DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सर्वोच्च भन्छ, ‘एमाले प्रवेश गरेका पूर्वमाओवादीका चार सांसदलाई पुनर्बहाली नगर्नु’


  • श्रावण १९, २०७८
  • 499 Views
सर्वोच्च भन्छ, ‘एमाले प्रवेश गरेका पूर्वमाओवादीका चार सांसदलाई पुनर्बहाली नगर्नु’ image

काठमाडौँ । एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदले पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एमाले स्थायी कमिटी सदस्यद्वय लेखराज भट्ट र टोपबहादुर रायमाझी एवं केन्द्रीय सदस्यद्वय प्रभु साह र गौरीशंकर चौधरीले माओवादीले दल त्याग कानुन बमोजिम आफूहरूमाथि गरको कारबाही कानुन विपरीत भएको दाबी गर्दै बदरको माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चार नेताको रिटमा सोमबार सुनुवाइ गर्दै सांसद पदबाट मुक्त गर्ने माओवादीको निर्णय बदरको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । चारैजनाले आफूहरूलाई माओवादीले स्पष्टिकरणको मौकासम्म नदिई कारबाही गरिएको र केन्द्रीय कमिटीले गर्नुपर्ने कारबाही अध्यक्ष पुष्पकमल दाहालले प्रत्यायोजित अधिकार भनेर गरेको भन्दै रिट दायर गरेका थिए ।

सर्वोच्चले ह्वीप उलंघन गरेको अवस्थामा सुनुवाइको मौका दिने कि नदिने भन्ने कुरा प्रक्रियागत रहेको एवं विचारणीय भएको आदेशमा उल्लेख गरिएको छ । भट्ट, रायमाझी र चौधरीले आफूहरूलाई स्पष्टिकरणको मौका नदिएको भन्दै निर्णय बदरको माग गरेका थिए । तर, आदेशमा भने स्पष्टिकरण सोध्दा पनि कुनै जवाफ नदिएको पाइएको उल्लेख छ ।

‘निवेदकलाई सुनुवाइको मौका प्रदान गरिएको, निजलाई लेखिएको पत्र मिति २०७७ चैत २ मा निज कार्यरत मन्त्रीको सचिवालयमा बुझाएको र सचिवालयको छाप लगाई बुझेको कुराको छायाँप्रति समेत प्रत्यर्थीको तर्फबाट यस इजलास समक्ष पेस हुन आएको पाइयो, आदेशमा भनिएको छ, तर, निवेदकले कुनै स्पष्टिकरण पेस गरेको पाइएन । त्यसैले सुनुवाइको अवसर नै प्रदान गरिएको थिएन भन्ने मिल्ने अवस्था देखिँदैन  ।’

छुट्टै रिट दायर गरेका साहले पनि आफूलाई सुनुवाइ र स्पष्टिकरणको मौका नदिएको जिकिर गरेका थिए । तर अदालतले भने उनले सुनुवाइको मौका प्रदान गरिएको र निजले स्पष्टिकरण पेस गरेको समेत देखिएको आदेशमा लेखेको छ । चारैजनाले निर्वाचित भएको दल माओवादी त्याग गरेको जानकारी प्रतिनिधिसभाको २०७७ चैत २६ को बैठकमा दिइएको थियो । उनीहरूले गैर सांसदका रूपमा गत वैशाख ३ गते मन्त्री पदको शपथ लिएका थिए । गैर सांसद मन्त्रीहरूले पुनः नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले जेठ ६ गते नियुक्ति बदर गरिदिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री मन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङको दोहोर्‍याएर गरिएको नियुक्ति र शपथग्रहण संविधान विपरीत भन्दै नियुक्ति बदर गरिदिएको थियो ।

यसरी दल त्याग गरी गैर सांसदको रूपमा मन्त्री समेत बनेको र सर्वोच्चले उक्त नियुक्ति बदर गरेको आदेशलाई पनि सर्वोच्चले उल्लेख गरेको छ । साहले केन्द्रीय कमिटीले अधिकार अध्यक्ष दाहालमा प्रत्यायोजन गरेको र त्यो अधिकारमा आधारित भएर आफूहरूलाई सांसद पदबाट कारबाही गरिएको भन्दै निर्णय बदरको माग गरेका थिए ।

उक्त विषयमा अदालतले अधिकार प्रत्यायोजन हुन सक्ने कि नसक्ने भन्ने प्रश्न अन्तिम सुनुवाइको अवस्थामा नै निरुपण गर्नुपर्ने भनेको छ । माओवादीले दल त्याग सम्बन्धमा गरेको निर्णयको औचित्य र अन्तरवस्तुमा प्रवेश गरी अहिले नै अन्तरिमा आदेश जारी गर्न मनासिब नदेखिएको आदेशमा लेखिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.