‘सात महिनादेखि काम नपाएर अलपत्र छौं । एउटा कोठामा ११ जनालाई कोचेर राखिएको छ । भुइँमै सुताइएको छ । पुग्ने खाना दिँदैनन्, थपेर खान पाइँदैन । खाना नपुगेर सधैं झगडा हुन्छ । कहिलेकाहीँ नुहाउने पानी नै पिउनुपर्छ ।’ साउदी अरबका विभिन्न क्याम्पमा रहेका सयौं नेपाली श्रमिक घर फर्कन नपाएको भन्दै नेपाल सरकारविरुद्ध उत्रिएका छन् ।
७ महिनादेखि कामविहीन भई बसेका उनीहरूले स्वदेश फिर्ती अनिश्चित भएपछि पर्याप्त उडानको माग गर्दै विदेशी भूमिमा आफ्नै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । स्वदेश फर्कने आसमा बसेका नेपाली साउदी अरबको राजधानी रियादको एक्जिट ६ स्थित साउदी म्यानपावर सप्लाई कम्पनी समस्कोको क्याम्पमा ।
स्वदेश फिर्तीका लागि साउदी अरबमा मात्रै दिनमा ५ वटा उडान हुनुपर्ने उनीहरूको माग छ । सरकारले भने सेप्टेम्बरका लागि १३ वटा उडान मात्रै स्वीकृति दिएको छ । ‘घर फर्कने दिन पर्खेको ७ महिना भयो । कहिले जान पाउने हो, अझै निश्चित भएन । दूतावासमा फोन गर्दा कम्पनीलाई देखाउँछन्, कम्पनीलाई भन्दा दूतावासमा बुझ्नु भन्छन्,’ मकवानपुरका सन्दीप गोलेले मंगलबार टेलिफोनमा भने, ‘हामी बाध्य भएर आफ्नै देशलाई तल पार्ने गरी नाराबाजीमा उत्रनुपर्यो ।
सडकमा जानुपर्यो ।’ गोले आबद्ध साउदी म्यानपावर सप्लाई कम्पनी समस्कोले मात्रै झन्डै एक हजार नेपालीलाई स्वदेश फर्काउन रियादस्थित क्याम्पमा राखेको छ । कान्तिपुरबाट…
