DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संसद् विघटनको विरोधमा कांग्रेसको प्रदर्शन


  • पुष १४, २०७७
  • 754 Views
संसद् विघटनको विरोधमा कांग्रेसको प्रदर्शन image

काठमाडौं । संसद् विघटनको विरोधमा उत्रिएको कांग्रेसले सडकबाट पनि विभाजित मत व्यक्त गरेको छ । सोमबार एक सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन र कोणसभा गरेको छ । प्रदर्शनका क्रममा देशैभरि एकै किसिमका नारा गुञ्जिए, तर भाषणमा भने संसद् पुनर्स्थापनाका विषयमा नेताहरूले फरक–फरक मत व्यक्त गरे । गत शुक्रबारको केन्द्रीय समिति बैठकमा संसद् पुनस्र्थापनाको माग गर्ने वा नगर्ने भन्नेमा नेताहरूबीच चर्काचर्की परेको थियो । त्यहीवेला सभापति शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाका विषयमा नबोल्न निर्देशन गरेका थिए । तर, सोमबारको विरोध प्रदर्शनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले त्यो निर्देशन मानेनन् ।

सभापति देउवा र उनीनिकट नेताहरूले संसद् पुनर्स्थापनाबारे बोलेनन् भने वरिष्ठ नेता पौडेल पक्षका नेताहरूले खुलेरै संसद् पुनर्स्थापनाको माग गरे । गत ५ पुसमा भएको संसद् विघटनलाई कांग्रेसले ‘असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख’ भनेको थियो । सोमबारको सडक प्रदर्शनमा पनि कांग्रेसले यही विषय दोहो(याएको छ । सरकारको कदमविरुद्ध पहिलो दिनमै आक्रोशित देखिएको कांग्रेस दोस्रो दिनबाट भने मौन रह्यो । मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा पनि नेताहरूबीच आन्दोलन गर्ने कि नगर्ने भन्नेबाट छलफल भएको थियो । संस्थापन पक्ष आन्दोलन गर्न पनि सर्वोच्च अदालतको निर्णय पर्खिनुपर्नेमा देखियो भने इतर पक्षले लगत्तै आन्दोलनको घोषणा गरेर सडकमा उत्रिनुपर्नेमा जोड दियो ।

दुई दिनसम्म आन्दोलन गर्ने कि नगर्ने भन्नेमै अल्झिएपछि तेस्रो दिन बिहानै पौडेल समूहले भेला गरेर आन्दोलनको मिति तोक्यो । त्यही दबाबले त्यो दिनको बैठकको सुरुमै सभापति देउवाले सोमबारको विरोध प्रदर्शनका लागि प्रस्ताव गरेका थिए । आफैँले सडक प्रदर्शनको प्रस्ताव गरे पनि सभापति देउवाले सडकबाट नरम भाषण गरे । संसद् पुनस्र्थापनाको माग गर्ने पार्टीको आधिकारिक एजेन्डा नभएको निर्देशन गरेका सभापति देउवाले सोमबार भक्तपुर पुगेर कांग्रेस अदालतको निर्णय मान्ने पार्टी भएको बताए ।

‘संसद् विघटन गर्ने ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक छ, हामीले यसको देशैभरिबाट विरोध गरिरहेका छौँ, विरोधलाई जारी राख्छौँ,’ उनले भने, ‘अहिले यो मुद्दा अदालतमा छ, हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो । अदालतले दिएको निर्णयलाई हामी स्वीकार गर्छौँ ।’ भक्तपुर कांग्रेस क्षेत्र नम्बर २ ले शंखधर चोकमा गरेको सभामा देउवाले भने, ‘अदालतमा विचाराधीन कुरामा हामीले बोल्ने कुरा छैन, हामी न यता, न उता । अदालतलाई धम्क्याउने, थर्काउने, प्रभावित पार्ने हाम्रो चलन छैन । हामीले पञ्चायतमा पनि न्यायालयबाट न्याय पाएका थियौँ ।’

देउवाले आफ्नो भाषणमा अधिकांश समय अदालतको निर्णय मान्ने र त्यसलाई प्रभावित पार्न नहुने कुरामा खर्चिए । ‘सरकारले बदमासी गर्न सक्ला, संसद्ले बदमासी गर्न सक्ला, तर अन्तिम निर्णय आउने भनेको न्यायालयबाट हो, अहिलेसम्म मान्दै आएका छौँ, यसपटक पनि अदालतको निर्णय मान्छौँ,’ उनले दोहो¥याएर भने, ‘अदालतलाई स्वविवेकीय अधिकार छ, हामी अदालतको निर्णय मान्छौँ । अदालतको निर्णय स्वीकार गर्छौँ ।’ उनले देशमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै चुनावलाई संकेत गरे र त्यसको तयारीमा रहन कार्यकर्तालाई आग्रह गरे । ‘देशमा नयाँ परिस्थिति आएको छ । ओली सरकारले संसद् भंग गरेर निर्वाचनको मितिसमेत घोषणा गरिसकेको छ । हामी कसैसँग मिलेर जाँदैनौँ,’ उनले भने ।

तर, तनहुँ पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्को पुनस्र्थापना हुनुपर्ने भन्दै जिकिर गरे । ‘म जिकिर गर्न चाहन्छु, न्यायमूर्तिहरू, तपाईंहरूले यो संविधानलाई राम्रोसँग पढिदिनुस् । यो संविधानको भावना र यो संविधानको मर्मलाई बुझिदिनुस् । यो संविधानले अस्थिरता नआओस् भन्ने कल्पना गरेको छ । यो संविधानको विधिदाता हामी हौँ, संविधान हामीले बनाएका हौँ, पटक–पटक संसद् विघटन भएर दुःख पाइयो, नेपाली जनताले दुःख पाए, गरिबी हटेन, बेरोजगारी हटेन भनेर राजनीतिक स्थिरताको कल्पना गरेका हौँ, त्यसैले विधिदाताको मनसाय बुझिदिनुस्,’ पौडेलले भने ।

उनले मुलुकलाई संविधानविहीन र लोकतन्त्रविहीन बनाएर अराजकता फैलाएर शक्तिकेन्द्रहरूको खेलवाडको केन्द्र बनाउन खोजिएको बताए । ‘आज संसद् विघटन भयो, फेरि चुनाव भए त हुन्थ्यो, तर संसद्सँगै लोकतन्त्र भंग भयो भने के हुन्छ रु चुनाव भएन भने के हुन्छ रु मैले यो खतरा देखेको छु,’ उनले भने । उनले देश डरलाग्दो बाटोतर्फ अघि बढेको भन्दै त्यसबाट बचाउन सर्वोच्च अदालत र न्यायमूर्तिहरूको भूमिका हुनुपर्ने बताए । ‘संविधान नै फाल्नेतिर, लोकतन्त्रलाई घायल बनाउनेतिर यो सरकार लागेको छ, यो मुलुकलाई फेरि अफगानिस्तानको हालतमा पुर्‍याउन खोजिँदै छ,’ उनले भने, ‘अब हामी हाम्रो निर्णय आफैँ गर्ने क्षमता राख्छौँ, संविधान बचाउने क्षमता राख्छौँ, देश बचाउने क्षमता राख्छौँ भनेर गतिलोसँग नेपाल उभिने वेला आएको छ, यो अवस्थामा हामी कुनै अखडा बन्न चाहँदैनौँ भनेर लाग्ने वेला भएको छ, कांग्रेस यसको नेतृत्व गर्न तयार छ,’ उनले भने ।

नेपाललाई विदेशीहरूको अखडा बनाउने प्रयास भएको पौडेलको भनाइ छ । ‘न्यायमूर्तिहरू यो मुलुकलाई विखण्डनतर्फ जान नदिन तपार्इंहरूले मात्रै रोक्न सक्नुहुन्छ, यसले देशकै अस्तित्व खतरामा पार्नेछ, देशलाई भारत, चीन र अमेरिका लडाउने अखडा बनाउने ठूलो षड्यन्त्र हुँदै छ, षड्यन्त्रको पर्दाफास हुनुपर्छ,’ नेता पौडेलले भने । नवलपरासी पुगेका महामन्त्री डा। शशांक कोइरालाले भने कांग्रेसले चुनावको तयारी थालेको संकेत गरे । ‘सरकारले चुनावको घोषणा गरिसकेको छ, अहिल्यै चुनाव गर्दैन जस्तो लाग्छ, तर हामी दबाब दिन्छौँ,’ उनले भने, ‘आउँदो निर्वाचनमा कांग्रेसलाई जिताउनुस्, भविष्य कांग्रेससँग राम्रो छ, कांग्रेसले मात्र यो देशमा परिवर्तन ल्याउन सक्छ ।’ उनले संविधान जारी गर्नेहरूले नै संविधान बचाउने कर्तव्य निभाउनुपर्ने बताए ।

‘बिपी कोइरालादेखि अहिलेसम्मको संघर्षबाट झन्डै–झन्डै ७२ वर्र्षपछि हामीले पाएको उपलब्धि यो संविधान हो, यो जारी गर्ने हामी हौँ, र यसलाई बचाउन कर्तव्य पनि हाम्रो हुन आउँछ,’ उनले भने । ‘संसद् विघटन गर्ने सरकारको कदम अलोकतान्त्रिक छ, संविधानविरोधी छ, हामीले संविधानको रक्षाका लागि यो विरोध गरेका हौँ,’ उनले भने । महामन्त्री कोइरालाले नेकपा सरकारले नेपालीलाई पटकपटक सपना मात्रै बाँडेको आरोप लगाए । ‘म ओलीको क्षेत्र झापामा पुगेँ, त्यहाँ हिजो सूर्यमा भोट दिनेहरू अब रूखमा भोट हाल्न आतुर छन्, ओलीजीले आफ्नै क्षेत्रमा पनि केही गर्न सक्नुभएको छैन रहेछ,’ उनले भने ।

कांग्रेस काठमाडौं क्षेत्र नं। १ ले बानेश्वरमा गरेको सभामा बोल्दै नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीले पार्टीको अन्तरकलहको रिसमा आएर संसद् विघटन गरेको बताए । ‘जनताले चुनेर पठाएका जनप्रतिनिधिको अगाडि प्रधानमन्त्रीले विश्वासको मत लिने हो, विघटन गर्ने होइन, यस्तो व्यवस्था संविधानमा कतै पनि छैन,’ उनले भने । काठमाडौं– १ ले बानेश्वरमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले केपी ओलीले ०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेझैँ अहिले संविधानमाथि ‘कु’ गरेको आरोप लगाए । ‘ओलीले संवैधानिक ‘कु’ गरेका छन्, यसविरुद्ध लड्न सबैलाई आह्वान गर्न चाहन्छु,’ उनले भने ।

काठमाडौं– ५ ले गरेको सभामा बोल्दै सहमहामन्त्री डा। प्रकाशशरण महतले संसद् पुनस्र्थापना भए अझै दुई वर्ष कम्युनिस्ट शासन व्यहोर्नुपर्ने भन्दै पुनस्र्थापना नहुँदा नै फाइदा भएको बताए । ‘संसद् विघटनको संवैधानिक व्याख्या र न्याय निरुपण सर्वोच्च अदालतले गर्छ, संविधानकोे अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चकै हो, उसको निर्णय नै अन्तिम हो, हामीलाई चित्त बुझ्न पनि सक्छ, नबुझ्न पनि सक्छ,’ सहमहामन्त्री डा। महतले भने, ‘यदि सर्वोच्चले संसद् पुनस्र्थापना गर्‍यो भने फेरि दुई वर्षको कम्युनिस्ट शासन हामीले व्यहोर्नुपर्ने अवस्था छ, त्यो पनि हाम्रा लागिचाहिँ राम्रो कुरा होइन, अहिलेलाई फेरि अरू कोही आएर राम्रो गर्लान् भन्ने छैन, फेरि उनीहरूले रमाइलोचाहिँ गर्छन्, कुनै राम्रो काम गर्नेवाला छैनन् ।अदालतले यो विघटनलाई कायम राख्यो भने हाम्रो चासो र चिन्ता चुनावमा हो, चुनावका लागि आन्दोलनकेन्द्रित गर्छौँ ।’

प्रधानमन्त्री ओलीको गृहनगर झापाको दमक पुगेका नेता डा। मीनेन्द्र रिजालले कुनै पनि हालतमा संसद् पुनस्र्थापना गरेरै छाड्ने बताए । ‘ओलीले संविधानलाई भड्खालोमा पारे, नेपालीको समृद्धिको सपनालाई चकनाचुर बनाउन खोजे,’ उनले भने, ‘ओलीको आँगनमा आएर भन्दै छु, यो असंवैधानिक कदमलाई हामी पल्टाएर छाड्छौँ । संसद् पुनस्र्थापना गर्छौँ । लोकतन्त्रमा विश्वास गर्ने जोकोहीले पनि संसद् पुनस्र्थापनाको पक्षमा उभिनुपर्छ ।’तनहुँ पुगेका युवा नेता प्रदीप पौडेलले अहिलेकै अवस्थामा चुनाव भए ओलीका सबै उम्मेदवारको जमानत जफत हुने भन्दै ओली चुनाव नगराउने दाउमा रहेको बताए ।

‘ओलीजी चुनावमा जानुभयो भने नेपालका सबै निर्वाचन क्षेत्रमा उहाँका उम्मेदवारले चुनाव जित्दैनन्, जमानत जफत हुन्छ, अनि आफूले कहीँ नजित्ने चुनाव उहाँले गर्नुहुन्छ रु’ पौडेलले प्रश्न गरे । ‘आफूसँग भएको दुईतिहाइले त पुगेन भनेर उहाँले संसद् विघटन गर्नुभयो, अब उहाँलाई योभन्दा धेरै सिट चाहिएको छ, के त्यो सम्भव छ रु’ उनले भने । ‘हिजो गिरिजाप्रसाद कोइरालालाई ०६४ सालमा कांग्रेसले चुनाव जित्दैन, नगराउनुस् भनेर थुप्रै मान्छेले भने, मैले मेरै कानले सुनेको छु, उहाँले भन्नुभएको थियो, ‘मेरो पार्टी अहिले हार्ला, तर चुनाव हुने थिति बस्यो भने अर्कोपटक जित्छ । तर, अहिले चुनाव भएन भने लोकतन्त्र हार्छ, देश हार्छ, देश हार्नुभन्दा कांग्रेस हारेको राम्रो हुन्छ भनेर उहाँले चुनाव गराउनुभयो, केपी ओलीजीले त्यसो गर्न सक्नुहुन्छ रु’ नेता पौडेलले प्रश्न गरे ।

‘हिजो शेरबहादुर देउवाले चुनाव गर्दा दुईवटा कम्युनिस्ट पार्टी मिलेको थियो, दुईवटा पार्टी मिलेपछि कांग्रेसले हार्छ भन्ने अनुमान गर्न सकिन्थ्यो, तर निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा भयो नि, त्यसैले कांग्रेस भनेको लोकतन्त्रवादीहरूको पार्टी हो,’ नेता पौडेलले थपे, ‘कम्युनिस्ट भनेको अधिनायकवादीहरूको पार्टी हो, केपी ओलीजीले आफूले हार्ने चुनाव कुनै पनि हालतमा गर्नुहुन्न ।’रूपन्देहीको भैरहवामा भएको सभामा केन्द्रीय सदस्य बालकृष्ण खाणले प्रधानमन्त्री ओलीले संविधानविपरीत चालेको कदम सच्याउनुपर्ने र जनतासमक्ष माफी माग्नुपर्ने बताए । ‘नेपालको राष्ट्रियता र लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर हुन दिने पक्षमा कांग्रेस कहिल्यै हुन सक्दैन,’ उनले भने, ‘अहिलेको मुलुकको संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई नभई जनतालाई मालिक बनाएको छ, राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम हो ।’

उनले हजारौँको रगत र लाखौँको पसिनाबाट संविधान बनेको र संविधानअनुसार देशको मालिक नेपाली जनता आफैँ भएको बताए । सरकार मालिक नभई जनताको मौलिक अधिकारको व्यवस्था गर्ने सेवक रहेको र प्रधानमन्त्री ओलीले आफूलाई मालिक ठानेर जनताको अधिकार खोसेको आरोप लगाए । धनकुटामा भएको विरोध सभामा बोल्दै सहमहामन्त्री सुनिलबहादुर थापाले सरकारले संविधानको मर्म र भावनाविपरीत संसद् विघटन गरेको आरोप लगाए । उनले अदालतले त्यसलाई सच्याउन विश्वाससमेत व्यक्त गरे । ‘अब सरकारले यो अवैधानिक कदम नसच्याएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने ।

लमजुङमा भएको सभामा केन्द्रीय सदस्य दिलबहादुर घर्तीले प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने माग गरे । ‘प्रधानमन्त्री ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेकाले संसद् पुनस्र्थापना हुनुपर्छ । मुलुकलाई संकटबाट बचाउन पनि प्रतिनिधिसभा पुनस्र्थापना गरी संविधानको सर्वोच्चतालाई जोगाउनुपर्छ,’ उनले भने । नेता घर्तीले ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरे ।

दोलखामा दिउँसै राँके जुलुस
संसद् विघटनको विरोधमा दोलखामा भने कांग्रेसले दिउँसै राँके जुलुस निकालेको छ । सदरमुकाम चरिकोटसहित विभिन्न पाँच ठाउँबाट निकालिएको राँके जुलुससँगै कांग्रेस नेता–कार्यकर्ताले चर्को नारा लगाएका थिए । त्यसक्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच घम्साघम्सीसमेत भएको थियो । प्रदर्शनपछि आयोजित सभामा पूर्वसभापति ताराबहादुर कोइराला, नेतृ गीता सिवाकोटी, जिल्ला सभापति रुद्र खड्कालगायतले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्रीले जनतामाथि जालझेल गरे स् थापा

नेपालगन्जमा आयोजित सभामा बोल्दै नेता गगन थापाले कानुनको रक्षकले नै कानुनको धज्जी उडाउँदै संसद् विघटन गरेकाले तत्काल पुनस्र्थापना हुुनुपर्ने माग गरे । नेता थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक अपराध गरेको र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको मतियार भएको बताए । देशको सर्वोच्च पदमा बसेको राष्ट्रपति र प्रधानमन्त्रीले नै जनतामाथि जालझेल गरेको थापाको भनाइ छ ।

‘यो राष्ट्रपति र प्रधानमन्त्रीले गरेको कपट हो, जालझेल हो, यो मसँग मात्रै होइन, नेपाली जनतासँग गरेको कपट हो,’ नेता थापाले भने, ‘यो हेपेर गरिएको हो, यो तपाईंलाई हेपिएको हो, प्रधानमन्त्री र राष्ट्रपति मिलेर हेपिएको हो, पार्टीभित्रको हिसाबकिताब मिलाउन नसक्ने, अनि त्यसको भारी तपाईं–हामीले किन बोक्नुपर्ने रु देशले किन बोक्नुपर्ने ? थापाले प्रश्न गरे ।

‘संविधानमाथि ठूलो अपराध भएको छ, यसलाई अहिले सच्याइएन भने, मुख्य जिम्मेवार अपराधीहरूलाई दण्डित गरिएन भने ठूलो दुर्घटना हुन सक्छ, ओरालो लागेको यात्रा फेरि फर्किनेवाला छैन,’ उनले भने, ‘प्रतिनिधिसभा विघटन गरेर कांग्रेसलाई संसद्मा ताली बजाएर स्वागत गरौँला भनेर चुनावको घोषणा गरिएको छैन ।’

उनले नेकपा गठबन्धन आलु र काउलीको मिलनजस्तै अप्राकृतिक र आपराधिक गठबन्धन भएकाले फल नलागेको बताए । नेता थापाले प्रधानमन्त्री ओलीलाई संसद्मा आएर टाउको गन्ने हिम्मत किन नगरेको भन्दै चुनौती दिए । ‘केपी ओली झापाबाट जितेको एउटा सांसद मात्रै हो, जसरी म काठमाडौंबाट जितेको सांसद हुँ । झापाबाट जितेको एउटा सांसद संसद्भित्र टाउको गनेर प्रधानमन्त्री भयो, अहिले टाउको गन्दाखेरि टाउको कम हुन्छ भनेर मैदान छाडेर भाग्यो, ‘संसद्मा ताल्चा लगायो,’ उनले प्रश्न गर्दै भने, ‘यो संसद्भित्र आउने हिम्मत छ रु संसद्भित्रको सांसदको टाउको गन्ने हिम्मत छ रु याद रहोस् हाम्रो संविधानले संसद्भित्रको टाउको गनेर मात्रै प्रधानमन्त्री हुने व्यवस्था गरेको छ ।’

ओलीको दुष्प्रयासविरुद्ध जनता सडकमा स् शर्मा
काठमाडौंको कोटेश्वरमा भएको सभामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको दुष्प्रयासका कारण नेपालीले पुनः एकपटक सडकमा उत्रिने वेला भएको बताए । ‘आजभन्दा १५ वर्षअघि मानिसहरू मर्दै थिए । कांग्रेसले समन्वय गरेर देशलाई अघि बढायो । शान्ति आयो, संविधान बन्यो, त्यसवेला हामीले युवाहरूलाई भनेका थियौँ, अन्तिमपटक संघर्ष गरौँ । अब सडकमा आउनुपर्दैन ।

तर, ओलीको हिरोइजम निरोइज्ममा परिणत हुँदा फेरि संघर्ष गर्नुपर्ने अवस्था आएको छ,’ प्रवक्ता शर्माले भने । उनले तीन वर्षअघि मतदान गर्दा देखेका सपना सम्झिन नेकपाका कार्यकर्तालाई आग्रह गरे । ‘कांग्रेसले ०४५ सालतिरै खनेका सडक कालोपत्रे गर्ने सपना देखायो, तपाईंहरूले ओलीको चुच्चे रेललाई सपना मान्नुभयो, कांग्रेसले घर–घरमा खानेपानी ल्याइदिन्छु भन्यो, तपार्इंले पानी कहाँ घरघरमा, पानीमा त पानीजहाज पो कुद्नुपर्छ भनेर पछि लाग्नुभयो,’ उनले भने, ‘अब तपाईंहरू ब्युँझिनुस्, तपाईंहरूका सपना खण्डित भइसके ।’ प्रवक्ता शर्माले देश प्रतिनिधिसभाविहीन हुने अवस्था आउनुमा प्रधानमन्त्री ओली मात्र नभई प्रचण्ड, माधव नेपाल र राष्ट्रपति भण्डारीको पनि उत्तिकै दोष रहेको बताए ।  नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.