भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

१५ दिनमा हजारभन्दा बढी कर्मचारी सरुवा


  • भाद्र २६, २०७९
  • 384 Views
१५ दिनमा हजारभन्दा बढी कर्मचारी सरुवा image

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता लागू तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरी सरुवामा तीव्रता दिएको छ ।
विगत ढेड सातामै हजारभन्दा बढी कर्मचारी सरुवा गरेको सरकारले त्यस अवधिमा झन्डै ३ हजारको संख्यामा प्रहरी सरुवा गरेको हो । निर्वाचनमा आफू अनुकूलका कर्मचारी पठाउने उद्देश्यअनुसार बिनामापदण्ड मनपर्दी कर्मचारी सरुवा गर्न थालिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार मात्रै अन्तरस्थानीय तहका ८ सयभन्दा बढी कर्मचारी सरुवा गरेको थियो ।

सो मन्त्रालयले गरेको सरुवामा ‘अत्यधिक विकृति देखिएको’ मन्त्रालयकै कर्मचारीको गुनासो छ । ‘सोर्सफोर्स र आर्थिक चलखेल’का आधारमा सरुवालाई तीव्रता दिइ“दै आएको मन्त्रालयकै कर्मचारीको दाबी छ । यसबीच प्रहरी प्रधानकार्यालयले पनि गएको १९ भदौमा २ हजार ८ सय ८४ कर्मचारी सरुवा गरेको छ भने त्यसयता केही प्रमुखसमेत सरुवा भएका छन् ।

– सरुवामा झन्डै ३ हजार प्रहरी
– सोर्सफोर्स हाबी
– केहीमा आर्थिक चलखेल आशंका
– ‘गैंडा’ सरुवाको बिगबिगी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा व्यापक पार्दै आए पनि उसले सरुवासम्बन्धी कुनै मापदण्ड बनाउन नसक्दा कैयौं सरुवा विवादित बन्दै आएको छ । उच्च राजनीतिक नेतृत्वको दबाब, मन्त्रीका सूची तथा अन्य उच्च कर्मचारीको ‘सोर्सफोर्स’ सरुवाको मुख्य आधार बनाउने गरिएको छ ।

सामान्य प्रशासन मन्त्रालयले शुक्रबार मात्रै विभिन्न मन्त्रालय र निकायका २४ सहसचिवको काज सरुवा गरेको छ । यसअघि, मन्त्रालयले ढेड सातामा मात्रै झन्डै २ सय प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिसकेको छ । यो क्रम अझै जारी छ । गत २३ भादौमा मात्रै मन्त्रालयले २३ प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृत सरुवा गरेको थियो ।

उता, गृह मन्त्रालयले पनि २१ भदौमा १२ सहसचिव तथा प्रमुख जिल्ला अधिकारी सरुवा गरेको थियो । गृहले पनि केही दिनदेखि प्रमुख जिल्ला अधिकारी सरुवा गर्ने क्रम जारी राख्दै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सबैभन्दा ठूलो ‘बिजनेस’ नै संघीय निजामती सेवा ऐन ल्याउनु हो । तर, मन्त्री राजेन्द्रकुमार श्रेष्ठको पछिल्लो दिनचर्या कर्मचारी सरुवामै बित्ने गरेको छ ।

मन्त्री श्रेष्ठले पछिल्ला दिन संघीय निजामती सेवा ऐन ल्याउने सम्बन्धमा खासै पहल गर्न सकेका छैनन् । संघीय निजामती सेवा विधेयक कानुन मन्त्रालयले रोकेर राखेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा गर्दा मन्त्रालयमा लाखौंको चलखेल भएको स्रोतको दाबी छ । कैयौंपटक सरुवा संशोधन गर्दासमेत चलखेल भएको मन्त्रालय अधिकारीको दाबी छ ।

एकपटक भएका दर्जनौं सरुवा संशोधन गर्दै रकम उठाइएको छ । आकर्षक निकायका रूपमा रहेका विभिन्न स्थानीय तहमा जान ‘व्यापक मोलमोलाई’ भइरहेको स्रोतको दाबी छ । केही दिनअघिसम्म मन्त्रालयमा सरुवा माग्नेको भिड थामी नसक्नु थियो । अहिले पनि सरुवा माग्नेको भिडमा कमी आउन सकेको छैन । पैसा दिन नसक्नेलाई आकर्षक ठाउँमा पठाइएको छैन । मन्त्रीको सचिवालयकै कर्मचारीको रुचिअनुसार नभएपछि मन्त्रालयले एकपटक गरिसकेको सरुवामा व्यापक फेरबदल गर्दै अन्तिम रूप दिइ“दै आएको छ ।

‘गैंडा सरुवा’मा बढी चलखेल

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको सचिवालयबाट ‘गैंडा सरुवा’मा बढी चलखेल हुने गरेको देखिएको छ । यो सुगमबाट सुगममै हुने सरुवा हो । राजनीतिक पहुँच, शक्ति र पैसा प्रयोग गरी केही अधिकृतले ‘गैंडा सरुवा’ गराउने गरेका छन् । विशेषतः काठमाडौं उपत्यकाको एउटा पालिकाबाट अर्को पालिकामा तथा एउटा सहरी क्षेत्रबाट अर्को सहरी क्षेत्रमा हुने सरुवालाई प्रशासनिक क्षेत्रमा ‘गैंडा सरुवा’का रूपमा लिने गरिन्छ ।

सोर्सफोर्स नभएका, शक्ति पहुँच र पैसा प्रयोग गर्न नसक्ने प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीको भने ‘एक दुर्गम स्थानबाट अर्को दुर्गम स्थान’मा सरुवा हुने गरेको छ । यो सरुवालाई ‘डाँफे सरुवा’ भनिन्छ । यसमा पैसाको कुनै चलखेल नहुने र यस्तो सरुवामा सोझासोझा कर्मचारी पर्ने गरेका छन् । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.