DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा


  • पुष २८, २०७७
  • 738 Views
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा image

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् । इन्जिनियरिङ परिषद्बाट स्वीकृति नलिई अध्यापन गराउँदा भविष्य अन्योलमा परेको भन्दै हाइड्रो इन्जिनियरिङ संकायका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । उनीहरूसँगै अन्य संकायका विद्यार्थीले पनि सोमबार प्रदर्शन गरेका छन् । मप विश्वविद्यालयले चार वर्षदेखि हाइड्रो इन्जिनियरिङ संकायको अध्यापन गराउँदै आएको छ । तर, इन्जिनियरिङ परिषद्सँग अझै पनि अनुमति लिएको छैन ।

नेपाल इन्जिनियरिङ परिषद्बाट अध्यापनका लागि स्वीकृति नलिँदा समस्यामा परेको हाइड्रो इन्जिनियरिङ संकायका विद्यार्थी भोला शर्माले बताए । ‘भर्ना तथा पढाइ खर्चमा ६ लाखभन्दा बढी खर्च भइसक्यो । तर, विश्वविद्यालयले स्वीकृति नलिएकाले तीन सेमेस्टरका विद्यार्थीको भविष्य अन्योलमा परेको छ,’ शर्माले भने, ‘आवश्यक मापदण्ड पनि पूरा नगरी किन भर्ना लिएको अहिले आएर बल्ल थाहा भयो ।’ इन्जिनियरिङ परिषद्बाट स्वीकृति नलिई पढाइ सुरु गर्दा भविष्य अन्योलमा परेको भन्दै हाइड्रो इन्जिनियरिङ संकायका विद्यार्थी आन्दोलनमा, केन्द्रीय क्याम्पसअगाडि उपकुलपतिको पुत्ला दहन

हाइड्रो इन्जिनियर संकायका तीनवटा सेमेस्टरमा डेढ सय विद्यार्थी छन् । स्वीकृति नलिएर हाइड्रो इन्जिनियरिङ संकाय पढाइ गरेर विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि नै खेलबाड गरेको नेविसंघका नेता गौतम बिसीले बताए । ‘पठनपाठन सुरु गर्न हतारो गर्ने उपकुलपति र रजिस्ट्रारले विधि र प्रक्रिया नपु¥याई सञ्चालन गर्दा यो समस्या निम्तिएको हो,’ बिसीले भने, ‘हाइड्रो इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले पटक–पटक आन्दोलन गरेर दबाब दिँदासमेत विश्वविद्यालयले स्वीकृति लिएको छैन ।’

अहिले पनि हाइड्रो इन्जिनियरिङ संकायका विद्यार्थी आन्दोलन गरिरहेका छन् । सोमबार बिहानैदेखि विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय क्याम्पसअगाडि प्रदर्शन गरेका छन् । उनीहरूले क्याम्पसअगाडि टायर बाल्नुका साथै उपकुलपतिको पुत्ला दहन गरेका छन् । विद्यार्थीका मागप्रति विश्वविद्यालय प्रशासन गम्भीर नभएको, विद्यार्थीमाथि बल प्रयोग गरेर धरपकड गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

इन्जिजियरिङ संकायका विद्यार्थीले उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विश्वविद्यालयमा फेल भएका विद्यार्थीले आन्दोलन गरिरहेको बताएका छन् । सोमबार भर्चुअल पत्रकार सम्मेलनमा उपकुलपति प्रा।डा।सिंहले आन्दोलन गर्ने विद्यालय विश्वविद्यालयको परीक्षामा फेल भएका र पास गराउनका लागि आन्दोलन गरिरहेको आरोप लगाए । ‘उनीहरूका माग जायज छैनन् । आन्दोलन गर्ने विद्यार्थी कोही ३२ विषय लागेका छन् । कोही १६ वटा विषय लागेका छन्,’ उनले भने ।

परीक्षामा पास हुन नसकेका विद्यार्थीले अनलाइन परीक्षा गर्नुपर्ने माग गरिरहेको उनको भनाइ छ । ‘हिजो कोरोनाका वेला अनलाइन परीक्षा गरियो । अहिले हामीले फिजिकल परीक्षा गरौँ भन्दा आन्दोलनमा आउने गरेका छन्,’ उनले भने । आन्दोलन गर्ने विद्यार्थीलाई विश्वविद्यालयबाट निष्कासन गर्ने उनले बताए । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.