काठमाडौं । नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका ४४ सार्वजनिक संस्थानमध्ये १७ ओटा नोक्सानीमा छन् । सञ्चालनमा रहेका संस्थानको कुल नोक्सान ४१ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ छ । २५ ओटा भने नाफामा छन् । दुई संस्थानको कारोबार शून्य छ ।
नाफामा सञ्चालित संस्थानको कुल नाफा ४३ अर्ब २ करोड ५३ लाख रुपैयाँ छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष ९आव० २०७९र८० फागुनसम्मको सार्वजनिक संस्थानको स्थिति सन्तोषजनक नरहेको बताए । ‘विगतमा सार्वजनिक संस्थानले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्र्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन एवं व्यवस्थापनमा देखा परेका कमीकमजोरीका कारण समग्र वित्तीय स्थिति सन्तोषजनक नरहेको अवस्था छ,’ अर्थमन्त्री भने ।
सरकारको नाफामा चलेका संस्थानबाट प्राप्त हुने लाभांश अघिल्लो आवको तुलनामा चालू आवमा ८ दशमलव ४३ प्रतिशतले घटेको छ । नाफामा सञ्चालन भएका संस्थानबाट आव २०७८र७९ मा नेपाल सरकारले रू। ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त गरेको छ । अघिल्लो आवमा भने लाभांश रू। ६ अर्ब ७२ करोड १० लाख थियो । २०७९ असारसम्ममा सार्वजनिक संस्थानहरूमा सरकारको शेयर लगानी रू। ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख र ऋण लगानी रू। २ खर्ब ८९ अर्ब २४ करोड ९९ लाख छ । आव २०७८र७९ मा शेयर र ऋण लगानी गत आवको तुलनामा क्रमशः ४ दशमलव ५४ प्रतिशत र १४ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै आव २०७८र७९ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा ३६ दशमलव २२ प्रतिशतले वृद्धि भई रू। ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख पुगेको छ । आव २०७८र७९ मा सार्वजनिक संस्थानबाट रू। १४ अर्ब ३८ करोड १८ लाख आयकर प्राप्त भएको छ । आव २०७८र७९ मा संकलन भएको संघीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट संकलित आयकरको योगदान ५ दशमलव ५९ प्रतिशत छ । आव २०७७र७८ मा यस्तो योगदान ६ दशमलव ५६ प्रतिशत थियो ।
समीक्षाअनुसार आव २०७७र७८ सम्म सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको दायित्व रू। ५९ अर्ब ३९ करोड १९ लाख रहेकोमा आव २०७८र७९ मा यस्तो दायित्व रू। ४७ अर्ब ३६ करोड छ । आव २०७८र७९ मा कोषमा व्यवस्था नभएको दायित्व गतवर्षको तुलनामा २० दशमलव २६ प्रतिशतले घटेको हो ।
घाटामा रहेका संस्थानहरू
दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, हेटौंडा सिमेन्ट उद्योग, नेपाल औषधि, नेपाल ओरिण्ड म्याग्नासाइट, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, धौवादी फलाम कम्पनी लिमिटड, नेपाल आयल निगम, नेपाल वन निगम, नेपाल वायुसेवा निगम, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड, नेपाल रेल्वे कम्पनी, सांस्कृतिक संस्थान, नेपाल टेलिभिजन, राष्ट्रिय आवास कम्पनी र नेपाल खानेपानी संस्थान ।
नाफामा रहेका संस्थानहरू
जनकपुर चुरोट कारखाना, उदयपुर सिमेन्ट उद्योग, कृषि सामग्री कम्पनी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, नेपाल नागरिक उड्यन प्राधिकरण, नेपाल पूर्वाधार निर्माण कम्पनी, साझा यातायात सहकारी संस्था, विशाल बजार कम्पनी, गोरखापत्र संस्थान, जनक शिक्षा सामग्री केन्द्र, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, विद्युत् उत्पादन कम्पनी, राष्ट्रिय प्रशारण ग्रिड कम्पनी, कृषि विकास बैंक, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल स्टक एक्सचेन्ज, नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, राष्ट्रिय बीमा कम्पनी र नेपाल बैंक । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
