DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सरकारको बजेट नपाएर अलपत्र ललितपुरको गणेशमान पार्क


  • माघ ७, २०८१
  • 202 Views
सरकारको बजेट नपाएर अलपत्र ललितपुरको गणेशमान पार्क image

काठमाडौं । नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको पूर्ण कदको सालिकसहितको पार्क बनाउने योजना २०६५ सालमा अघि सर्‍यो। ललितपुरको महालक्ष्मी नगरपालिका–९ लामाटारमा १० फिटको गणेशमानको उक्त पूर्ण कदको सालिकसहितको पार्क, पिकनिकस्थल, पोखरी, भ्युटावर, वृक्षरोपण गरी धेरै रूख लगाउने गुरुयोजना बनाइयो।

विस्तृत आयोजना प्रतिवेदनसमेत तयार गरी करिब ७ करोड लागतमा त्यहाँ गणेशमान सिंह पार्क बनाउने योजना थियो। सोही योजनाअनुरूप २०६६ सालमा पार्कको शिलान्यास भयो। सो वर्ष त्यहाँको स्थानीय क्लबले भोगचलन गरिरहेको ४० रोपनी जग्गा भोगाधिकारसहित हस्तान्तरण गर्‍यो।

त्यहाँको आर्थिक र सामाजिक विकासका लागि यो पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भनेर स्थानीय निकायले भोगाधिकार गरिरहेको पार्कलाई हस्तान्तरण गरे, तर उनीहरूले देखेको सपना अझै साकार हुन सकेको छैन। शिलान्यास भएको १५ वर्षसम्ममा पनि पार्क उद्घाटन हुन सकेको छैन। शिलान्यासपछि वर्षौंसम्म पनि सरकारको बजेटमा पार्क निर्माणको खर्च नपरेपछि निर्माणमा ढिलाइ भएको गणेशमान सिंह शान्ति प्रतिष्ठान नेपालका अध्यक्ष रामकृष्ण चित्रकार बताउँछन्।

यस बीचमा कांग्रेस नेतृत्वमा धेरै पटक सरकार बने, तर यो पार्कले पूर्णता भने पाउन सकेन। राजनीतिक आग्रह र पूर्वाग्रहका कारण करिब १० वर्षसम्म पार्क निर्माणका लागि बजेट नपरेको उनको भनाइ छ। पर्यटकका लागि प्राकृतिक गन्तव्य, शान्तिको सन्देश दिने र सर्वमान्य नेता सिंहको राष्ट्रप्रतिको योगदानको सम्मानमा यो पार्क निर्माणको परिकल्पना गरिएको परिकल्पनाकारसमेत रहेका प्रतिष्ठानका अध्यक्ष चित्रकार सुनाउँछन्।

करिब २ हजार २ सय ५० मिटरको उचाइमा निर्माणाधीन यो पार्क भएको स्थानलाई रिसाल डाँडा पनि भनिन्छ। काठमाडौंको कोलाहलबाट केही पर प्रकृतिको काखमा यो पार्क निर्माण भइरहेको छ। सालिक राखिएको स्थानबाट काठमाडौं उपत्यकासँगै नजिकका हिमशृंखलाको पनि आनन्द लिन सकिन्छ। पार्क निर्माण भइरहेको वरपर होटल तथा रिसोर्ट केही बन्दै र केही सञ्चालनमा आइसकेका छन्। तर, पार्कको औपचारिक उद्घाटन हुन नसक्दा पर्यटकको चाप खासै बढ्न नसकेको स्थानीयको गुनासो छ।

पार्कसँगै निर्माणाधीन लाकुरी भ्यु प्वाइन्ट रिसोर्ट सञ्चालक टी।बी कार्की पार्क उद्घाटन नहुँदा यहाँको विकासले पनि गति लिन नसकेको बताउँछन्। ‘पार्कसम्म पुग्ने सडक साँघुरो छ। यसले सवारीसाधनलाई आहोरोदोहोरमा समस्या भएको छ’, उनी सुनाउँछन्। यो पार्कको परिकल्पना पर्यटकहरूलाई काठमाडौं नजिकै राम्रो गन्तव्य दिने भन्ने थियो। पार्क स्थापना गर्दैै गर्दा मुलुकमा राजनीतिक वातावरण र परिस्थिति कठिन अवस्थामा थियो। माओवादी द्वन्द्वका कारण धेरै संरचनाहरू ध्वस्त भएका थिए।

देशको सम्पूर्ण क्षेत्र नै द्वन्द्वबाट गुज्रिएको थियो। शान्ति तथा स्थायित्वको प्रतीकको रूपमा र नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका सर्वमान्य नेता गणेशमान सिंहको सम्मानमा पार्क निर्माण अघि बढाइएको चित्रकार बताउँछन्। ‘२०६५ सालमा संस्था स्थापना गरेको थियो। २०६६ सालमा नै हामीले तत्कालीन नेपाली कांग्रेस संसदीय दलको नेता तथा अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल र त्यतिखेरका संसदीय दलका नेता तथा अहिलेका उपप्रधान तथा सहरी विकास मन्त्री एवं गणेशमानका छोरा प्रकाशमान सिंहको हातबाट शिलान्यास गरेका थियौं’, प्रतिष्ठानका अध्यक्ष भन्छन्।

राजनीतिक आग्रह र पूर्वाग्रहका कारण यसमा ढिलाइ भइरहेको उनको भनाइ छ। यो पार्क निर्माणका लागि शिलान्यास भएको धेरै वर्षसम्म सरकारको तर्फबाट बजेट विनियोजन हुन नसकेको उनको गुनासो छ। ‘स्थानीय रूपमा सानो सानो चन्दाहरू संकलन गरेर साना कामहरू गर्दै पार्क निर्माण अघि बढ्यो। गुरुयोजनाअनुसार पाँच वर्षमा सक्काउने भनिए पनि करिब १० वर्षसम्म सरकारले बजेट दिन सकेन’, चित्रकारले भने। त्यही क्रममा केही वर्षदेखि बजेटबाट नै रकम विनियोजन गरेर काम अघि बढिरहेको छ। अहिले संरचना अन्तिम अवस्थामा पुगिसकेको छ । २०८१ सालकोे अन्तिमसम्म संरचना निर्माण गर्ने र २०८२ असोज २ गते गणेशमान सिंहको स्मृति दिवस पारेर उद्घाटन गर्ने तयारी प्रतिष्ठानको छ। प्रतिष्ठानले यस वर्ष नै दसैंअघि उद्घाटन गर्ने तयारी गरेको पनि थियो।

तर, असोजमा आएको बाढीले बनेका संरचनामा असर पुर्‍याएपछि उद्घाटन एक वर्षपछि सरेको प्रतिष्ठानका महासचिव महेश खड्का बताउँछन्। बाढीले करिब ३० देखि ३५ लाखसम्म क्षति पुगेको थियो। त्यसको पुनर्निर्माणको काम भइरहेको छ। करिब १५ वर्षसम्म आइपुग्दा यो आयोजनामा करिब साढे २ करोड रुपैयाँ खर्च भएको छ। यसमा गणेशमान सिंहको पूर्ण कदको सालिक, वरपरको बगैंचा, भवनहरूलगायत संरचना निर्माण भएका छन्। गुरुयोजनाअनुसार अघि बढ्न सरकारले बजेट विनियोजन नगरेपछि केही परिमार्जन गरिएको खड्का सुनाउँछन्। सालिक वरपरको भाग निर्माण पूरा गरेर पार्क उद्घाटन गर्न लागिएको हो।

खड्काका अनुसार धनकुटाका प्रख्यात मूर्तिकार तथा चित्रकार धनकुमार याख्याले पार्कका लागि गणेशमानको सालिक बनाएका हुन्, जसको लागत करिब १३ लाख रुपैयाँ छ। पार्कमा सालिक करिब २०७४ सालमा नै स्थापना गरिएको थियो। योसँगै पार्कमा फूल, बोटबिरुवा पनि रोपिसकेको छ भने बस्ने लामा–लामा बेन्चहरू राखिएका छन्। गणेशमानको सालिकलाई सेतो कपडाले ढाकिएको र त्यहाँको गेटमा ताला झुन्ड्याइएको छ। यो सबैको रेखदेखका लागि एक जना हेरालु राखिएको महासचिव खड्का सुनाउँछन्। अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.