प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौंबाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले साउनदेखि पुससम्म विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको हो । विद्युत् खरिद, प्रशासनिक र विभिन्न आयोजनालगायतमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको प्राधिकरणले जनाएको छ । साउनदेखि पुससम्म प्राधिकरणको अप्रशोधित नाफा ९करकट्टी गर्नुअघि० ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
नेपाल शिक्षक संघले संसद्को चालु हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी गराउन दबाबासहित पुनः आन्दोलन गर्ने भएको छ । महासंघले एक लाखभन्दा बढी शिक्षकलाई काठमाडौंकेन्द्रित आन्दोलनमा उतार्ने केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । शुक्रबार नेपाल शिक्षक संघ बागलुङको ४३ औं प्रतिनिधिसभाको उद्घाटन गर्दै सुवेदीले अग्रगामी ऐन ल्याएर देशभरका १७ थरी शिक्षकको समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार काठमाडौंको बौद्धमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले शुक्रबार २१५२औँ ग्याल्पो ल्होसार मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ ।
भारतीय राज्य उत्तराखण्डको चमौलीको माणामा हिमपहिरो जाँदा सडक निर्माणमा कार्यरत ४१ जना फसेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बोर्डर रोड अर्गनाइजेसजनका ५७ जना फसेकामा १६ जनाको उद्धार भइसकेको छ । उद्धार गरिएकालाई अस्पताल लगिएको छ । बद्रीनाथ धामबाट ५२ किलोमिटर उत्तरमा रहेको माणा पासमा हिमपहिरो गएको हो । चमौलीका जिल्ला अधिकारी सन्दीप तिवारीले भारत-तिब्बत सीमा पुलिस(आईटीबीपी) र सेना उद्धारकार्यमा खटिएको छ । त्यस्तै राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बल पनि उद्धारमा खटिएको छ ।कान्तिपुरबाट…
