DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं : प्रधानमन्त्री


  • पुष १७, २०७७
  • 757 Views
सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं : प्रधानमन्त्री image

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सन् २०२० मा नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को शुभकामना दिँदै उनले संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मूख भएको बताएका हुन्।
‘बितेको वर्षमा हामीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं।

पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएका छौं। हामीले यही अवधिमा विकासका केही दूरगामी योजनाहरू थालनी गर्‍यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसूस गराउने केही आयोजनाहरू सम्पन्न गर्‍यौं। पाँच वर्ष अघिको विनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरूको पुनःनिर्माणलाई एकाधबाहेक निश्कर्षमा पुर्‍याउने सफलता प्राप्त गरेका छौं।’

शुभकामना सन्देशमा भनिएको छ, ‘व्यवसायका लागि सुरक्षित राष्ट्रका रूपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं। फलस्वरूप आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्ति सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित हुन थालेको छ।’ नेकपा अध्यक्षसमेत रहेका ओलीले समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको बताए। ‘समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ।

तर, अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक व्यवधानहरूको सामना गर्नुपर्‍यो। यसका बावजूद मुलुक निर्माणको प्रथमिकताबाट विमुख ब्यक्तिहरूका निजी आकाङ्क्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौं।’ उनले भनेका छन्, ‘आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिक रूपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्दै छौं।’

ओलीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएको दाबी गरेका छन्। राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन्। अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाईमा पुर्‍याउने प्रधानमन्त्री ओलीले बताए। ‘राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुको अझ नजिक पुग्नेछ।

आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ। ’उनले भनेका छन्,‘हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं। भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं। राष्ट्रिय समृद्धिका यी पाइलाहरूलाई उचाईमा पुर्‍याउने सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु।’

वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउने हाम्रो मौलिक परम्परा भएपनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई अन्तर्राष्ट्रिय नयाँ वर्षका रूपमा मनाउने उल्लेख गरेका छन्। उनले भर्खरै सन् २०२० मा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नुपरेको उल्लेख गर्दै स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पुर्‍याएको बताएका छन्।

‘संसारका साधन, स्रोत, प्रविधि र शक्ति सम्पन्न मानिएका देशहरूले समेत यस महामारीका कारण हाम्रो भन्दा कयौं गुणा बढी क्षति बेहोर्नु पर्‍यो।’ शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं। यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा दिएको भिडियो सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। ग्रेगोरियन क्यालेण्डर अथवा इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रूपमा मनाइन्छ। वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रूपमा मनाउँछौं।

भर्खरै बिदा भएको सन् २०२० मा हामीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नु पर्‍यो। यसले हाम्रो स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पुर्‍यायो। संसारका साधन, स्रोत, प्रविधि र शक्ति सम्पन्न मानिएका देशहरूले समेत यस महामारीका कारण हाम्रो भन्दा कयौं गुणा बढी क्षति बेहोर्नु पर्‍यो। हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं। यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु।

दिदीबहिनी तथा दाजुभाइहरू,

भर्खरै बिदा भएको सन् २०२० मा नेपाललाई हामीले निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएका छौं। संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ हामी उन्मूख छौं। बितेको वर्षमा हामीले मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं। पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रंगशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएका छौं। हामीले यही अवधिमा विकासका केही दूरगामी योजनाहरू थालनी गर्‍यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसूस गराउने केही आयोजनाहरू सम्पन्न गर्‍यौं।

पाँच वर्ष अघिको विनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरूको पुनःनिर्माणलाई एकाध बाहेक निश्कर्षमा पुर्‍याउने सफलता प्राप्त गरेका छौं। व्यवसायका लागि सुरक्षित राष्ट्रका रूपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरी हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं। फलस्वरूप आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्ति सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित हुन थालेको छ।

दिदीबहिनी तथा दाजुभाइहरू,
हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौं। समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ। तर, अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा हामीले अनेक व्यवधानहरूको सामना गर्नु पर्‍यो। यसका बावजूद मुलुक निर्माणको प्रथमिकताबाट विमुख ब्यक्तिहरूका निजी आकाङ्क्षाहरूले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौं।

आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिक रूपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्दै छौं।

हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं। राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु। अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाईमा पुग्नेछ। राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुको अझ नजिक पुग्नेछ। आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ।

हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं। भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं। राष्ट्रिय समृद्धिका यी पाइलाहरूलाई उचाईमा पुर्‍याउने सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु। अन्त्यमा, नयाँ वर्ष २०२१ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यका लागि पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद । अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.