DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एकल महिलाको उद्यमशिलता


  • फाल्गुन २४, २०७७
  • 699 Views
एकल महिलाको उद्यमशिलता image

पोखरा । प्लस टु अध्ययन गर्न पोखरा आएकी एउटी युवती आफन्तका झूटो आश्वासनको भरमा वैवाहिक जीवनमा बाँधिइन् । तर, उनको विवाह धेरै समय चलेन । उनले हिम्मत हारिनन् र संघर्ष गरिन् । फलस्वरूप आज एकल महिलाका रूपमा उनी एउटा सफल उद्यमीका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् ।

यो कथा होइन । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–३, फुजेलकी ३० वर्षीया पम्फा देवकोटा हाल पोखरामा एक सफल एकल महिला उद्यमीका रूपमा चिनिन्छिन् । आत्मविश्वास लिएर अघि बढेमा आत्मनिर्भर पनि बन्न सकिन्छ भन्ने गतिलो उदाहरण पनि बनेकी छिन् उनी ।

कक्षा ११ मा अध्ययनकै क्रममा आफन्तबाट विवाहको प्रस्ताव आयो । उनी झूटा आश्वासनमा परिन् र विवाह भयो । तर, उनको पारिवारिक जीवन मुस्किलले दुई वर्ष पुग्दा नपुग्दै एक वर्षको काखे बाबुसहित श्रीमान्सँग बिछोड भयो । उनै देवकोटा आफ्नो सन्तानको पालनपोषणका लागि ज्याला–मजदुरी गर्न थालिन् ।

संघर्षको फलस्वरूप उनी हाल एक उद्योगको सञ्चालक हुनुका साथै आफ्नो उद्योगमा उत्पादन भएका खाद्य वस्तु पोखरा क्षेत्रका पसल–पसलमा बलेरो गाडीमार्फत आफैं पु¥याउने काम पनि गर्छिन् । कुनै समयमा गाडीको हेल्परका रूपमा काम थालेकी देवकोटाले आफ्नो दृढ इच्छाशक्ति र सत्यको बाटोमा हिँड्दा आज बलेरो गाडी हाँक्ने र आफ्नै दीप आइसक्रिम उद्योगबाट उत्पादित दुग्धजन्य वस्तुहरू पोखराका पसल–पसलमा पु¥याउने गर्छिन् । कुनै समय एउटी साधारण काली केटीको उपमा पाएकी देवकोटा हाल आफ्नै संघर्षका कारण एक साहसिक महिला उद्यमीका रूपमा आफूलाई स्थापित गर्न सफल भएकी छन् । नौ वर्षअघि आफ्नो श्रीमान्ले एक कम्पनीसँग गरेको कारोबार बिगारेर टाढिएसँगै उनले लिएको ऋणको जिम्मासहित काखमा दुधे बालक बोकेर उनी मजदुरी गर्न घरबाहिर निस्केकी थिइन् ।

नौ वर्षअघिको करिब ९ लाखको ऋणको भार, त्यसमाथि दुधे बालकको पालनपोषण गर्ने जिम्मा पूरा गर्न उनले बजारमा हेल्परको रूपमा मजदुरी गर्न सुरु गरिन् । जब उनी दुधे बालकलाई लिएर मजदुरी गर्न निस्किन्, त्यस समयदेखि उनकी ठूली आमाका छोरा रामचन्द्र अधिकारीले देवकोटालाई समाजमा केही गर्न प्रेरणा मात्र दिएनन्, साथ पनि दिए । गत तीन वर्षदेखि पोखराको बूढीबजारमा उनी आफ्नै उद्योग सञ्चालन गर्छिन्, जुन उद्योग सञ्चालन गर्न अधिकारीले साथ दिँदै आएका छन् ।

देवकोटा र अधिकारीको परिवारसहित हाल उक्त उद्योगले ६ जनालाई रोजगारी दिँदै आएको छ । सिजनको पेसा भएकाले गर्दा गर्मी मौसममा भने उनीहरूलाई भ्याइनभ्याइ हुने गर्छ । देवकोटाको छोरा हाल १० वर्षको भएको छ । कक्षा ४ मा अध्ययनरत उनको छोरालाई पालनपोषण गरेर बसेकी उनको श्रीमान्सँग व्यावहारिक रूपमा सम्बन्धविच्छेद भए पनि कानुनी रूपमा भने सम्बन्धविच्छेद भने भएको छैन । तर, श्रीमान्ले भने अर्काे विवाह गरिसकेका छन् । देवकोटा भने आफ्नो छोराको भविष्यका लागि आफूले अर्को विवाह नगर्ने सोचमा पुगेको बताउँछिन् । हरेक परिवारको सुखद मिलनमा दुवैको उत्तिकै हात हुने हुनाले देवकोटा अब श्रीमान्ले आफ्नो व्यवहार बिगारेसँगै फोनैबाट घर आउँदिनँ भन्दै अर्को विवाह गरेर हाल विदेशमा रोजगारीका लागि पुगेको बताउँछिन् ।

पछिल्लो समयमा महिलाहरूलाई केही गर्न चाहेमा वडादेखि पालिकासम्म महिलाहरूको सहभागिताले व्यावसायिक उत्थानका लागि केही न केही राहत तथा सहुलियत प्राप्त भइरहेको छ । आफूजस्ता धेरै महिलाहरूले घरपरिवार र श्रीमान्बाट दुःख पाएको कुरा सुनाउँदै देवकोटा पहिला आफूलाई काली केटी भनेर हियाउनेहरूले नै हिजोआज आफ्नै गाडीमा आफ्नै उद्योगका सामानहरू लिएर जाँदा साहुजी भन्ने गरेको बताउँछिन् ।

जागिरे जीवन र आफ्नो व्यवसाय गर्दा धेरै फरक हुने बताउने देवकोटाले दूध र दूधजन्य बस्तुहरू अति नै संवेदनशील हुने हुँदा गाडी चालकबिना उक्त व्यवसाय गर्न असमर्थ भएकाले त्यसका लागि आफू नै चालकका रूपमा समेत उत्रिएको बताउँछिन् ।

उनको उद्योगमा दैनिकजसो करिब १ सय लिटर दूध खपत हुन्छ । तर, बजार विस्तारकै क्रममा रहेको बताउने उनी हाल पोखरा, तनहुँ, स्याङ्जालगायत बागलुङसम्म आफ्नो व्यवसाय विस्तार भएको सुनाउँछिन् ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.