका छन् । प्राविधिकका अनुसार करङ भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज आकारमा स्थायी संरचना बनाउन दिइने फलामे टेको हो । यो टेकोसँगै कङ्क्रिटको प्रयोगले सुरुङलाई बलियो पारिन्छ । यससँगै कतिपय अवस्थामा फलामे बाकसको संरचना पनि आवश्यक हुन्छ ।

नेपालमा सुरुङ निर्माणको परम्परा जलविद्युत् क्षेत्रमा मात्र छ । सडक निर्माणको इतिहासमा नै पहिलो पटक नागढुङ्गा–नौबिसे सडक खण्डमा सुरुङ खन्ने काम भइरहेको छ । जलविद्युत्का उपकरण निर्माण गर्ने कम्पनी नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडले नेपालको पहिलो सुरुङ मार्गका लागि उपकरण निर्माण गर्ने अवसर पाएको हो । जापान सरकारको सहयोगमा निर्माण हुन लागेको सुरुङको काम चाहिँ जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले गरिरहेको छ ।

सुरुङ निर्माणको प्रविधि नेपालमा नितान्त नयाँ हो । यसमा पनि अन्य निर्माणमा जस्तै सिभिल, मेकानिकल र इलेक्ट्रिकललगायतका काम हुने गर्छ । सुरुङका लागि आवश्यक करङको उत्पादन मेकानिकल इन्जिनियरिङअन्तर्गतको काम हो ।
जलविद्युत्को क्षेत्रमा काम गर्ने कम्पनीले सुरुङको काम पाउनु प्रविधि हस्तान्तरणको मुख्य पाटो रहेको कम्पनीका प्रमुख कार्यकारी रोशन सोतीले बताउनुभयो । उहाँका अनुसार हाज्माले धेरै पटक कम्पनीको फ्याक्ट्री भ्रमण गरेर र धेरै वार्ता गरेपछि कोटेसनका लागि अनुमति दिएको हो । त्यसमा कम्पनीको प्राविधिक र आर्थिक पक्षको अध्ययन गरेर सम्झौता गरिएको हो । “हामीले प्रविधि हस्तान्तरणको काम पाउनु कम्पनीप्रतिको मात्र होइन, नेपालकै लागि ठूलो विश्वासको आधार हो । त्यो कम्पनीले यसअघि काम गरेका विदेशी बहुराष्ट्रिय कम्पनीसँगको सन्दर्भका आधारमा रहेको हो,” प्रमुख कार्यकारी सोतीले भन्नुभयो । एनएचईसीले जापानको तोसिबा, अस्ट्रियाको एन्डरिच र जर्मनीको भोइथसँग जलविद्युत्का उपकरण निर्माणमा आर्जन गरेको विश्वसनीयताले सुरुङका सामग्री निर्माणमा पनि प्रविधि हस्तान्तरण हुने अवसर पाएको उहाँको
विश्वास छ ।

सुरुङ मार्गमा अरू पनि काम भइरहेका छन् । धेरै इन्जिनियर काम गर्दैछन् र उनीहरूले पढेको ज्ञानलाई सदुपयोग गर्दैछन् तर पढेका आधारमा मात्र प्रविधि हस्तान्तरण हुँदैन । प्रमुख कार्यकारी सोतीले भन्नुभयो, “प्रविधि हस्तान्तरण भनेको व्यावहारिक अभ्यास हो । त्यसमा गुणस्तर र सेवा प्रवाहको समेत मूल्य जोडिएको हुन्छ । हामीले त्यो दिनैपर्छ । ” यति हुँदाहुँदै पनि हाज्माले कच्चा पदार्थको सामग्रीको गुणस्तर आफैँ नियन्त्रण गरेको देखिन्छ । १२ सय टन करङ उत्पादनका लागि कच्चा पदार्थका रूपमा रहेका फलामका बिम हाज्माले नै उपलब्ध गराएको छ । उसको डिजाइनअनुसार एनएचईले करङ उत्पादन गरेकोजनाएको हो ।

बुटवलस्थित कम्पनीका मानव स्रोत तथा प्रशासन प्रमुख मणिराम पाण्डेले सुरुङ मार्गका लागि निर्माण भइरहेका करङको यो आकार अरू कम्पनीले अहिलेसम्म उत्पादन नगरेको बताउँदै आफूहरूले उत्पादन थालेको बताउनुभयो । उहाँले एच बिम– १००, १२५, १५० र २०० सेक्सन साइजका ती करङ ठूलो आकारको रहेको र ती सुरुङ मार्गका लागि नै बनाएको बताउनुभयो ।एउटा करङको तौल २५० किलोदेखि एक टनसम्म रहेको बताइएको छ । त्यस्ता करङ गुम्बज आकारका हुने र जमिनको सतहमा जोडिने बताइएको छ ।

कम्पनीका मेकानिकल डिभिजन म्यानेजर रामप्रसाद बन्जाडेका अनुसार सुरुङ खनेपछि ती करङ मुख्य संरचनाका आधारका रूपमा सुरुङको बाहिरी भागलाई अड्याउन प्रयोग हुनेछन् । २०४२ सालमा स्थापना भएको एनएचईले यसअघि जलविद्युत्का उपकरण उत्पादन गर्दै आए पनि सुरुङ मार्गका लागि आवश्यक उपकरण उत्पादन गरेको यो पहिलो पटक हो । एनएचईले तत्कालका लागि एक हजार दुई सय मेट्रिक टन करङ उत्पादन गर्ने जनाएको छ ।

प्रमुख कार्यकारी सोतीका अनुसार कम्पनीले हाज्मालाई करङ उपलब्ध गराउन सुरु गरिसकेको छ । माग र आवश्यकताका आधारमा तयार पार्दै २०२२ मार्चसम्ममा सबै करङ दिइसक्ने सम्झौता रहेको छ । कुल १४४ जना अनुभवी जनशक्ति रहेको एनएचईले इलेक्ट्रिक सबस्टेसन निर्माणदेखि टर्वाइन जडान र मर्मतको कामसमेत गर्दै आएको छ । नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी सन् १९७६ मा स्थापना भएको कम्पनीमा संस्थागत लगानी रहेको छ । नर्वेको आईकेएनआई र नेपालका बुटवल पावर कम्पनी, बुटवल टेक्निकल इन्स्टिच्युट र हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन यसका प्रवद्र्धक कम्पनीरहेका छन् ।

समाचार आजको गोर्खापत्र दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.