DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका


  • मंसिर १३, २०७७
  • 552 Views
सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका image

काठमाडौं ।  महान्यायाधिवक्ता र प्रहरीको तथ्यांकअनुसार दिनमा ६ महिला बलात्कृत हुन्छन् । जसमा बलात्कृत बालिकाको संख्या डरलाग्दो गरी बढिरहेको छ । वर्ष ०७०र७१ मा ५५९ बालिका बलात्कारको सिकार भएका थिए, गत वर्ष यो संख्या १,३९३ पुगेको छ । बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ हजार तीन सय ६३ त १८ वर्षमुनिका बालिका छन् । महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०र७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार भएका थिए ।

तर, आव ०७६र७७ सम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ । यो वर्ष दुई हजार आठ सय ३१ महिला बलात्कृत भएका थिए । चालू आवको असोजसम्म सात सय २२ महिला बलात्कृत भएको प्रहरीको तथ्यांक छ । हरेक वर्ष बलात्कृत हुने बालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । आव ०७०र७१ मा पाँच सय ५९ बालिका बलात्कारको सिकार भएका थिए । गत आवमा आइपुग्दा बलात्कृत बालिकाको संख्या एक हजार तीन सय ९३ पुगेको छ । त्यसमा पनि दुई सय ७३ बालिका त दश वर्षभन्दा कम उमेरका छन् । त्यस्तै, चालू आर्थिक वर्षको गत असोजसम्म भएका सात सय २२ घटनामा चार सय ६५ बालिका बलात्कारको सिकार भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना भएका छन् । ‘चार वर्षका नाबालिकासम्म बलात्कारको सिकार भएका छन् । धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएका छन्,’ उनले भने । शंकास्पद व्यक्तिबाट टाढा रहन र यस्ता घटनाबाट जोगिन प्रहरीले स्कुलहरूमा गएरै पढाउनसमेत थालेको एसएसपी कुँवरले बताए । पछिल्लो समय हिंसा लुकाउनुहुँदैन भन्ने चेतना बढेकाले प्रहरीमा आउने उजुरी पनि बढेको उनको भनाइ छ । महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनअनुसार आव ०७५र७६ मा देशभर दुई हजार सात सय ५३ महिला बलात्कारको सिकार भएका छन्, जसमध्ये एक हजार दुई सय ३२ बालिका छन् । त्यस्तै, आव ०७४र७५ मा पीडित बनेका एक हजार नौ सय आठ महिलामध्ये सात सय २३ र ०७३र७४ मा एक हजार नौ सय १४ पीडित महिलामध्ये सात सय नौ बालिका रहेको सरकारी तथ्यांक छ ।

आव ०७२र७३ मा देशभर एक हजार ६ सय ५५ महिला बलात्कृत भएका थिए, त्यसमध्ये ६ सय ३५ बालिका छन् । ०७१र७२ मा पीडित बनेका एक हजार ६ सय १५ महिलामध्ये ६ सय ४७ बालिका छन् । त्यस्तै, ०७०र७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार बनेका थिए, जसमा तीन सय ९६ बालिका रहेको महान्यायाधिवक्ता कार्यालयको तथ्यांक छ । गत वर्ष बलात्कृत एक हजार तीन सय ९३ बालिकामध्ये दुई सय ७३ जना १० वर्षमुनिका छन् । त्यस्तै, ११ देखि १६ वर्षसम्मका आठ सय एक र १७ देखि १८ वर्ष उमेर समूहका तीन सय १९ जना बलात्कृत भएका छन् । प्रहरीको तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरै प्रदेश १ मा तीन सय १९ र सबैभन्दा कम कर्णालीमा ८१ बालिका बलात्कृत भएका छन् । त्यस्तै, लुम्बिनीमा दुई सय ३४, प्रदेश २ मा दुई सय चार, बागमतीमा एक सय ६५, काठमाडौं उपत्यकामा एक सय ३७, सुदूरपश्चिममा एक सय २९ र गण्डकीमा एक सय २३ बालिका बलात्कारको सिकार भएका छन् ।

यो वर्ष दैनिक आठ बलात्कारका घटना

चालू आर्थिक वर्षको तीन महिनामा औसत दैनिक आठ बलात्कार तथा बलात्कार प्रयासका घटना भएका छन् । साउनदेखि असोजसम्म सात सय २२ घटना प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष ०७५र७६ मा बलात्कारपछि हत्याका ११ घटना भएका थिए । त्यस्तै, आव ०७६र७७ मा दुई र चालू आवमा एक बलात्कारपछि हत्या घटना भएको प्रहरीको तथ्यांक छ । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.