काठमाडौं । कोही भोकै बस्न पर्दैन भन्ने राष्ट्रपति र प्रधानमन्त्रीको वाचा चटक्कै भुलाउने गरी खुलामञ्चको एकछेउमा ६ बजेतिर खाना पाउने आसमा लाइनमा उभिएकाहरुको कल्याङमल्याङ सुरू हुन्छ । विभिन्न व्यक्ति र संस्थाले राजधानीमै सयौं भोकाहरुलाई निस्शुल्क खाना खुवाइरहेका छन् ।
सरकारले भने यसलाई देखेर पनि नदेखेझैं गरिरहेको छ । खुलामञ्चभित्रको बसपार्क छेउछाउमा उभिएका र सडकमा लस्करै थचक्क बसेका सबैजसोको अनुहार उदास देखिन्छ । थकित र भोकले गलेका देखिने उनीहरूमा वृद्ध, महिला र बालबालिकाभन्दा वयस्कहरूको संख्या धेरै छ । छेवैमा वीर अस्पतालको गेटनजिकै त्यस्तै करिब दुई सय जना लस्करै धुले भुइँमा थचक्क बसेका छन् ।
उनीहरूका अघि ‘सिल्भर कोटेड’ कागजको खाली प्लेट छ । निषेधाज्ञाका कारण कामविहीन भएपछि भोकभोकै परेका सर्वसाधारणलाई राजधानीको खुलामञ्चमा खाना खुवाइँदै। विभिन्न व्यक्ति र समूहले यहाँ दिनहुँ ६ सय जनाभन्दा बढीलाई खाना खुवाइरहेका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण सहर सुनसान छ ।
तर रत्नपार्कको छेउमा रहेको खुलामञ्चअघि जसको केही भागलाई अस्थायी बसपार्क बनाइएको छ, त्यहाँ दिउँसो २ बजेपछि सयौं मान्छेहरूको चहलपहल सुरु हुन्छ । निषेधाज्ञामा त्यतिका धेरै मान्छे कुनै जुलुस वा धर्ना गर्न वा बसपार्कबाट गाडी चढेर कतै जान भेला भएका होइनन् । काठमाडौंका विभिन्न चौकुनाबाट प्रहरीको आँखा छल्दै उनीहरू भोक मेट्न आएका हुन् ।
उनीहरूलाई नीलो पीपीई लगाएका स्वयंसेवकले खाना बाँडिरहेका छन् । भोकको झोंकमा तिनीहरूले न भौतिक दूरी कायम गरेका छन् न स्वयंसेवकले नै दूरी मिलाउन सकेका छन् । तिनैमध्येका केही भने छेवैको सार्वजनिक शौचालयमा आड लागेर र केही अलि परतिर एक्लै बसेर खाना खाइरहेका छन् ।कान्तिपुरबाट…
