विराटनगर । जीवनको आधाभन्दा धेरै समय फलाम पिटेरै बितिसक्यो । म अहिले ६० वर्षको भएँ । मोरङको बुढीगंगा गाउँपालिका–१ को खापटोलमा बसोबास छ । हाम्रो टोलमा मुसहर समुदायको बसोवास धेरै छ । सिंघिया खोलाको किनारमा रहेको हाम्रो सुकुम्बासी टोलमा जम्माजम्मी ५० घरजति मुसहर बसोबास गर्छौं ।
बस्ती देखिन्छ तर त्यहाँ बसोबास गर्ने सबैको अवस्था मेरोजस्तै बिजोग छ । २० वर्षदेखि मेरो काम फलाम तताउने र त्यसलाई पिटेर घरेलु हरियार बनाउने हो । घरेलु हतियार तयार गरेपछि गाउँकै हाटबजारमा लगेर बेच्ने गरेको छु । हँसिया, कचिया, बाम्फोकदेखि तरबार, खुँडा र खुकुरीसम्म बनाउँछु ।
हाम्रो सानो फुसको झुप्रो छ । त्यही साँघुरो झुप्रोमा ६ जनाको परिवार बसिरहेका छौं । अहिले हुरी–बतासको समय छ । कहिलेकाहीँ हावाले झुप्रो उडाउने हो कि भन्ने पिरैपिरले निदाउन सकिँदैन । वर्षा लागेपछि सिंघियाको बाढी बस्तीमा पस्दा मुस्किलले ज्यान जोगिन्छ । हिउँदमा जाडोले कठ्याङ्ग्रिएरै रात काट्नु पर्छ ।
हुन त मसहित तीन जना कमाउने छौं । जेठो छोरा भारतको पन्जाबतिर कमाउन गएको छ । कान्छो छोरा, बुहारी, नाति र श्रीमती यहाँ सँगै छौं । मैले औजार तयार गरेपछि कान्छो छोराले हाटबजार पुर्याएर बिक्री गर्न सघाउँछ । तर, तीन जनाको कमाइले पनि घरखर्च धान्न गाह्रो छ । मेरो कमाइ महिनामा १० हजारजति हुन्छ । कान्छो छोराले पनि त्यति नै कमाउँछ । पन्जाबबाट छोराले कहिलेकाहीँ १०र१५ हजार पठाइदिन्छ ।
कहिलेकाहीँ मिठोमसिनो खान मन लाग्दा खर्चले धान्दैन । नयाँ लुगा नफेरेको त धेरै भइसक्यो । चाडबाडमा पनि पुरानैले काम चलाउँछौं । थोत्रा लुगा लगाएरै यसपालिको हिउँद कटायौं । औजारको बिक्रीबाट कहिलेकाहीँ दिनमै ७र८ सयसम्म कमाइ हुन्छ । कहिले त त्यो पनि हुँदैन । त्यति कमाइले घर गर्जो टार्नु परेको छ ।
परिवार सानो भए पनि खाना र स्वास्थ्य उपचारमा बढी खर्च हुन्छ । कहिलेकाहीँ बिरामी परिन्छ । धेरैजसो त हामी बुढाबुढी नै बिरामी हुन्छौं । हामी गरिबका लागि स्वास्थ्य उपचार महँगो छ । धेरै पैसा उपचारमै खर्च हुन्छ । नाति सरकारी स्कुल पढ्थ्यो । ४ कक्षा पढ्दा पढ्दै छाड्यो । निजी स्कुल पढाउन सक्ने अवस्था छैन । खानलाउनै समस्या छ ।
नातिलाई कसरी पढाउने रु अहिले घरमै बसिरहेको छ । त्यसको भविष्य बिग्रेला भन्ने डर छ । पुरानो फुसको घरमा चित्राको छानो फेर्न पनि सकेको छैन । हिउँद होस् या वर्षा यस्तै घरमा बस्छौं । ठूलो पानी पर्यो भने छिमेकतिर भाक्छौं । घर बनाउन सकिएको छैन । छानोबाट आकाशका तारा गन्न सकिन्छ । घर बलियो नहुँदा दुई वर्षअघि चोरले सबै सामान लट्टिपटी पारेको थियो ।
चित्राकै भए पनि छाना लगाउनु छ । तर, कहिल्यै पैसाले नपुग्ने भयो । घरेलु हतियार बनाउने कच्चा पदार्थ पनि दिनदिनै महँगो भइरहेको छ । फलामको पत्ती १२५ रुपैयाँ किलो पर्छ । कोइला पनि उस्तै महँगो दरमा किन्नु पर्छ । घरको समस्याले कहिलेकाहीँ दिक्क लाग्छ । बढ्दो महँगीले झन् चिन्तित बनाउँछु । हामीजस्ता विपन्न र गरिबहरू सबैको समस्या उस्तै होला भनेर चित्त बुझाउँछु ।
घरको दुःख कहिलेकाहीँ श्रीमतीलाई सुनाउँछु । उनले पनि सुन्ने मात्रै त हो नि १ केही गर्न सक्ने स्थिति उनको पनि छैन । तर पनि श्रीमतीलाई सुनाउँदा मन हलुंगो हुने रहेछ । जब बिहान हुन्छ, सबै दुःख सम्झिएर फेरि मन भारी हुन्छ । कान्तिपुर दैनिकबाट ….
