भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

स्तरीय खाजा नपाए उजुरी


  • फाल्गुन २८, २०७७
  • 801 Views
स्तरीय खाजा नपाए उजुरी image

काठमाडौँ । सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरिरहेका आफ्ना बालबालिकाले दैनिक कस्तो खाजा पाइरहेका छन् भनेर कहिल्यै चासो लिनुभएको छ ? गुणस्तरीय खाजा पाइरहेका छैनन् वा खाजामा समस्या छ भन्ने लाग्छ भने विद्यालयमा भएको उजुरी पेटिकामा गुनासो खसाल्न नहिच्किचाउनु होला । आफैँ विद्यालयमा गई गुनासो खसाल्न सक्नुभएन भने त्यसका लागि आफ्ना बालबालिकालाई नै प्रेरित गर्नुहोस् । उजुरी दिँदा सम्बन्धित विद्यार्थी वा अभिभावकलाई नियतवश कारबाही गर्न नपाइने व्यवस्था छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरिका सबै विद्यालयले अनिवार्य रूपमा गुनासो पेटिका राख्न कानुनी व्यवस्था गरेको छ । कतिपय विद्यालयले यस्तो पेटिका राखेका छैनन् भने कतिपयमा यसको प्रयोग भइरहेको छ । केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले प्रत्येक विद्यालयलाई अनिवार्य रूपमा पेटिका राख्न र एक जना शिक्षकलाई सम्पर्क व्यक्ति तोक्ने व्यवस्था कार्यान्वयनका लागि हालै परिपत्रमार्फत निर्देशन दिइएको जानकारी दिँदै भन्नुभयो, “खाजा खान पाएनन् वा खाजामा समस्या देखियो भने त्यस्ता विषयलाई पनि गुनासाका रूपमा पेटिकामा खसाल्न अभिभावकलाई समेत अनुरोध गरिएको छ । विद्यालयमा कुनै पनि समस्या नहोस् भनेर गुनासो खसाल्ने र त्यसको तत्काल सम्बोधन गर्ने व्यवस्था गरिएको हो ।”

खाजाका बारेमा परेको उजुरीलाई प्रधानाध्यापक एक्लैले चाहेर पनि लुकाउन सक्दैनन् । विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र नै गठन गर्नुपर्ने हुन्छ र त्यसका लागि केन्द्रले गुनासो सुनुवाइ कार्यविधि कार्यान्वयनमा ल्याएको छ । “खाजामा समस्या भयो भनेर परेको उजुरीलाई विद्यालयले सम्बोधन गर्न नसक्ने भएमा व्यवस्थापन समिति वा त्योभन्दा माथिल्लो निकायमा जान सकिने छ” उहाँले भन्नुभयो ।

यसै महिनादेखि सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म हरेक विद्यार्थीलाई दैनिक निःशुल्क खाजाको व्यवस्था गरिएको छ । खाजाका ६० वटा तालिका (मेनु) केन्द्रले सार्वजनिक गरेको छ । क्षेत्रअनुसार ‘मेनु’ निर्धारण गरिएको छ । पोषिलो जाउलो, मकैको खीर र तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाँटी, आलु पनिर, चिउरा मासु, पानी रोटी, फापरको रोटी, छोला चिउरा, खिचडी, भुटेको मकै र तरकारी, गहुँको हलुवा र तरकारीलगायतका ‘मेनु’ दिइएका छन् ।
ती ‘मेनु’मा कुन कुन खाजा बनाउन कति सामग्री प्रयोग गर्नेदेखि ती तयार बनाउन लाग्ने खर्च तथा उपभोगबाट प्राप्त हुने भिटामिन र खनिजबारे पनि उल्लेख गरिएको छ । हरेक दिन फरक फरक खाजा बनाउन सकिने छ । कर्णालीका प्रतिविद्यार्थी प्रतिदिन २० रुपियाँ र अन्य जिल्लामा १५ रुपियाँ उपलब्ध गराइएको छ ।

पुतलीसडकको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण गौतमले खाजाका बारेमा हालसम्म उजुरी नपरेको जानकारी दिँदै भन्नुभयो, “१५ रुपियाँमा विद्यालयले पाँच रुपियाँ थप गरी खाजा खुवाउने गरेका छौँ । स्कुलभित्रको क्यान्टिन सञ्चालकलाई नै खाजा तयार गर्न लगाउने गरेका छौँ ।”

खाजाका लागि उपलब्ध रकम कम भएको र त्यसबाट पकाउने व्यक्तिको समेत व्यवस्थापन गर्न समस्या पर्ने गरेको गुनासो विद्यालयका प्रधानाध्यापकहरूको छ । कुपण्डोलको प्रगति शिक्षा सदनका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले विद्यालयभित्र खाजा तयार गर्न समस्या भएकाले अभिभावकलाई नै खाजा पठाउन भनेको र त्यसबापत मासिक रूपमा रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभयो ।

केन्द्रका महानिर्देशक अर्यालले रकम कम भएको गुनासो आफूहरूले सुनेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो पटक यस्तो व्यवस्था भएको हो । आगामी वर्ष सुधार हुँदै जाला ।”

यो समाचार आजको गोर्खा पत्र दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.