DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सिंहदरबारदेखि १० किलोमिटरको दूरीमा रहेको एक सडक तीन वर्षदेखि अलपत्र, सरकार मौन


  • कार्तिक २०, २०७७
  • 551 Views
सिंहदरबारदेखि १० किलोमिटरको दूरीमा रहेको एक सडक तीन वर्षदेखि अलपत्र, सरकार मौन image

काठमाडाैं । सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराअन्तर्गत तीन वर्षमा कति काम भए र जनता कति सन्तुष्ट छन् भन्ने बुझ्न कर्णाली वा सूदुरपश्चिम पुग्नुपर्दैन, सिंहदरबारदेखि १० किलोमिटरको दूरीमा रहेको ललितपुरको ठेचोसम्मको यात्रा गर्दा हुन्छ । कालोपत्रे गर्न तीन वर्षअघि ठेक्का लागेको ढोलाहिटी–सुनाकोठी–ठेचो सडकखण्डको दूरी जम्मा ३।२ किलोमिटर छ ।

ठेकेदारले चाहेमा यो सडक कालोपत्रे गर्न अधिकतम १५ दिन लाग्छ । तर, कालोपत्रे हुनुपर्‍यो भनेर स्थानीय बासिन्दा फेरि आन्दोलनमा छन् ।
यो सडकखण्ड विस्तार र कालोपत्रे गर्न ०७४ मै दिवारशैलुङ जेभीलाई ३८ करोड ४० लाखमा ठेक्का लिएको थियो । तर, ठेकेदार कम्पनीले सडक निर्माणमा चासो नदेखाउँदा स्थानीय बासिन्दा पटक–पटक आन्दोलनमा उत्रिन बाध्य छन् । जब कि, ३५ प्रतिशत मात्रै काम गरेर शैलुङका ठेकेदार शारदाप्रसाद अधिकारीले सरकारबाट सात करोड ८२ लाख ८७ हजार भुक्तानी भने लिइसकेका छन् ।

हिलो, धुलो र प्रदूषणबाट आजित बनेका स्थानीयले पछिल्लोपटक १६ कात्तिकदेखि फेरि सडक अवरुद्ध गरेका छन् । ‘करिब एक वर्षअघि हामीले कालोपत्रे गर्न भन्यौँ, त्यसवेला पनि हुन्छ भनेर मख्ख पारे । त्यसपछि गएको असारमा फेरि सडक ठप्प पार्‍यौँ, वडाध्यक्ष, सडक आयोजना र ठेकेदार सबै बसेर सहमति भयो ।

तर, सहमतिअनुसार ठेकेदारले सडक बनाउने त परको कुरा धुलो उड्न नदिन पानी पनि हालेनन्,’ स्थानीय नेवाज क्लबका अध्यक्ष निरोज महर्जनले भने, ‘अब त अति भयो, एउटा नागरिकका रूपमा अपहेलित महसुस भयो, त्यसैले फेरि सडक ठप्प पारेका हौँ,’ महर्जनले भने, ‘अब उधारो सहमति होइन, सडकमा कालोपत्रे सुरु नभइन्जेल आन्दोलन गर्छौँ ।’

बरु, यसबीचमा क्लबले दैनिक दुईपटक सडकमा पानी हालेर धुलो नउड्न दिने अभियान चलायो । ठेकेदारको रवैया अति भएपछि स्थानीयले अपहेलित महसुस गरेका छन् । उनीहरूले तीन किलोमिटर लामो सडकखण्डमा चारैतिरबाट सडकमा बार लगाएर अवरुद्ध पारेका छन् । ‘कसैलाई दुःख दिने नियत होइन, हाम्रो माग सरकारले सुनेन । त्यसैले बाध्य भएर यस्तो आन्दोलन गर्नुपरेको हो,’ सिभिल कोलोनी सोसाइटीका अध्यक्ष डा। रुवनलाल श्रेष्ठले भने ।

यो सडकखण्ड ललितपुरका लेले, चापागाउँलगायत माथिल्ला बस्तीबाट चक्रपथ ओर्लिने लाइफलाइन हो । तर, ठेकेदार र कर्मचारीको मिलेमताले निर्माण कार्य प्रभावित भएको हुँदा जनताले दुःख पाएको स्थानीय रवीन्द्रदास हाडाको आरोप छ । ‘पहिले कालोपत्रे नै थियो, तीन वर्षअघि सडक विस्तार र कालोपत्रे गर्ने भनेर भत्काइयो ।

हुँदाहुँदैको सडक खनेको तीन वर्ष भइसक्यो, पुनः कालोपत्रे गर्ने छाँटकाँट देखिँदैन,’ उनले भने, ‘हामीले घरको आँगन बनाइदेऊ भनेको होइन, सडक बनाइदेऊ भनेको हो । अहिलेदेखि होइन तीन वर्ष भइसक्यो, हामीले पनि कर तिरेका छौँ, यसरी कहिलेसम्म सहेर बस्नुपर्ने ?’ नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.