DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संक्रमित स्वास्थ्यकर्मी नै सेवामा


  • बैशाख १६, २०७८
  • 706 Views
संक्रमित स्वास्थ्यकर्मी नै सेवामा image

रुपन्देही — चार दिनअघिको एउटा घटना । नेपालगन्जस्थित कोरोना उपचार केन्द्र भेरी अस्पतालको आईसीयूमा भर्ना भएका एक बिरामीले स्टाफ नर्स सुनिता सहाकारीलाई तीन औंला देखाएर केही भन्न खोजिरहे । व्यक्त नगरे पनि स्वास्थ्यकर्मीले बिरामीको भाषा अनुमान गर्न सक्छन् । नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा संक्रमितको उपचारमा खटिएका स्टार्फ नर्स सुनिता सहाकारी र कमला नेपाली । यी दुवै आफैं पनि संक्रमित हुन्। मंगलबारसम्म ७३ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेको यो अस्पतालमा आइसोलेसनमा बस्नुपर्नेहरू जनशक्ति अभावका कारण ड्युटीमै छन्।

सास रहुन्जेल आस रहन्छ भनेजस्तै सुनिताले औषधि लगेर खुवाइन् । ढाडस दिइन् । ती संक्रमित युवक छटपटाइरहे । तीन घण्टापछि उनी शान्त भए । ‘औषधिले काम गरेर शान्त भएजस्तो ठानें,’ उनले भनिन्, ‘तर सधैंका लागि शान्त भइसकेका रहेछन् ।’ बिरामीको त्यो भाव र उनलाई बचाउन नसक्नुको पीडाले सुनितालाई अहिले पनि पोलिरहेको छ । ‘अहिले दिनहुँ मृत्यु देख्नु परिरहेको छ,’ उनले भनिन्, ‘महामारी कस्तो हुन्छ भन्ने बल्ल देखें ।’ कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–९ की सुनिता आफैं कोरोना संक्रमित हुन् । ६ दिनअघि उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि आफू आइसोलेसनमा बस्नुपर्थ्यो तर उनी बिरामीको सेवामा खटिइरहेकी छन् । आफू संक्रमित हुनुभन्दा डेढ महिनाअघि उनले रक्त क्यान्सरका कारण श्रीमान् गुमाउनुपरेको थियो ।

४७ दिनअघि काठमाडौंमा श्रीमान्को दाहसंस्कार गरेर उनी संक्रमितको जीवन बचाउने साहस जुटाउँदै भेरी अस्पताल फर्किएकी हुन् । यो पीडा उनको मनभित्र गुम्सिएको छ । उनी संक्रमितलाई भेट्दा मुस्कुराउँछिन् र संक्रमण जित्न हिम्मत प्रदान गर्छिन् । ‘कोभिडका बिरामीलाई भावनात्मक साथको खाँचो छ,’ उनले भनिन्, ‘आफ्ना पीडा पैतालाले च्यापेर अरूको मुहारमा खुसी ल्याउने प्रयासमा छु ।’ गत वर्ष कोरोनाको पहिलो लहरका बेला पनि काम गर्दागर्दै उनी संक्रमित भएकी थिइन् । बिरामीको उपचार गर्न सधैं तल्लीन रहने उनी त्यतिखेर पनि सेवामै खटिएकी थिइन् । रक्त क्यान्सरका बिरामी श्रीमान्लाई कोरोना संक्रमणबाट जोगाउन उनले निकै ध्यान दिएको बताइन् । उनले आफ्ना ६ वर्षका छोरालाई माइतीमा छाडेर बिरामीको सेवा गरिरहेकी छन् ।

कोभिडले मृत्यु भएका शव हेर्दा उनको आँसु थामिँदैन । ‘भक्कानो छाडेर रुन मन लाग्छ,’ उनले भनिन्, ‘अनि झल्यास्स स्वास्थ्यकर्मी भएको सम्झिन्छु ।’ स्वास्थ्यकर्मीको मन बलियो बनाउनुपर्छ, आफैं रोए बिरामीका आफन्तले कसरी मन सम्हाल्छन् रु भन्ने कुरा मस्तिष्कमा चल्ने उनले बताइन् । भेरी अस्पतालकी अर्की स्टाफ नर्स दैलेखको नारायण नगरपालिका–७ की कमला नेपालीलाई पनि दोस्रोपटक कोरोना संक्रमण भएको छ । गत वर्ष उपचारमा खटिने क्रममा उनी संक्रमित भएकी थिइन् । यसपालि झन् तीव्र रूपमा फैलिरहेको कोरोनाबाट जोगिन नसकेको उनले बताइन् । ‘आपत्कालीन अवस्थामा बिरामीलाई अक्सिजन दिनुपर्दा पीपीई र पन्जाको ख्याल भएन,’ उनले भनिन्, ‘बिरामी जोगाउनु थियो, आफूलाई संक्रमण भए पनि सहन्छु भनेरै लागिरहेँ ।’

गत वर्ष त्यति समस्या नदेखिए पनि यसपालि ज्यान दुख्ने, कमजोर बनाउने जस्ता समस्या देखापरेको उनले बताइन् । नेपालगन्जमा भाडामा बसेर काम गरिरहेकी कमलाले अहिले अस्पतालले उपलब्ध गराएको क्वार्टरमा बसेर संक्रमितको उपचार गर्ने र समय पाउँदा आराम गर्ने गरेको बताइन् । कर्मचारी अभाव हुन नदिन आफूहरू निरन्तर काममा खटिइरहेको उनले बताइन् । उनीसँगै बस्ने दुई जना साथीलाई पनि संक्रमण पुष्टि भएपछि तीनै जना आइसोलेसनमा बस्ने र काममा जाने गरिरहेका छन् । संक्रमित भएको ६ दिनमा बुधबार केही कमजोर महसुस भएको उनले बताइन् । ‘दोस्रो लहर सुरु हुँदा डर लागे पनि अहिले सामान्य लागिरहेको छ,’ उनले भनिन् ।

मंगलबारसम्म भेरी अस्पतालका ७३ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । केही निको भएका छन् । कोही होम आइसोलेसनमा बसिरहेका छन् । केहीले भने संक्रमित अवस्थामै बिरामीको सेवा गरिरहेको बताए । अस्पतालले संक्रमित सबै स्वास्थ्यकर्मीलाई १० दिन आइसोलेसनमा बसेर उपचार गराउने सुविधा दिएको छ । सुनिता र कमलाले आइसोलेसनमा भन्दा उपचारमा समय दिइरहेका छन् । उनीहरूले स्वेच्छाले संक्रमित बिरामीको हेरविचार गरिरहेका हुन् । कमला र सुनिता बुधबार अस्पतालमा रहेका संक्रमितको रगतको नमुना संकलनमा व्यस्त रहे । दुई सयभन्दा बढी नमुना संकलन गरेपछि केही थकान महसुस भएको उनीहरूले बताए । ‘कोरोना लागेपछि अलि कमजोर महसुस हँॅदो रहेछ,’ कमलाले भनिन्, ‘थकाइ लाग्छ, रिंगटा लाग्छ । केहीबेर बसेर काम थाल्छु ।’

भेरी अस्पतालकी नर्सिङ इन्चार्ज शिला शर्माका अनुसार कोभिड वार्डमा खटिएका ४२ नर्समध्ये १८ जनालाई संक्रमण भएको छ । बिरामीसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले नर्सको खटन र आवश्यकता धेरै हुने उनले सुनाइन् । भेन्टिलेटरको संख्या कम र बेड अभाव हुँदा बिरामीको चाप थेग्न हम्मे भइरहेको उनले बताइन् । ‘हामीले बिरामीको औषधि उपचारमात्रै गरेका छैनौं,’ उनले भनिन्, ‘बिरामीको मनोबल बढाउन पनि भूमिका खेलिरहेका हुन्छौं ।’ उनका अनुसार अस्पतालमा कोभिडका बिरामी बढ्दै छन्, जनशक्ति घट्दै छ । स्वास्थ्यकर्मीको साप्ताहिक बिदा कटौती गरेर काममा खटिएको उनले बताइन् । शर्माका पनि दुई वर्षका छोरा संक्रमित छन् । संक्रमित छोराको जिम्मा परिवारलाई लगाएर उनी निरन्तर अस्पतालमा खटिएकी छन् । ‘यतिबेला हामीले एउटा बिरामी बचाउन सके पनि ठूलो जित महसुस गर्छौं,’ उनले भनिन्, ‘काम गर्दागर्दै थकाइ लाग्छ तर स्वास्थ्यकर्मीले नै एकअर्काको मनोबल बढाउने गरेका छौं ।’

नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सक विनोद प्याकुरेललाई मंगलबार कोरोना संक्रमण पुष्टि भयो । सात दिनअघि लक्षण देखा परे पनि उनले संक्रमितको उपचार रोकेनन् । ‘सात दिनपछि अलि अप्ठ्यारो भयो र टेस्ट गरें,’ उनले कान्तिपुरसँग भने, ‘अहिले होम आइसोलेसनमा छु ।’ उनका अनुसार ज्वरो आउने, खोकी लाग्ने, जोर्नी दुख्नेजस्ता लक्षण देखा परेका छन् । कोरोनाका सबै लक्षण देखिएपछि केही दिन आराम गर्नु बेस ठानेको उनले बताए । दिनमा ७० देखि ७५ बिरामीलाई वार्ड, आईसीयू र भेन्टिलेटरमा हेर्ने र औषधि दिने गरेको उनले बताए । सर्वसाधारणले लापरबाही गर्दा संक्रमण बढेको हुन सक्ने उनले बताए । ‘यही अवस्था रहे तेस्रो लहर नआउला भन्न सकिंदैन,’ उनले भने, ‘घरमा बसेर सावधानी अपनाएर मनोबल उचो राखेकाले सहज महसुस गरेको छु ।’

अस्पतालमा आफूहरूका लागि समेत बेड नरहेको उनले बताए । त्यसैले संक्रमित भई आउने बिरामी, कुरुवा र हरेक नागरिकले धेरै सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए । गत वर्ष पनि संक्रमित भएका उनले यसपटक कोरोना भाइरस बढी डरलाग्दो र छिटो फैलिने खालको भएको बताए । गत वर्ष संक्रमण सुरु भएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालकी २४ वर्षीया किरण चौधरीलाई कोरोना विशेष अस्पतालमा नर्स इन्चार्जको जिम्मेवारी दिइयो । आईसीयूमा उनको यो जिम्मेवारी र प्रवेश पहिलो थियो । लगातार कोरोना अस्पतालमा बिरामी हेरचाह र उपचारमा बिताइन् ।

‘सावधानी अपनाएकाले गत वर्ष कोरोना लागेन,’ उनले भनिन्, ‘तर यसपालि संक्रमित भइयो ।’ उनी संक्रमित भएको बुधबार ८ दिन भयो । रुघासँगै ज्वरो आएपछि सँगै बस्ने तीनै जना स्टाफ नर्सले पीसीआर परीक्षण गरे । सबैको रिपोर्ट पोजेटिभ आयो । ‘मनमा एक किसिमको डर पस्यो, अरुलाई नआत्तिनूस् भन्ने बोली आफ्नै लागि भने ढाडस बनेन,’ उनले भनिन् । सावधानी अपनाएर बिरामी हेरिरहँदासमेत जोगिन नसकेपछि चौधरीलाई कोरोना सोचेजस्तो रहेनछ भन्ने लागेको छ । सुरुमा उनलाई र साथीहरूलाई श्वास प्रश्वासमा समस्या भयो । ज्वरो आउने, ज्यान दुख्ने, खोकी निरन्तर लागिरहने भयो । अहिले अन्य सबै दुखाइ निको हुँदै गए पनि खोकी लागिरहेको उनले बताइन् । अहिले तीनै जना कोठामा बस्ने, श्वासप्रश्वास सहज तुल्याउन योग गर्ने, पोषिलो खाने, आईसीयूमा खटिएका अन्य साथीलाई फोनबाटै हौसला दिने गरिरहेका छन् । आफूहरूलाई कहाँबाट सर्‍यो भन्ने थाहा नपाएका उनीहरूले अहिले धेरै राहत मिलेको सुनाए । कान्तिपुर दैनिकबाट…….

 


Thali Mobile Pvt.Ltd.