भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मनसुनमा व्यस्त नेपालको अन्तर्राष्ट्रिय क्रिकेट


  • जेष्ठ २८, २०७९
  • 397 Views
मनसुनमा व्यस्त नेपालको अन्तर्राष्ट्रिय क्रिकेट image

अमेरिका । जेठको अन्तिम सातासँगै सुरु मनसुनका कारण घरेलु मैदानमा नेपाली क्रिकेट आगामी चार महिनासम्म ठप्प हुनेछ । तर यही समय अन्तर्राष्ट्रिय क्रिकेटमा भने नेपाल चलायमन हुनेछ । नेपालले प्रमुख प्रतियोगिताहरू र शृंखलामा प्रतिस्पर्धा गर्नेछ । ओमानसँग ह्युस्टनमा आईसीसी विश्वकप क्रिकेट लिग २ मा प्रतिस्पर्धा गरेसँगै नेपालको दुई महिनाको व्यस्त सत्र सुरु भएको हो ।

अमेरिका आएर नेपालले दुई अभ्यास र लिग २ को एक खेल खेलिसकेको छ भने ६ सातामा नेपालले अमेरिकाबाहेक क्यानडा र स्कटल्यान्ड भ्रमण गर्नेछ ।अमेरिकामा भइरहेको लिग २ नेपालको चौथो शृंखला हो । लिग २ मा सहभागी ७ टोलीले ९ शृंखला अर्थात ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुपर्ने प्रावधान छ ।

फेब्रुअरीसम्म लिग २ का खेलहरू सिध्याउनुपर्नेछ । तर, कोभिड–१९ महामारीका कारण प्रभावित लिग २ मा नेपालले आफ्नो सबै शृंखला खेल्ने सम्भावना निकै कम देखिन्छ । ह्युस्टनमा अमेरिका र ओमानसँग २–२ खेल खेलेपछि नेपाली टोली काठमाडौं फर्किने छ । तीन दिनको विश्रामपछि नेपाली टोली पुनः उत्तर अमेरिकाको यात्रामा आउने छ ।

नेपालले क्यानडासँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न प्रस्ताव गरेको थियो । भिसा प्रकृया पुरा भएमा नेपालले द्धीपक्षीय शृंखलामा क्यानडासँग उनीहरूको मैदानमा खेल्नुअघि एक अभ्यास खेल पनि खेल्नेछ । भिसा प्रक्रियाको झमेलामा परेपछि नेपाली टोलीले लामो यात्रा तय गर्नुपरेको हो ।

दुई महिनाअघि लिग २ का लागि अमेरिका आउने भएपछि नेपालले क्यानडामा तयारी गर्ने योजना बनाएको थियो । तर, अमेरिका आउने बेलासम्म क्यानडाको भिसा नभएकाले नेपाली टोली पुनः काठमाडौं फर्किएर क्यानडा जान लागेको हो । नेपाली टोलीको पहिलो प्रस्तावित योजनामा क्यानडा हुँदै अमेरिका आएर लिग २ को अर्को शृंखला खेल्न स्कटल्यान्ड जाने तयारी थियो ।

अब नेपाली टोली क्यानडाबाट जुलाई ८ मा सोझै स्कटल्यान्ड पुग्ने छ । स्कटल्यान्डमा नेपालले लिग २ को आफ्नो पाँचौं शृंखलामा स्कटल्यान्ड र नामिबियासँग २–२ खेल खेल्ने छ । स्कटल्यान्ड पुग्नुअघि नेपालले लर्डसमा मेरिलेबोन क्रिकेट क्लबसँग खेल्ने कार्यक्रम बने पनि त्यो हाललाई स्थगित भइसकेको छ । ‘हामीले आउँदो दुई महिना धेरै म्याच खेलिरहेका हुन्छौं र यो चुनौतीपूर्ण पनि छ ।

किनभने हामी यो अवधिमा निकै फरक कन्डिसनमा खेलिरहेका छौं । अमेरिकामा जस्तै स्कटल्यान्डमा पनि कन्डिसन फरक छ,’ नेपालका प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘राष्ट्रिय खेलाडी भएपछि जुनै पनि कन्डिसनमा खेल्न सक्नुपर्छ भनेर मैले भन्दै आएको छु । त्यसैका लागि राष्ट्रिय खेलाडीहरू बनेका हुन्छन् भनेर उनीहरूले दिमागमा राख्नुपर्छ ।’

नेपालका लागि यी तीन महत्त्वपूर्ण शृंखला सहज नहुने अमेरिका भ्रमणको सुरुआतमै देखिइसकिएको छ । ओपनिङ ब्याटरद्वय आसिफ शेख पहिलो र कुशल भुर्तेल दोस्रो अभ्यास खेलमा घाइते भएपछि बन्द प्रशिक्षणमा नरहेका सुवास खकुरेललाई नेपालबाट झिकाइएको छ । अमेरिका, क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले २० खेलाडीको भिसा आवेदन गरेको छ ।

तिनै २० जनाले यो तीन भ्रमणमा खेल्नुपर्ने हुन्छ । मध्यम गतिका बलर विक्रम सोब काठमाडौंमै घाइते भएपछि उनको स्थानमा देब्रेहाते स्पिनर सुसन भारी अमेरिका आएका थिए । आसिफ र कुशल पनि घाइते भइसकेको अवस्थामा नेपालसँग विकल्प कम हुँदै आएको छ । नेपाली टोलीको बन्द प्रशिक्षणमा नरहे पनि अमेरिकाको भिसा यसअघि नै रहेका कारण सुवासले ह्युस्टन यात्राको मौका पाएका हुन् ।

यहाँ उनले सानदार प्रदर्शन दिए पनि भिसा नभएका कारण क्यानडा र स्कटल्यान्डमा जान पाउने छैनन् । सीमित खेलाडी रहेका कारण चोटबाट बच्नु पनि नेपालसामु अर्को चुनौती छ । नेपाली टोलीमा युवा खेलाडी बाहुल्य छ । मध्यम गतिका बलर किशोर महतो आधिकारिक खेलमा ‘डेब्यु’ को प्रतीक्षामा छन् । त्यस्तै ब्याटर देव खनालले दुई महिनाअघि पपुवा न्युगिनीसँगको शृंखलाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा पाइला टेकेका थिए । त्यसको केही अघिमात्र स्पिनर सागर ढकालले दुबईमा एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।

‘यो युवा टोली हो र हामी के चाहन्छौं त्यसअनुरुप उनीहरूलाई ढाल्न सहज हुन्छ । नेपाली टोलीमा पर्याप्त प्रतिभा छ, मात्र चुनौतीको सामना गर्न सही दिशामा उन्मुख गराउनुपर्छ,’ दासानायकेले दुईमहिने व्यस्त तालिकाबारे भने, ‘अबको दुई शृंखलामा कस्तो प्रदर्शन हुन्छ हेर्नु छ, हामीले चाहेजस्तो भएन भने चुनौती हुन्छ । तर युवा खेलाडी क्षमतावान छन् र हामी त्यसका लागि तयार छौं ।’ कान्तिपुर दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.