DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हिउँ छिचोल्दै सीमाक्षेत्रमा सशस्त्रको गस्ती


  • मंसिर २६, २०७७
  • 601 Views
हिउँ छिचोल्दै सीमाक्षेत्रमा सशस्त्रको गस्ती image

हुम्ला । नेपाल–चीनको सीमाक्षेत्र हिल्सा नाकामा हिउँ छिचोल्दै सशस्त्र प्रहरी बलले सुरक्षा गस्ती गरेको छ । केही दिनयता हिमपातले तापक्रम माइनस सात डिग्री सेल्सियसमा झरे पनि हिल्सा बिओपीको टोलीले नियमित गस्ती गरेको हो ।हिल्सा बिओपीका सशस्त्र इन्स्पेक्टर सुरज केसीको नेतृत्वमा किट, लिमी र नारालेक क्षेत्रमा सीमास्तम्भको निरीक्षणसँगै नियमित गस्ती गरेको हो । हिमपातले तापक्रम माइनसमा झरे पनि नियमित गस्ती गरिएको इन्स्पेक्टर केसीले बताए ।यो क्षेत्रमा चिसो बढेसँगै दैनिक क्रियाकलापमा समेत समस्या हुने गरेको छ । चिसोले धारोमा राखिएको बाल्टिनको पानीसमेत बिहानपख जमेको अवस्थामा भेटिने गरेको उनले बताए ।

हिमपात हुँदा नारालेकको बाटो बन्द हुने गरेको छ । एक महिनाअघि नै सबै रासन, लुगाकपडालगायत बन्दोबस्ती सामग्री पठाइएको सशस्त्रका डिएसपी मोहन विष्टले बताए । ‘प्रतिकूल अवस्थाका कारण बिओपीमा खटिएका सुरक्षाकर्मीका लागि ६ महिना पुग्ने रासनपानी, दाउरा, अन्य बन्दोबस्तीका सामान पहिले नै व्यवस्था गरिएको छ,’ डिएसपी विष्टले भने । अझ हिल्सा नाका कर्णाली नदीको गहिरो खोंचमा भएकाले हिँउदमा घाम पनि थोरै समय लाग्ने गरेको छ । पानी परेसँगै हावा पनि चल्ने भएकाले हिल्सा नाकामा रहेको बिओपीलाई सकस हुने गरेको छ ।

यहाँका सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फर्के पनि सशस्त्रको टोली भने हिल्सा बिओपीमै रहेको छ । हिल्सा नाका पारिपट्टि चिनियाँ सुरक्षाकर्मी पक्की घरमा बस्दै आएका छन् भने नेपाली सुरक्षाकर्मी भने भाडाको कच्ची घरमै छन् । नयाँ पत्रिका दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.