भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अचाक्ली चुलियो महँगी गरिबलाई झन्झन् सकस


  • जेष्ठ २८, २०७९
  • 361 Views
अचाक्ली चुलियो महँगी गरिबलाई झन्झन् सकस image

काठमाडौँ । बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ। महँगी बढ्दा उपभोक्ता मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ्दा न्यून आम्दानी भएका परिवारलाई भान्सा चलाउन सकस भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि ७.८७ प्रतिशत पुगेको छ। यो पोहोरको भन्दा शतप्रतिशत बढी हो। गत वर्षको वैशाखमा ३.६५ प्रतिशत रहेको मुद्रास्फीति बढेर यो वर्षको वैशाखमा ७.८७ प्रतिशत पुगेको छ।

युक्रेन–रुस युद्ध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलर सटही दरमा वृद्धिलगायत कारणले बजारमा महँगी बढेको हो। खाने तेल, चामल, दाल, मासु, डिजेल, पेट्रोल, निर्माण सामग्री लगायत सबै क्षेत्रमा मूल्य बढेको छ। दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको मारमा उपभोक्ता छन्। विशेषगरी विद्यार्थी, निम्न आय भएका परिवार र दैनिक ज्यालादारी गरेर खर्च चलाउनेलाई छाक टार्न कठिन भएको छ।

मूल्यवृद्धिले गरिबलाई दैनिक व्यवहार चलाउन हम्मे परेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए। ‘बजारमा दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढेको छ,’ उनले भने, ‘महँगी बढ्दा विपन्न परिवार थप समस्यामा परेका छन्।’ खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१३ प्रतिशतले बढेको छ भने सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ, तेल, फलफूल, दुग्ध पदार्थ, अन्डा, दाल, गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१ प्रतिशत, ११.६४ प्रतिशत र ८.२१ प्रतिशत छ। वैशाखमा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७.३९ प्रतिशत, तराईमा ८.१५ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत, हिमालमा ८.२१ प्रतिशत छ। गत वर्षको वैशाखमा उपत्यकामा ३.६२, तराईमा ३.५१, पहाडमा ४.१४ र हिमालमा १.३३ प्रतिशत मूल्यवृद्धि थियो।

चालु आर्थिक वर्ष २०७८र७९ को भदौमा मूल्यवृद्धि ३.४९ प्रतिशत रहेकोमा वैशाखसम्म आइपुग्दा शतप्रतिशत नाघेर ७.८७ प्रतिशत पुगेको छ। आन्तरिकभन्दा बाह्य कारणले मूल्यवृद्धि भएको सरकारी अधिकारी बताउँछन्। विश्वभर मूल्यवृद्धि, डलर बलियो र मुद्राको पर्चेजिङ पावर कमजोर भएको जस्ता कारणले नेपालमा पनि मूल्य बढेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए।

‘विश्वमै देखिएको जटिल आर्थिक अवस्थाको प्रभाव नेपालमा पनि परेको हो,’ शर्माले भने, ‘विश्वभरि नै मूल्यवृद्धि भएको छ।’ नेपालमा प्रयोग हुने अधिकांश वस्तु विदेशबाट आयात हुने भएकाले त्यसको प्रभाव परेको शर्माको दाबी छ। ‘७९ प्रतिशत वस्तुको मुहानमै मूल्य बढेको छ,’ उनले भने। विभागले अस्वाभाविक मूल्यवृद्धिबारे अनुगमन गर्ने जनाएको छ।

कतिपय व्यापारीले बाह्य कारण देखाएर पनि भाउ बढाएका छन्। सरकारको कमजोर नियमन र अनुगमनको फाइदा केही व्यापारीले उठाएका छन्। रुस र युक्रेनबीचको युद्धले विश्वकै आपूर्ति शृंखलामा असर पारेको छ।

रेमिटेन्समा सुधार

अर्थतन्त्रका अधिकांश क्षेत्रमा समस्या देखिए पनि विप्रेषण ९रेमिटेन्स० आप्रवाहमा सुधार आएको छ। १० महिनामा विप्रेषण आप्रवाह ०।२ प्रतिशतले वृद्धि भई ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९।२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १।६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई २ लाख ७८ हजार २९८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ६८.४ प्रतिशतले घटेको थियो।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ५४ प्रतिशतले घटेको थियो।

विदेशी मुद्राको सञ्चिति घट्यो

आयात बढिरहेको अवस्थामा विदेशी मुद्राको चाप बढेको छ। विदेशी मुद्राको सञ्चिति ओरालो लागेको छ । पछिल्लो १० महिनामा विदेशी मुद्राको सञ्चितिमा २१.१ प्रतिशतले कमी आएको छ।

राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनाको विवरणअनुसार विदेशी मुद्रा सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलरबराबर रहेको छ। २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाा कायम भएको राष्ट्र बैंले जनाएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ। देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा छ।

शोधनान्तर स्थिति घाटामा

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४१ करोडले घाटामा छ।

यसैगरी समीक्षा अवधिमा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड कायम भएको छ।

यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड थियो। नागरिक दैनिकबाट…

 

 


Thali Mobile Pvt.Ltd.