भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अन्तरबैंक ब्याजदर सीमाभन्दा कम भएपछि दोस्रोपटक रिभर्स रिपो


  • असार ८, २०८०
  • 214 Views
अन्तरबैंक ब्याजदर सीमाभन्दा कम भएपछि दोस्रोपटक रिभर्स रिपो image

काठमाडौं । अन्तरबैंक ब्याजदर लक्षित सीमाभन्दा तल आएपछि नेपाल राष्ट्र बैंकले दोस्रोपटक रिभर्स रिपो जारी गरी बजारबाट तरलता उठाएको छ । बिहीवार ७ दिन अवधिको रिभर्स रिपोमार्फत केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ तरलता खिचेको हो ।

बिहीवारको रिभर्स रिपोमा ९ ओटा बैंक, वित्तीय संस्थाले ५९ ओटा आवेदनमार्फत २६ अर्ब ३३ करोड रुपैयाँका लागि बोलपत्र गरेका थिए । त्यसमा अधिकतम ३ दशमलव २४ प्रतिशत र न्यूनतम २ दशमलव ७३ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ३ दशमलव शून्य १ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

२०७८ साउन ५ गते रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड रुपैयाँ तथा साउन १३ र २१ गते निक्षेप संकलनमार्फत ३१ अर्ब ६५ करोड रुपैयाँ बजारबाट उठाएपछि राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) मा पहिलोपटक माघ १२ गते रिभर्स रिपोमार्फत बजारबाट ५ अर्ब रुपैयाँ उठाएको थियो ।

वित्तीय प्रणालीमा निक्षेप वृद्धिसँगै तरलता सहज भएपछि केन्द्रीय बैंकले चैत दोस्रो सातापछि रिपोलगायत उपकरणबाट तरलता प्रवाह गरेको छैन । अन्तिमपटक चैत २३ गते १४ दिन अवधिको २० अर्ब रुपैयाँ रिपो जारी गरेको थियो । त्यसैगरी बैंकहरूले ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) लिने क्रमसमेत घटिरहेको छ । बैंकहरूले वैशाख १३ गतेयता ओभरनाइट रिपो र जेठ १७ गतेयता एसएलएफ सुविधा लिएका छैनन् । बैंक, वित्तीय संस्थामा तरलता अधिक भई अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट तरलता खिचेको हो ।

मौद्रिक नीतिमा अन्तरबैंक कारोबारको औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी बिन्दुले तलमाथि भएमा रिभर्स रिपो जारी गर्ने प्रावधान छ । जेठयता लगातार ओरालो लागेको अन्तरबैंक कारोबारको औसत ब्याजदर मंगलवार ४ प्रतिशतमा झरेको छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा सुधारसँगै बैंकहरूमा निक्षेप बढे पनि उच्च ब्याजदर र आर्थिक गतिविधिमा आएको कमीका कारण कर्जा प्रवाह हुन सकेको छैन । यसले गर्दा टे«जरी बिल्स, विकास ऋणपत्र, अन्तरबैंक कारोबारको ब्याजदरहरू लगातार घटिरहेका छन् ।

चालू आवको वैशाखसम्ममा राष्ट्र बैंकले रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड, सोभै खरीद बोलकबोलमार्फत ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ९६ करोड र ओभरनाइट तरलता सुविधामार्फत १७ खर्ब १८ अर्ब ८ करोड गरी कुल ४९ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ तरलता प्रवाह गरिसकेको छ । वैशाखसम्ममा बैंक, वित्तीय संस्थामा ३ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ निक्षेप वृद्धि हुँदा उनीहरूले १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।

चालू आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले ब्याजदर कोरिडोरअन्तर्गतको माथिल्लो सीमा अर्थात् बैंकदर ७ प्रतिशतबाट ८ दशमलव ५ प्रतिशत र तल्लो सीमा अर्थात् निक्षेप संकलन दर ४ प्रतिशतबाट ५ दशमलव ५ प्रतिशत तथा नीतिगत दर ५ दशमलव ५ प्रतिशतबाट ७ प्रतिशतमा पुर्‍याएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट ८ दशमलव ५ प्रतिशतमा प्रवाह हुँदै आएको दैनिक तरलता सुविधा नीतिगत दर अर्थात ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको थियो । यस्तै तेस्रो त्रैमासिक समीक्षाबाट बैंकदर १ प्रतिशत विन्दुले घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरे पनि नीतिगत दर यथावत् राखेको छ । यो समाचार अभियान दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.