DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मन्त्रीनिवास सजाउन २४ करोड


  • माघ ९, २०७८
  • 392 Views
मन्त्रीनिवास सजाउन २४ करोड image

काठमाडौँ । आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन्। उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ। सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको छैन। तर सरकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ। छँदाछँदैको मन्त्री क्वार्टर को सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको थियो। आम नागरिकको आलोचनाबीच सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैंसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ।

१ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएर आवास बनाइरहेको विशेष भवन निर्माण परियोजनाले ती भवनको आन्तरिक सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्च गर्ने भएको हो। आगामी दसैंसम्म नयाँ आवासमा मन्त्रीलाई सार्ने योजना बनाएको परियोजनाले आन्तरिक सजावटमा मोटो रकम खर्चन लागेको हो। निर्माणाधीन मन्त्री क्वार्टरकोे ‘इन्टेरियर डिजाइन’देखि अन्य सजावटका सामग्री खरिदका लागि २४ करोड रुपैयाँको बजेट बनाएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ। २४ करोडमा इन्टेरियर डिजाइनदेखि मन्त्री क्वार्टरका फर्निचर, बेड, मिटिङ हलका कुर्चीदेखि पर्दा, किचन सामग्रीलगायत रहेको आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताए।

‘२४ करोडको बजेट भए पनि टेन्डर आह्वान गरेपछि घटाघटमा न्यूनतम ३०र३५ प्रतिशत कम पर्छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘नयाँ संरचनामा धेरै सामग्री हुने भएकाले धेरै देखिएको हो।’ केही समयमा क्वार्टर सजावटका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको उनले बताए। श्रेष्ठले भनेअनुसार सजावटको रकम २४ करोडमा करिब ३० प्रतिशत कम टेन्डर पर्दा पनि करिब १७ करोड रुपैयाँ हुन्छ। पहिलो चरणमा १ अर्ब ३ करोडको सम्झौता भएर काम अघि बढिरहेको छ।

दोस्रो चरणमा करिब ३४ करोड ७७ लाख रुपैयाँको लगानीमा सुरक्षा भवन, हेल्थ क्लब, स्विमिङ पुल बनाउन सम्झौता गर्ने तयारी छ। तेस्रो चरणमा आन्तरिक सजावटका लागि २४ करोडको बजेट बनाएको हो। मन्त्री क्वार्टर निर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ। ललितपुरको पुल्चोकमा रहेको मन्त्री आवास व्यवस्थित, सुविधा सम्पन्न नभएको र अपुग पनि भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ललितपुरको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर निर्माण गर्ने निर्णय गरेको थियो।

आवास निर्माणका लागि २०७६ कात्तिकमा श्रीको हनुमान जेभीसँग सम्झौता भएको थियो। सम्झौतामा आयोजनाको निर्माण अवधि दुई वर्ष तोकिको भए पनि कोभिडका कारण निर्माणमा ढिलाई भएको छ। निर्माणाधीन क्वार्टरमा २४ वटा संघीय मन्त्री, राष्ट्रिय सभाका उपाध्यक्ष र उपसभामुख बस्नेछन्। ललितपुर महानगरपालिका सैंबु भैंसेपाटीस्थित आवास क्षेत्रका लागि छुट्याइएको १ सय ४९ रोपनी ४ आना जग्गामा मन्त्री निवास निर्माणाधीन छ।

कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी क्षेत्रफल २७ वटा भवन र ३८ रोपनी ८ आनामा बगैंचासहित खाली भाग हुनेछ। विभागका अनुसार २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ। ११ रोपनी क्षेत्रफलमा जिमखानासहितको हेल्थ क्लब, सात आनामा हल, साढे दुई रोपनीमा ग्रोसरी स्टोर निर्माण गर्ने योजना छ। विशिष्टसहित आगन्तुकका लागि व्यवस्थित पार्किङ पनि निर्माण हुनेछ।

सहरी तथा भवन विभागमातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले आवास निर्माण गरिरहेको छ। साढे दुई तलाका क्वार्टरको विशेष डिजाइन गरिएको छ। आवासमा अतिथिदेखि पूजाकोठासम्मको व्यवस्था गरिएको छ। आवासको भुइँतलामा लबी, बैठक कक्ष, निजी कक्ष, सुरक्षा गार्ड कक्ष, कर्मचारीका लागि कक्ष, अतिथि कक्षसमेत राखेर डिजाइन गरिएको छ। मन्त्री क्वार्टर आकर्षक देखिनेछन्।

परम्परागत वास्तुकला प्रयोग गरेर ‘टिपिकल’ नेपाली शैलीमा भवन निर्माण सम्पन्न गरिनेछ। भवन अत्याधुनिक र सुविधा सम्पन्न हुनेछन्। कतिपयले मन्त्री आवास व्यवस्थित हुनुपर्ने बताउँदै आएका छन्। तर आलोचकले देशको क्षमताअनुसार मात्र क्वार्टर बनाउनुपर्ने भन्ने गरेका छन्। भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर निर्माण भएपछि ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवासलाई राजकीय अतिथि गृह ९स्टेट गेस्ट हाउस० बनाउने सरकारको योजना छ।

मन्त्री निवास रहेको जग्गा अपर्याप्त भए नेपाल राष्ट्रिय पुस्तकालय छेउको सरकारी जग्गासमेत उपयोग गर्ने निर्णय गरिएको छ। अति विशिष्टि विदेशी पाहुना आउँदा राख्न अतिथि गृह प्रयोग गरिनेछ। मन्त्रीका लागि मात्र नभएर प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि पनि भवन निर्माण गर्ने काम भइरहेको छ। भैंसेपाटी सैंबुमै २७ रोपनी १२ आना क्षेत्रफलको जग्गामा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सम्पर्क कार्यालय बनाउन लागिएको हो।

७२ करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण अघि बढाइएको छ। सातवटा ब्लकमा भवन निर्माण गरिँदै छ। प्रत्येक ब्लकमा दुईवटा एकाइ रहने र त्यसको एउटा ब्लक प्रदेश प्रमुख, अर्को ब्लक मुख्यमन्त्रीले प्रयोग गर्नेछन्। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.