DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

स्वास्थ्यमा अनधिकृतको हालीमुहाली


  • श्रावण २७, २०८०
  • 220 Views
स्वास्थ्यमा अनधिकृतको हालीमुहाली image

बाँके । अभिभावकले छोराछोरीलाई पढ्नका लागि प्रेरित गर्ने एउटा चलेको भनाइ छ,– ‘राम्रो पढ्नु, धेरै पढेर डाक्टर बन्नुपर्छ है।’ बालबालिकाको मनस्थितिमा त्यही कुरा आउँछ –‘राम्रो र धेरै पढेपछि डाक्टर बनिन्छ। अर्थात्, डाक्टर बन्न धेरै पढ्नुपर्छ, पढेको प्रमाण चाहिन्छ।’ अनि, उनीहरूको ध्यान पढ्नमा जान्छ।

तर, यस्तो सम्मानित पेसामा लागेकाहरू पनि नक्कली भेटिएका छन्। उनीहरूको अनुभवकै प्रमाणपत्र नक्कली छ। पछिल्ला घटनाक्रमले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने केही डाक्टर नै नक्कली रहेको पुष्टि भएको हो। केही प्रहरी अनुसन्धान प्रक्रियामा छ।

शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा पछिल्ला दिनमा संघीय राजधानी काठमाडौंबाटै आठ जना डाक्टर पक्राउ परे। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार यो प्रकरणमा प्रहरीले बिहीबार ५ र शुक्रबार ३ जनालाई नियन्त्रणमा लिएको छ।

थप १५ जना डाक्टरको प्रमाणपत्रमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धान उपत्यका र बाहिरी जिल्लामा पनि केन्द्रित रहेको सीआईबी स्रोतले बताएको छ। बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा। अमित चौधरी, डा। रामबाबु यादव र डा। एरिना साह रहेका छन्। सांसदसमेत रहेका शर्मा अदालतको आदेशपछि शुक्रबार छुटेका छन्।

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेसनको नाम ‘फोक्सट्रोट चार्ली’ राखिएको छ। सीआईबीका डीएसपी डा। तपन दाहालको कमान्डमा यो अपरेसन चलिरहेको छ। शुक्रबारमात्रै थप तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक जना काठमाडौंको गोठाटारबाट सुमेरु सिटी अस्पतालमा कार्यरत डा। पुनम थापा चौधरी छन्। अन्यमा डा। श्रद्धा शिल्पकार र डा। मनित चौधरी छन्। मनित मोरङमा क्लिनिक सञ्चालन गरिरहेका थिए।

जिल्ला जिल्लामा नक्कली डाक्टर

२०८० साल जेठ महिनायता कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा नक्कली डाक्टर बनेर क्लिनिक चलाइरहेका भारतीय नागरिकसहित दुई दर्जनभन्दा बढी नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन्। असार ३१ गते कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाभित्र इजाजत नलिई सञ्चालनमा रहेका मेडिकलमा छापा मारेर चार जनालाई पक्राउ गरेको थियो। प्रहरीले पाएको विशेष सूचनाका आधारमा ६ स्थानमा छापा मारिएको थियो। प्रहरीले भीमदत्त नगरपालिका–७ की विमला उपाध्याय, १६ मझगाउँका राजेन्द्रबहादुर चन्द, १० सुकासालका सुरेश पाण्डेय र मोहनबहादुर रोकायालाई अवैध रूपमा मेडिकल सञ्चालन गरेको आरोपमा पक्राउ गरेको हो।

उनीहरूसँग मेडिकल सञ्चालन अनुमतिपत्र नभएको भन्दै प्रहरीले पक्राउ गरेको हो। उनीहरूले क्लिनिक चलाएको, बिरामी चेकजाँच गर्ने र औषधि बिक्री गर्दै आएको प्रहरीले जनाएको छ। असार १६ गते बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी पत्नी श्यामा साहलाई प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले यसअघि नै अवैध रूपमा बिरामी चेकजाँच गर्ने गरेको भन्दै उनको मेडिकल सिल गरेको थियो। मेडिकल सिल गरेपछि पनि औषधि बिक्री गरिरहेको अवस्थामा श्यामा साह पक्राउ परेकी हुन्। प्रहरीले उनलाई मुद्दा चलाएको छ। उनको पनि मेडिकल सञ्चालनको अनुमति पत्र नभएको प्रहरीले जनाएको छ।

जेठ ३१ गते कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा ९ जना भारतीय नक्कली स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गर्‍यो। दोधाराचाँदनी नगरपालिकाका विभिन्न वडामा बिरामी चेकजाँच गरिरहेका, मेडिकल सञ्चालन गरिरहेका र इजाजतबिना नै औषधि पसल राखेर बिक्री गरिरहेको भन्दै दोधाराचाँदनी नगरपालिका– ७ कञ्चभोजमा मेडिकल पसल सञ्चालन गर्दै आएका भारतको उद्धमसिंह नगर जिल्लाको खटिमाका २६ वर्षीय सञ्जय विश्वास, भारतकै पिलिभित नौजलियाका ४६ वर्षीय राजेश विश्वास, भारतको पिलिभितकै ४५ वर्षीय सन्तोष सरकार पक्राउ परेका हुन्।

दोधाराचाँदनी नगरपालिका– ४ लट्ठाघाट चौराहामा मेडिकल सञ्चालन गर्दै आएका भारतको पिलिभित जिल्लाको मजौलाका ४४ वर्षीय सुधांशु हल्दार, दोधाराचाँदनी नगरपालिका–४ खल्ला चोकमा मेडिकल सञ्चालन गर्दै आएका भारतको उद्धमसिंह नगर जिल्लाको खटिमाका २३ वर्षीय रवि विश्वास, दोधाराचाँदनी नगरपालिका– ४ श्रेष्ठ चौराहामा मेडिकल सञ्चालन गर्दै आएका भारतको उद्धमसिंह नगर खटिमाका ३२ वर्षीय कार्तिक सरदार पक्राउ परेका हुन्।

वडा नम्बर–१ मिलन चौराहामा मेडिकल सञ्चालन गर्दै आएका भारतको उद्धमसिंह नगरका ३८ वर्षीय निवास गाइन, भारतको उद्धमसिंह नगरको कुतियाकभरका ३८ वर्षीय निवास गाइन, वडा नम्बर ३ मा मेडिकल सञ्चालन गर्दै आएका भारतको उद्धमसिंह नगर खटिमाका ४९ वर्षीय निरञ्जन अधिकारी र दोधाराचाँदनी नगरपालिका–३ देवीस्थानमा मेडिकल सञ्चालन गर्दै आएका भारतको उद्धमसिंह नगर खटिमाका २५ वर्षीय भूपेन्द्र पुरी पक्राउ परेका हुन्।

कैलालीमा पनि पछिल्लो दुई महिनामा ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी उपमहानगरपालिका—३ मा मेडिकल सञ्चालन गरी औषधि बिक्री गर्ने, बिरामी चेकजाँच गर्ने अर्जुन थापा, कमला बोहरा, नवीन धामी, अम्मर चौधरी, दीपक महता र वडा नम्बर २ का गोरखबहादुर श्रेष्ठविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १९ मा उल्लेख भएअनुसार इलाजसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

भारतीय स्वास्थ्यकर्मी फरार

२०७६ साल मंसिर ९ मा बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा अवैध मेडिकल सञ्चालन गरेका भारतीय राजेशसिंह ठाकुरको ‘गलत उपचार’ले एकै दिन दुई जनाले ज्यान गुमाए। नातामा भिनाजु र साला पर्ने नरैनापुर गाउँपालिका–५ मटेहियाका २८ वर्षका गयाराज धोबी र राप्ती सोनारी–७ गेदवाका २७ वर्षका मालिकराम धोबीको अकालमा ज्यान गयो।

१८ मंसिरमा इलाका प्रहरी कार्यालय भगवानपुरले ठाकुरविरुद्ध ज्यान मुद्दा दर्ता गर्‍यो। तर, अभियुक्त ठाकुर अहिलेसम्म फरार सूचीमा छन्। इप्रका भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक राजन रायमाझी भन्छन्, ‘भारतीय नागरिक हो। घटनापछि नेपाल नआएकाले पक्राउ गर्न सकिएको छैन। ज्यान मारेको मुद्दामा हद म्याद हुन्छ।’

बाँकेको सीमावर्ती भारतीय जिल्ला श्रावस्ती थाना मन्हिपुरको मनकौरा गाउँका बासिन्दा ठाकुरले नरैनापुर–५ मा डेढ दशकभन्दा बढी समयदेखि औषधि पसल सञ्चालन गरेका थिए। हाईस्कुल पनि पास नगरेका उनले बहराइचमा चिकित्सकको सहयोगी भएर काम गरेको आधारमा अवैध औषधि पसल चलाएर बसेका थिए। उनले पर्चामा डाक्टर लेख्थे। बाँकेको कर्णाली उपमा पाएको नरैनापुर जिल्ला सदरमुकाम नेपालगन्जबाट ४४ किलोमिटर पूर्वमा छ। तत्कालीन समयमा भारतीय बजारमा आश्रित यहाँका बासिन्दा भारतीय झोले डाक्टरबाट उपचार गर्न बाध्य थिए।

अधिकांश जिल्लाका औषधि पसलमा छन् नक्कली स्वास्थ्यकर्मी

सीमा क्षेत्रका जिल्लामा भारतबाट समेत आएर नक्कली स्वास्थ्यकर्मीले चलाए औषधि पसल
भान्जा ९गयाराजका छोरा०को मुण्डन कार्यक्रममा सहभागी हुन मालिकराम मटेहिया गएका थिए। राति २ बजेतिर पेट दुखेका उनीहरूलाई ठाकुरले चार बोतल सलाइन पानी र औषधि खान दिएका थिए। मृत्यु भएको थाहा पाएपछि भागेका ठाकुर फर्केर नआएको प्रहरीले जनाएको छ। भारतीय झोले डाक्टरले एकैदिन दुई जना मारेपछि मात्र नरैनापुरमा झोले डाक्टरविरुद्ध कारबाही सुरु भएको थियो। घटनाको अर्को दिन मृतकको परिवारलाई भेटेर बाँके– १ की प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’को रोहवरमा प्रहरीले झोले डाक्टरको मेडिकलको ताला तोडेको थियो। उनको पसलमा इजाजत नै नलिएका भारतीय कम्पनीका औषधि मात्र पाइएको थियो।

सांसद नमुनाको निर्देशनमा नरैनापुर क्षेत्रमा पहिलो पटक बाँकेका सहायक प्र्रमुख जिल्ला अधिकारीकोे नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले अनुगमन गरेर भारतीय झोले डाक्टरका क्लिनिकबाट औषधि जफत गरेको थियो। यो घटनापछि नरैनापुरमा भारतीय झोले डाक्टरको बिगबिगी रोकिएको प्रहरीको दाबी छ। खुला बोर्डर भएकाले कति त झोलामा औषधि बोकेर गाउँगाउँ डुलेर उपचार गर्थे। इप्रका प्रमुख रायमाझी भन्छन्, ‘स्थानीय तह भए पनि स्वास्थ्य संस्थामा निःशुल्क औषधि उपलब्ध हुन थालेको र हुलाकी राजमार्गले नेपालगन्जसँग सीधा सम्पर्क जोडेकाले अहिले झोले डाक्टर आउन छोडेका छन्।’

अनुगमन नहुँदा सेवाग्राही मारमा चिकित्सकहरूको नक्कली योग्यताको सबालमा सम्बन्धित सरोकारवाला निकायले अनुगमन नगरेकै कारण महोत्तरीका सेवाग्राही मारमा परेका छन्। यहाँका सहर, बजारलगायतका स्थानमा खोलिएको निजी स्वास्थ्य संस्थाको होर्डिङ बोर्डमा स्वास्थ्यकर्मीको नामको अगाडि योग्यताभन्दा बढीको दक्षता देखाएर सर्वसाधारण बिरामीहरूलाई ठग्दै आएका छन्। त्यस सम्बन्धमा अनुगमनको जिम्मेवारी पाएका पक्षले सूक्ष्म रूपमा कारबाही प्रक्रिया अगाडि नबढाएका कारण सेवाग्राहीहरू प्रत्यक्ष रूपमा ठगीमा पर्दै आएका महोत्तरीका सञ्चारकर्मी रवीन्द्र उप्रेतीले बताए।

उनले भने, ‘यहाँका निजी क्लिनिक र निजीस्तरको स्वास्थ्य संस्थामा सेवा लिन गएकाहरू ठगीमा पर्दै आएका छन्। योग्यता कम अनि सेवासुविधा नरहेको क्लिनिकमा पुगेका सेवाग्राहीहरू प्रायः ठगिँदै छन्। मानव स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरोकारवाला निकाय मौन हुँदा सर्वसाधारणहरू प्रत्यक्ष रूपमा मर्कामा परेका छन्।’

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रप्रसाद न्यौपानेले वास्तविक तथ्यांक अझ पुष्टि हुन नसकेको बताए। उनले भने, ‘अनुगमन गरेर ती विषयमा छानबिन हुनु अत्यन्त जरुरी छ। जिल्ला प्रशासन कार्यालयले अन्य विषयमा समयसमयमा अनुगमन गरेर कारबाही प्रक्रिया अगाडि बढाए तापनि यस विषयमा अझ पहलकदमी गर्न सकेको छैन। अब अगामी केही दिनभित्रै यस सम्बन्धमा स्थलगत अनुगमन गर्दै कारबाही प्रक्रिया अगाडि बढाउनेछौं।’ अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.