भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

काठमाडौंको तिर्खा मेट्दै मेलम्ची


  • फाल्गुन २४, २०७७
  • 832 Views
काठमाडौंको तिर्खा मेट्दै मेलम्ची image

काठमाडौं । काठमाडौंवासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन्। वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा आउने मेलम्ची खानेपानी विकास बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले आंशिक रूपमा परीक्षण गरेर चैत दोस्रो सातादेखि नै वितरण गर्न सकिने बताए।

‘पूर्णरूपमा परीक्षण गरी वितरण गर्न भने अझै डेढ महिनाजति लाग्छ’, कार्यकारी निर्देशक खत्रीले भने, ‘वैशाख दोस्रो सातादेखि वितरण हुन सक्छ।’  परीक्षणका क्रममा साढे २६ किलोमिटर सुरुङ पार गरी मेलम्चीको पानी शनिबार मात्रै सुन्दरीजलमा खसालिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर सुन्दरीजलमा पानी खसालेका थिए। सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन ११ गते सुरुङमा पानी प्रवेश गराइएको थियो। सुरुङ निर्माण थालिएको १२ वर्षमा सम्पन्न गरी सुन्दरीजलमा पानी आइपुगेको हो।

मेलम्चीको पानी आउन थालेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण क्षेत्रभित्र दिनहुँ साढे दुईदेखि तीन घण्टासम्म पानी दिइने कार्यकारी निर्देशक खत्रीले बताए। पानी वितरण गर्न अझै डेढ महिना लाग्नेछ। सुन्दरीजलमा रहेका दुईवटा प्रशोधन केन्द्रको परीक्षण भएको छैन। सुरुङको मात्रै परीक्षण भएको छ। वितरण पाइपलाइन र थोक वितरण प्रणालीलगायत अरू संरचनाको पनि परीक्षण गर्नुपर्ने हुन्छ। सबै परीक्षण पूरा गरी पानी वितरणमा भने केही समय लाग्ने खत्रीको भनाइ छ। आंशिक परीक्षणलगत्तै वितरण गर्दा छिटो हुने उनले बताए।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रको क्षमता १७ करोड लिटर छ। मेलम्ची खोलाबाट प्रतिदिन १७ करोड लिटर पानी आउँछ। बोर्डका अनुसार सुन्दरीजलका दुई प्रशोधन केन्द्रले यो प्रशोधन गरेर पानी वितरणका लागि पठाइनेछ। महांकाल, बाँसबारी, बालाजु, मनमैंजु, अनामनगर र भक्तपुरको टिँगनीमा ६ वटा पुराना पोखरी छन्। तिनै स्थानमा नयाँ १० वटा पोखरी निर्माण गरिएका छन् । पुरानामा साढे ४ करोड लिटर र नयाँमा साढे ६ करोड लिटर पानी संकलन गरिने जनाइएको छ। ती पोखरीबाट वितरण लाइनमार्फत घरघरमा पानी पुर्‍याउने तयारी छ । सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट ७६ किमि मुख्य पाइप लाइनबाट पोखरीमा पानी पुर्‍याइनेछ। घरघर पानी वितरण गर्न १ हजार २ सय किमि पाइपलाइन बिछ्याइएको छ। चक्रपथभित्र मात्रै १ हजार ७ सय किमि पाइपलाइन छ। सुरुवातमा पुराना पाइपलाइनबाट पानी वितरण गरिने खत्रीले बताए।

काठमाडौंमा १ लाख १० हजारभन्दा बढी नयाँ धारा जडान गरिएका छन्। २ लाख २५ हजार पुरानै धारा छन्। काठमाडौं उपत्यकामा दैनिक ४० करोड लिटर खानेपानीको माग छ। खानेपानी लिमिटेडका अनुसार हिउँदमा ८–९ करोड र वर्षामा १२–१३ करोड खानेपानी आपूर्ति हुँदै आएको छ।

२०५५ सालमा मेलम्ची खानेपानी विकास बोर्ड बनाएर काम अघि बढाइएको थियो। सुरुङ निर्माणको काम भने २०६५ सालदेखि भएको खत्रीले बताए। ‘बीचमा पूर्वाधारको काम भयो, सुरुङको काम २०६५ सालदेखि भएको हो’, उनले भने। मेलम्चीको सुरङ, हेडबक्स, सडकलगायतमा २९ अर्ब ५० करोड खर्च भएको छ। काठमाडौंको खानेपानीको माग पूरा गर्न यांग्री र लार्केबाट थप १७ करोड लिटर ल्याउने काम सुरु भएको उनले सुनाए।

यो समाचार आजको अन्नपूर्ण पाेष्ट दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.