DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आङ खस्ने समस्या ग्रामीण महिलामा बढी


  • आश्विन १३, २०८०
  • 286 Views
आङ खस्ने समस्या ग्रामीण महिलामा बढी image

उदयपुर । उदयपुरको ग्रामीण क्षेत्रमा महिलामा आङ खस्ने समस्या अत्यधिक देखिएको छ। पोषणयुक्त खानाको कमी, नियमित स्वास्थ्य जाँच तथा उपचार नगर्नुका साथै स्वास्थ्य अनुशासनसम्बन्धी चेतनाको कमीले आङ ९बच्चादानी० खस्ने समस्या गाउँका महिलामा बढी रहेको पाइएको छ।

त्रियुगा नगरपालिका, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय उदयपुरले वल्र्ड नेवर्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा आङ महिला धेरै फेला परेका छन्। सदरमुकाम त्रियुगाको विकट क्षेत्र १५ वडा खाँबुमा आयोजित शिविरमा स्वास्थ्य परीक्षण गराउने दुई सय महिलामध्ये अधिकतरमा आङ खस्ने समस्या देखिएको छ।

स्थानीय आयोजक हुरेन्डेक उदयपुरका अनुसार परीक्षण गराउने एक सय ८४ जनामध्ये आङ खस्ने समस्याका बिरामी बढी रहेको शिविरमा खटिएका जिल्ला अस्पताल उदयपुरका प्रसुती रोग विशेषज्ञ डा। मुकेश झाले बताए। झाका अनुसार यो समस्या २५ देखि ६५ वर्ष उमेर समूहका सबै महिलामा पाइएको छ। शिविरमा आएका एक सय ७१ जनामध्ये धेरैको आङ खस्ने समस्या देखिएको उनले बताए।

शिविरमा समस्या देखिएकामध्ये पाँच महिलाको आङको अवस्था जटिल भइसकेकाले तत्काल शल्यक्रिया गर्नुपर्ने उनले बताए। डा। झाका अनुसार शिविरमै केही महिलाका आङमा रिङप्रेसरी राखिएको छ भने कतिपयलाई सफा गरेर पठाइएको छ। कतिपयको बच्चादानीको मुखमा मासु पलाएको पाइएको छ। त्यस्तालाई पनि चाँडै शल्यक्रिया गर्न जिल्ला अस्पताल आउन सुझाव दिइएको डा। झाले बताए।

बच्चादानीको मुखमा हुन सक्ने सम्भावित क्यान्सर पत्ता लगाउने तरिका भिआईए विधि पनि शिविरमा प्रयोग गरिएको थियो। क्यान्सरको पूर्व लक्षण देखाउने ‘स्पेकुलम’ औजारको प्रयोगबाट गरिने भिआईए परीक्षणमा १८ महिलामा क्यान्सरको सम्भावना देखिएको छ।

‘बच्चादानीको मुखमा हुने सम्भावित क्यान्सरको लक्षण पत्ता लगाउने भिआईए चेकजाँच गर्दा १८ जनामा पोजेटिभ देखियो’, डा। झाले भने, ‘त्यस्तो लक्षण देखिएका महिलालाई तत्काल थप परीक्षण र उपचार गर्न सफारिस गरेका छौं।’

बच्चादानीको मुखमा क्यान्सर भएमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउने भएकाले त्यसो हुन नदिन छिटोभन्दा छिटो उपचार गर्नुपर्ने डा। झाको भनाइ छ। क्यान्सरको लक्षण देखिएलगत्तै उपचार गरे निको हुने भएकाले पनि ढिला नगर्न सुझाइएको उनको भनाइ छ।

डा। झाका अनुसार ३० देखि ६० वर्षसम्मका महिलाको बच्चादानीको मुखमा प्रायः क्यान्सर हुने गरेको पाइएको छ। विशेषगरी कलिलो उमेरमा यौन सम्पर्क गर्ने, धेरैजनासँग यौन सम्पर्क गर्ने, धुमपान, सुर्तीजन्य पदार्थ सेवन र मद्यपान गर्ने तथा रोग प्रतिरोधी क्षमता कम भएका महिलामा क्यान्सरको खतरा हुने उनले बताए।

खाँबुको शिविर पाठेघर र मानसिक रोगीलाई लक्षित गरी सञ्चालन गरिएको हुरेन्डेकका अध्यक्ष शंकर थापाले बताए। साथै अन्य रोगका बिरामीको पनि परीक्षण गरिएको उनले बताए। शिविरमा ज्येष्ठ नागरिकलाई हाडजोर्नी, ग्यास्टिक, दाग, घाउ, खटिरा, ढाड–टाउको–पेट दुख्ने तथा अन्य सबै उमेर समूहका बिरामीको पनि परीक्षण र उपचार गरिएको अध्यक्ष थापाले बताए।

शिविरमा फिजिसियन, इसिजी, युएसजी, आईयुसिडी, इन्पालन्ट, कोलिपलगायत सेवा पनि दिइएको थियो। आङ खसेका महिलाको शल्यक्रिया निःशुल्क गर्न वर्ल्ड नेवर्सको सहयोगमा हुरेन्डेकले ‘नेपाल एकीकृत ग्रामीण विकास परियोजना’ कार्यक्रम सञ्चालनमा ल्याएको छ।

संस्थाकी कार्यक्रम संयोजक बिनु सुवेदीले महिलाको मुख्य समस्या मानिने बच्चादानीको बेलैमा उपचार नगरे क्यान्सरजस्तो प्राणघातक रोगले समात्ने जोखिमबाट बचाउन परियोजना सञ्चालन गरिएको बताइन्। उनले हुरेन्डेकको कार्यक्षेत्रभित्र पर्ने उदयपुरका कटारी र बेलका नगर तथा रौतामाई गाउँपालिकामा दुई महिनाभित्र यस्तै शिविर चलाइने योजना सुनाइन्।

त्रियुगा नगर प्रमुख वसन्तकुमार बस्नेतले गाउँघरका महिलालाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन पहाडी वडामा शिविर सञ्चालन गरिएको बताए। उनले दुरदराजका जनताको स्वास्थ्यमा पहुँच पुर्‍याउन यस्ता शिविर अन्य वडामा पनि चलाउने प्रतिबद्धता जनाउँदै जिल्ला अस्पताललाई सुविधासम्पन्न बनाउन सक्दो प्रयास भइरहेको बताए। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.