भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

५ बिघा जग्गा बेच्दै हेटौंडा सिमेन्ट


  • भाद्र २६, २०७९
  • 358 Views
५ बिघा जग्गा बेच्दै हेटौंडा सिमेन्ट image

हेटौंडा । प्लान्टको मर्मत र रेट्रो फिटिङका लागि रकम अभाव भएपछि सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले जग्गा बेच्ने तयारी गरेको छ। निरन्तर घाटामा गएको उद्योगले राष्ट्र बैंकलाई जग्गा बेच्ने प्रस्ताव अघि सारेको छ। हेटौंडा सिमेन्ट उद्योगको स्वामित्वमा लामसुरे हाइटमा ५७ बिघा जग्गा छ।

त्यसमध्ये ५ विघा जग्गा ८० करोड रुपैयाँमा नेपाल राष्ट्र बैंकलाई बेच्ने तयारी गरेको छ। समयमा नै मर्मत नगरे उत्पादन बन्द हुने भएकोले ५ बिघा जग्गा राष्ट्र बैंकलाई हस्तान्तरण गर्न पहल गरिएको महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताए। ‘प्लान्ट तथा उपकरणहरू मर्मत गर्न, रेट्रो फिटिङ गर्न झन्डै एक अर्ब खर्च हुने देखिन्छ। उत्पादन बढाउन नयाँ प्लान्ट निर्माण गर्न झन्डै ८ अर्ब खर्च हुन्छ,’ उनले भने, ‘उत्पादन वद्धि नगरे उद्योगको अस्तित्व जोगाउनै कठिन छ।’

उद्योगको प्लान्ट निकै जीर्ण अवस्थामा पुगेको उनले बताए। कबाडी मेसिनरी सामान लिलाम प्रक्रियाबाट बिक्री गर्ने, मन्त्रालयबाट अनुदान लिने र थप ऋण सहायता लिई उत्पादन क्षमता बढाउने उद्योगको योजना छ। जग्गा बिक्रीका लागि उद्योगले साधारणसभा बोलाएको छ।

राष्ट्र बैंकसँग सहमति भएपछि मात्रै उद्योग मन्त्रालयमार्फत जग्गा हस्तान्तरण प्रक्रिया अघि बढाएको थियो। ‘हामीले असोज ६ गते साधारणसभा बोलाएका छौँ। त्यसमा जग्गाको स्वामित्व राष्ट्र बैंकलाई उपलब्ध गराउने प्रस्तावमाथि निर्णय गर्नेछौँ,’ पाण्डेले भने। साधारणसभाको निर्णयपछि मात्रै उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लानेछ। जग्गाको स्वामित्व हस्तान्तरणको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्छ।

महाप्रबन्धक बसन्तकुमार पाण्डेका अनुसार उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको छ। ०७४र७५ देखि ०७८र७९ सम्म ६५ करोड ४७ लाख १६ हजार ७ सय ८२ रुपैयाँ घाटा व्यहोरेको छ। ०७५र७६ मा उद्योगले १ करोड ५ लाख ४१ हजार १ सय ३६, ०७६र७७ मा २३ करोड ८२ लाख २४ हजार, ०७७र७८ मा १७ करोड ४ लाख ४० हजार ६ सय ६९, ०७८र७९ मा २३ करोड ५५ लाख १० हजार ९ सय ६९ रुपैयाँ घाटा व्यहोरेको छ।

२०२१ साल असोज १३ मा उद्योग स्थापना भएको हो। दैनिक ७५० टन सिमेन्ट उत्पादन क्षमता भए पनि जीर्ण उपकरण र कमजोर व्यवस्थापनका कारण ६५० टन मात्रै उत्पादन हुन्छ।
दैनिक ८५० टन सिमेन्ट उत्पादन गर्न सके उद्योग नाफामा जाने महाप्रबन्धक पाण्डे बताउँछन्। चार दशक पुरानो प्रविधिबाट उत्पादन गरेर अत्याधुनिक प्रविधिका उद्योगसँग प्रतिस्पर्धा गर्न समस्या भएको महाप्रबन्धक पाण्डेको भनाइ छ। ‘अहिलेको अवस्थामा हेटौंडा सिमेन्ट थोत्रो गाडी मर्मत गरेझै भएको छ। एउटा मिलाए अर्को बिग्रिन्छ।’ उनले भने।

प्लान्ट मर्मत गर्न जग्गा बेच्ने तयारी
४ वर्षमा ६५ करोड ४७ लाख रुपैयाँ घाटामा उद्योग
उत्पादित सिमेन्ट बिक्रीमा पनि समस्या छ। निजी सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगले आफ्नो उत्पादन बिक्री गर्न नसकेको हो। गएको आर्थिक वर्षमा उत्पादित ८५ हजार २ सय मेट्रिकटन सिमेन्टमध्ये करिब ३ लाख बोरा तयारी सिमेन्ट गोदाममै थन्किएको छ।

सरकारी स्वामित्वको उद्योग तथा कलकारखानाहरू राज्यको बेवास्ताको कारण धराशायी बन्दै गएको मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले बताए। ‘राजनीतिक नियुक्तिका कारण खिचातानी बढी हुने गर्दछ,’ उनले भने, ‘यस्ता उद्योगहरूको नियमित अनुगमन गरी, राम्रो गर्नेलाई पुरस्कृत र गल्ती गर्नेलाई दण्ड दिने व्यवस्था लागू गर्न सके मात्रै उद्योगहरू सबल र स्थापित हुँदै जानेछन्।’अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.