DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एक वर्षपछिको अन्तर्राष्ट्रिय खेल


  • कार्तिक २८, २०७७
  • 346 Views
एक वर्षपछिको अन्तर्राष्ट्रिय खेल image

काठमाडौं । कोरोना महामारी नभएको भए गत जुनमा नेपालले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेल खेल्ने थियो । कोरोनाले विश्व खेलकुदको क्यालेन्डरलाई नै प्रभावित पारिदिँदा छनोट बाँकी रहेका तीन खेल हुन सकेका छैनन् । एसियन फुटबल कन्फेडेरेसन ९एएफसी०ले बुधबार मात्रै विश्वकप छनोट र एसियन कप छनोटको संयुक्त छनोट खेलहरू मार्च र जुनमा सक्ने निर्णय गरेको छ । एएफसीको सम्भावित तालिकाअनुसार नेपालले विश्वकप छनोटका बाँकी खेल खेल्न अझै पनि तीन महिनाभन्दा बढीको समय छ । सोही विश्वकप छनोटको खेललाई तयारी र लामो समयदेखि खेलाडीहरू प्रशिक्षणविहीन बन्नुपर्दा अखिल नेपाल फुटबल संघ ९एन्फा०ले सरकार र खेलकुदको निकायलाई गुहार्दै बंगलादेशसँगको खेल्ने वातावरण मिलेको छ । नेपाली पुरुष राष्ट्रिय फुटबल टोली अहिले बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ । टोलीले झन्डै एक वर्षपछि शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ ।

खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार साँझ ४ः४५ बजे हुनेछ । अर्थात्, कोरोनापछि नेपालमा यही बंगलादेशसँगको मैत्रीपूर्ण खेलबाट नेपाली खेलकुद फर्कँदै छ । नेपालले गत वर्ष मंसिरमा कुवेतसँग विश्वकप छनोटको पाँचांै चरणको खेल खेलेयता अन्तर्राष्ट्रिय खेलविहीन छ । युवा खेलाडीको बाहुल्य रहेको २५ सदस्यीय नेपाली टोली ढाकामा रहेका छन् । यो टोलीका लागि स्तर निर्धारण गर्न खेल हुन सक्नेछ । झन्डै आठ महिना खेल्न नपाएका खेलाडीका लागि यी दुई खेललाई फिटनेसको अवस्था बुझ्ने खेल हुन सक्नेछ ।

खेलअघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन् । ‘मैत्रीपूर्ण खेलका लागि हामी ९नेपाल०लाई निमन्त्रणा गरेकोमा बंगलादेश फुटबल फेडेरेसनलाई धेरै धेरै धन्यवाद । तर, मैत्रीपूर्ण खेलका लागि हामीले थोरै समय पायौं । तर, खेल्न पाउनु नै ठुलो कुरा हो,’ खेलअघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक महर्जनले भने, ‘टिमको प्रशिक्षण राम्रो रहेको छ । विश्वकप छनोटका लागि यो खेल तयारी खेल हुनेछ । यो अवस्था निकै चुनौतीपूर्ण अवस्था हो । तर, चुनौती सामना गर्न टोली तयार छ ।’

यस्तै, प्रशिक्षक महर्जनले केही सिनियर खेलाडी चोट र कोरोनाका कारण टोलीमा नरहेको र बंगलादेशमा पनि एक खेलाडीमा कोरोना देखिएको बताउँदै यसले पनि टोलीमा केही प्रभाव पर्न सक्ने बताए । यता, टोलीका कप्तान किरण चेम्जोङले लामो समयपछि फुटबल खेल्न पाउँदा उत्साहित रहेको बताए । ‘मैत्रीपूर्ण खेलका लागि तयारी राम्रै रहेको छ । अहिलेको अवस्थामा खेल्न सहज छैन । यो हाम्रा लागि शारीरिक र मानसिक रूपमा तयार रहन राम्रो अवसर हो,’ कप्तान चेम्जोङले भने । घरेलु टोली बंगलादेश पनि घरेलु मैदानमा सकारात्मक नतिजा निकाल्ने दाउमा हुनेछ ।राजधानी दैनिकबाट ……

 


Thali Mobile Pvt.Ltd.