DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जनरल चाल्र्स दे गाल : एक अध्ययन – ११


  • पुष २१, २०७८
  • 400 Views
दे गालको चिन्ता

बेलायत र अमेरिका उत्तर अफ्रिकामा पसेपछि दे गालले देशभित्र चलिरहेको प्रतिरोध सङ्घर्षसँग घनिष्ट सम्बन्ध राखे । पहिले उनी लडाइँ चर्काउन आनाकानी गर्दै थिए । अब उनले जोडतोडले प्रतिकार गर्न भने । कम्युनिस्टहरूबाहेक उनले सबैलाई एक ठाउँमा आउन भने । खासमा फ्रान्सेली प्रतिरोधको लागि सबैभन्दा ठूलो श्रेय कम्युनिस्टहरूलाई नै जान्थ्यो । त्यसैले उनले कम्युनिस्टहरूसँग सम्पर्कमा बस्न छोडेनन् ।

दे गालकै आग्रहमा सन् १९४३ जनवरीमा कम्युनिस्ट पार्टीका प्रतिनिधि फेर्नाँ ग्रेनिए लन्डन गए । ग्रेनिएले दे गालसँग प्रतिरोध सङ्घर्षका लागि हतियार र खर्चको आवश्यकता रहेको बताए । त्यो कुरा जनरल पासीसँग राख्नुपर्ने भन्दै दे गालले गिरौदलाई कम्युनिस्ट पार्टीले कसरी हेर्छ भनी सोधे । ग्रेनिएले तत्काललाई अल्जायर्समा दे गाल र गिरौदको अन्तरिम सरकार गठन गर्नुपर्ने र पछि फ्रान्सेली जनताले आफ्नो सरकार आफै बनाउने बताए ।

त्यसपछि हतारिँदै दे गालले सोधे, “के युद्धपछिको फ्रान्स कम्युनिस्ट बन्छ ?” ग्रेनिएको जवाफ थियो, “‘अहिले शत्रुहरूले मारिरहेका प्रत्येक व्यक्तिको लासमा एउटा नोट छोडिएको हुन्छ । त्यसमा कम्युनिस्ट लेखिएको हुन्छ । ती व्यक्तिहरू खानी मजदुर, रेलवे मजदुर र शिक्षकहरू हुन् । तीमध्ये कोही पनि उद्योगपति वा बैङ्कपति छैन । कामदार वर्गको यो निर्णायक भूमिका भविष्यमा गुञ्जिनेछ । हाम्रो विचारमा भविष्यको फ्रान्सेली गणतन्त्रले गहिरो राजनीतिक र सामाजिक सुधारहरू गर्नुपर्नेछ ।

तर, हाम्रो मुलुकलाई मुक्त गर्न आफूलाई एकजुट पारेका देशभक्तहरूले त्यो पुनः निर्माणमा नयाँ आधारमा एकजुट हुनुपर्नेछ भन्ने लाग्छ । जेहोस् यतिबेला हामीले भविष्यका समस्याहरूमा भन्दा पनि चालु सङ्घर्षमा ध्यान दिइरहेका छौँ ।”दे गाललाई भविष्यकै चिन्ता थियो । उनले कम्युनिस्ट खतरा देखिरहेका थिए । उनले युद्ध सकिनै लाग्दा कम्युनिस्ट पार्टीलाई किनार लगाउन पसिना बगाए । सोभियत सङ्घप्रतिको उनको सोच पनि फेरिँदै गयो ।

सन् १९४२ मा मस्कोको लडाइँबारे फूलबुट्टा भरेर बोलेका दे गाल स्तालिनग्रादको महान् विजयबारे चूँसम्म बोलेनन् । स्तालिनग्रादको विजयले फ्रान्सेली प्रतिकार समूहलाई ठूलो ऊर्जा र हौसला दियो । भिशे सत्ताका लाभालले हिटलरको गेस्टापोसँग मिलेर देशभक्तहरूमाथि दमनचक्र चलाए । यस्तो बेला दे गालले प्रतिरोध योद्धाहरूलाई विजयको निम्ति लड्न अपिल गरिरहे । आफ्ना यिनै गतिविधिले गर्दा दे गालले प्रतिरोध समूहहरूबाट मान्यता बटुल्दै गए ।

त्यसैले उनलाई फ्रान्सका वरिष्ठ राजनीतिज्ञहरूले समर्थन दिन थाले । भिशे सत्ताको जेलबाट उनलाई समर्थन आयो । प्रतिकार समूहको राष्ट्रिय आयोगको तर्फबाट मे महिनामा दे गाललाई अल्जेरियामा अन्तरिम सरकार बनाउने मागसहितको पत्र आयो । ज्याँ मौलीँको त्यो पत्रलाई केही समयसम्म बेलायत र अमेरिकाले दे गालको हातमा पर्न दिएनन् । आफूमाथि साङ्घातिक हमला हुने देखेर केही समय दे गाल घरबाहिर निस्केनन् ।

खेलभित्रको खेल
यस्तैमा अमेरिकाले आफ्ना कठपुतली गिरौदलाई पेताँ सरकारबाट अलग हुन आदेश दियो । गिरौदले अलि समय प्रजातन्त्रको पक्षमा भाषणहरू दिन थाले । अमेरिकाले दे गाललाई गिरौदको सरकार प्रमुख बनाउन खोजेको देखियो । तर, दे गाललाई दोस्रो दर्जामा बसाल्ने उसको नीति थियो । अमेरिकी कूटनीतिज्ञ र नेताहरूले त्यस उद्देश्यका कारण दे गाललाई गलाउन खोजेका थिए । तर, दे गालले पहिलेकै तरिका अपनाए, रुष्ट रुजवेल्टले चर्चिललाई दे गाललाई मडागास्करको गभर्नर बनाउनुपर्छ भनी पत्र लेखे ।

इटाली र जर्मनीविरुद्ध सैनिक कारबाही गर्न गिरौदलाई नै अगाडि राख्नुपर्छ भन्ने अमेरिकी तर्क ती देशहरूको पराजयसँगै काम लागेन । अन्तमा गिरौदले दे गाललाई नयाँ सत्तामा आउन आग्रह गरे । जनरल गिरौदलाई अमेरिकाको पूर्ण समर्थन थियो । उनीसित पुलिस, प्रशासन, प्रेस, रेडियो सबै थियो । उनको प्रशासनमा भिशे सत्ताका समर्थकहरू पनि थिए । उनीहरू दे लाललाई गन्दैनथे । दे गालसँग नैतिक बल मात्र थियो । यस्तैमा उनलाई अल्जेरिया बोलाइयो ।

अनेक जोखिम मोलेर दे गाल अल्जेरिया गए । त्यहाँ एउटा सम्मेलन डाकिएको थियो । सम्मेलनले दे गालको फ्रान्सेली राष्ट्रिय समिति र गिरौदको प्रशासनिक एवम् सैन्य कमान्डलाई गाभ्ने योजना बनायो । दे गाल र गिरौदसँग दुईदुई मत थियो । सम्मेलनको बीचमा गिरौदका समर्थक ज्या मोँने दे गालतिर ढल्के । सैन्य नेतृत्व प्रशासनिक नेतृत्वमातहत बस्नुपर्छ भन्दा मोँनेले दे गालको साथ दिए । दे गालले मोरक्को, पश्चिम अफ्रिका र अल्जेरियाका भिशे गभर्नरहरूको राजीनामा माग गरे ।

अल्जेरियाका गभर्नरको राजीनामासँगै दे गाल पुनः विजयी भए । यसको बदला लिन गिरौदले मुसेल्येलाई प्रहरी प्रमुख बनाए । सहरका सबै महत्वपूर्ण स्थान कब्जा गरेर मुसेल्येले दबाबको वातावरण सिर्जना गरे । दे गालले मौका पर्खिरहे । अन्तमा उनले चाहेझैँ राष्ट्रिय मुक्तिको फ्रान्सेली समिति गठन भयो । यसमा दे गालका मानिसहरूको प्रभाव बढ्यो । त्यसपछि भिशे गभर्नरहरूले फटाफट राजीनामा दिए । अन्तरिम सरकार बनाउने र पेताँको सत्ता भत्काउने उद्देश्य बनाइयो ।

दे गालको उदय
गिरौद दे गालमाथि हावी हुनु काकताली थिएन । धनाढ्यहरूका प्रतिनिधि मोँने दे गालतिर ढल्किनुपछाडि बलिया कारणहरू थिए । अल्जेरियामा अरबहरूलाई कुनै राजनीतिक अधिकार थिएन । उत्तरी अफ्रिकामा मात्र १५ लाख फ्रान्सेलीहरू बसोबास गर्थे । खास धनी जमिनदार, उद्योग, व्यापार र वित्तीय क्षेत्रका धनीमानी र उच्च अधिकारीहरूको हातमा थियो । उनीहरू आफ्नो स्वर्ग गुमाउन चाहन्नथे । त्यसैले सामाजिक परिवर्तनका उनीहरू विरोधी थिए ।

गिरौद आफूलाई अराजनीतिक भन्न रुचाउँथे । भन्नलाई उनले फ्रान्सको सुरक्षामा ३ लाख सेना उतार्ने धक्कु लगाएका थिए । तर, यो असम्भव थियो । अर्कोतिर गिरौद भिशे सत्ताको मान्छेको रूपमा बदनाम थिए । अमेरिकाको होमा हो मिलाउने उनले उत्तरी अफ्रिकामा अमेरिकी पुँजीपतिहरूको घुसपैठ रोक्न नसक्ने स्पष्ट थियो । त्यसैले धनाढ्यहरूका प्रतिनिधि मोँने गिरौदको साथ छोडेर दे गालतिर लागे । गिरौदलाई अमेरिका र बेलायतको साथ हुनाले मात्र दे गालले उनलाई एकैबाजी बढार्न सकेनन् ।

यिनै कारणले गर्दा सन् १९४३ को जून महिनामा दुईजना प्रमुखसहितको राष्ट्रिय मुक्तिको फ्रान्सेली समिति बन्यो । दुई टाउको सहितको समिति बनेपछि दे गाललाई गिरौदप्रति दया लाग्यो । गिरौदसँग नैतिक बल थिएन । त्यसैले दे गालले उनलाई मित्र बनाउन चाहे । यो कुरा नपचेकाहरूले भित्री खेल खेल्न खोजे । सम्मेलन चलिरहँदा चर्चिल र उनका विदेशमन्त्री इडन गोप्यरूपमा अल्जायर्समा बसेका थिए ।

उनीहरूले गिरौदलाई दबाब दिएमा दे गाललाई तह लगाउने सोचेका थिए । उनीहरूले दे गाललाई बोलाएर धेरै घुर्की देखाए । उनीहरूलाई नै देखाउन पनि दे गालले गिरौदलाई पन्छ्याएरै छोड्ने मन बनाए । जून ५ मा समितिका ७ सदस्यहरू थप सदस्य मनोनित गर्न र जिम्मेवारी बाँडफाँट गर्न जम्मा भए । यसमा ज्याँ मोँनेले एउटा चाल चले ।

गिरौदले चिन्दै नचिनेका व्यक्तिहरूलाई उनको तर्फबाट समितिमा राख्ने भन्दै मनोनयन गरियो । त्यसले गर्दा मर्भिल र रेने माएरजस्ता व्यक्ति समितिमा आए । उनीहरू दे गालका समर्थक बनिसकेका थिए । ३ दिनपछि दे गालले गिरौदलाई सेनाको निरीक्षकमा सीमित हुन भने । अमेरिकाले युरोपमा सैन्य कारबाही गर्ने निहुँ देखाएर कुनै पनि हालतमा पछि नहट्नू भनेको हुनाले गिरौदले मानेनन् ।

दे गाल पनि गलेनन् । उनले आफूले निर्णय गर्न नसक्ने स्थानमा बस्दिनँ भन्दै अड्डी लिए । अमेरिका र बेलायतले दे गाललाई विश्वास गर्दैनन् भनी एक अमेरिकी प्रतिनिधिले हाकाहाकी भने । दे गालले सैन्य कारबाहीमा भाँजो हालेको भनेर रुजवेल्टले चर्चिललाई पत्र लेखे । दे गाल मौकाको पर्खाइमा थिए । हतियार आपूर्तिको सम्झौता गर्न गिरौद अमेरिका गएर २३ दिन भुले । यसबीच दे गालले आफ्ना मान्छेहरू भरेर प्रशासनलाई आफ्नो हातमा ल्याए ।

जुलाई १४ मा भएको राष्ट्रिय दिवसको दिन दे गालको पक्षमा अल्जायर्समा जनसागर उर्लियो । गिरौद अब नाम मात्रका शासक भए । राष्ट्रिय मुक्ति समिति दे गालमय भयो । दुई महिनापछि गिरौद आफैले समिति छोडे । अगस्त २६ मा दे गाल नेतृत्वको समितिलाई शक्ति राष्ट्रहरूले मान्यता दिए । अमेरिकाले समितिलाई फ्रान्सका उपनिवेशहरूको प्रशासक भन्यो । बेलायतले युद्धमा फ्रान्सेली गतिविधि सञ्चालन गर्ने समिति भन्यो । सोभियत सङ्घले मात्र मन खोलेर सो समितिलाई सबै देशभक्त फ्रान्सेलीहरूको समिति भन्यो ।

अन्तर्राष्ट्रिय मञ्च
सोभियत सङ्घकै सदभावले गर्दा इटालीको समस्या समाधान गर्ने समितिमा दे गालको तर्फबाट एक फ्रान्सेली प्रतिनिधि राखियो । यो नै अन्तर्राष्ट्रिय मञ्चमा ‘युद्धरत फ्रान्स’ को पहिलो उपस्थिति थियो । यस्तैमा तेहरान सम्मेलन भयो । त्यसमा बेलायत र अमेरिकाले फ्रान्सलाई बोलाएनन् । अन्तर्राष्ट्रिय मञ्चमा मान्यता पाउन घरेलु समर्थन आवश्यक थियो । त्यसैले राष्ट्रिय मुक्ति समितिलाई समावेशी बनाउन दे गालले त्यसमा १६ जना सदस्य थपे ।

तिनमा पूर्व रेडिकल, समाजवादी, इसाई प्रजातन्त्रवादी र नरम दक्षिणपन्थीहरू थिए । यी सदस्यहरू ठूलो उद्योगपतिहरूसँग जोडिएका थिए । लडाइँको बेला उनीहरूले कहीँ न कहीँ शत्रुसँग साँठगाँठ गरेका थिए । प्रतिरोध सङ्घर्षको नेतृत्व गरेको र सङ्घर्षमा बेदाग रहेको कम्युनिस्ट पार्टी भने दे गालको रोजाइमा परेन । तर, पार्टीको लोकप्रियताले गर्दा दे गालले कम्युनिस्टहरूलाई पनि आफ्नो समितिमा आउन भने । यसको लागि दे गालले पार्टीका प्रतिनिधिहरू आफैले छान्ने बताए ।

यो कुरा कम्युनिस्ट सिद्धान्तविपरीत थियो । त्यसैले पार्टीले आफ्ना प्रतिनिधि पठाउन अस्वीकार ग¥यो । बाध्य भएर दे गालले कम्युनिस्टहरूलाई उनीहरूकै विधिअनुसार समितिमा आउन भने । सन् १९४३ अप्रिल ४ मा कम्युनिस्ट पार्टीको तर्फबाट फ्राँकोइ बिलक्स र फेर्नाँ ग्रेनिए समितिमा सामेल भए । दे गालले जानाजान उनीहरूलाई नाउँ मात्रको जिम्मेवारी दिए । कम्युनिस्टहरू सरकारमा गएपछि दे गालप्रति जनविश्वास बढ्यो ।

सोही वर्ष नोभेम्बरमा दे गालले अल्जायर्समा अन्तरिम सल्लाहकार सभा आयोजना गरे । संसद्प्रतिको अरूचिका कारण दे गालले त्यो सभाको अधिकार क्षेत्र साँघुरो पार्न अनेक प्रयास गरे । भिशे सरकारलाई सत्ताच्यूत गर्न र नयाँ राज्यको गठनका लागि राजनीतिक र सामाजिक सुधारसहितको ढाँचा तयार गर्नुपर्ने सभाको लक्ष्य तोकिएको थियो । सभाको उद्घाटन मन्तव्यमा दे गालले प्रतिरोध सङ्घर्षको भूमिकामाथि जोड दिए र प्रतिनिधित्वपूर्ण नयाँ सत्ताको गठन हुने बताए ।

सभाका झन्डै आधा बहसहरूमा दे गाल सहभागी भए । उनले जल्दाबल्दा विषयलाई सकेसम्म टारे । उनले खालि प्रतिरोध सङ्घर्ष र राष्ट्रिय एकतामाथि जोड दिए । खासमा उनी फ्रान्सले आफूलाई पछ्याउँछ भनी सबुत जुटाउन चाहन्थे । अनेक मतभेदहरू देखिए पनि सभाले राष्ट्रिय मुक्ति समितिलाई फ्रान्सेली सरकार भनी मान्यता दियो ।

भिशे सत्तालाई उखेल्नुपर्नेमा सभाका सबै सहभागीहरू सहमत थिए । तर, त्यसलाई केले विस्थापित गर्ने भन्ने विषयमा मतान्तर देखियो । प्रतिरोध सङ्घर्षमा आफूलाई खरो उतारेका प्रतिनिधिहरूले जनमुखी गणतन्त्र स्थापना गर्नुपर्नेमा जोड दिए । अरूले पुरानै तेस्रो गणतन्त्र पुनःबहाल गर्नुपर्ने बताए । यहाँ दे गाल आफ्नो वर्गको पक्षमा लागे । उनी आफूलाई सबैको हर्ताकर्ता देखाउन खोज्दै थिए । उनी इतिहास जनताले नभई नायकले बनाउँछ भन्ने खालका व्यक्ति थिए ।

उनी नायक जन्माउने जनताका कुरा सुन्न तयार भएनन् । भिशे सत्ताका सहयोगीहरूलाई के गर्ने भन्ने विषयमा अर्को मतान्तर देखियो । प्रतिकार समूहका सदस्यहरूले भिशे सत्ता र त्यसका सहयोगी सबैमाथि कारबाही भएको हेर्न चाहन्थे । दे गाल भने सत्तासीनहरूमाथि मात्र कारबाही गर्नुपर्ने अडानमा थिए । दे गाल आफै भिशे सत्ताका साझेदारहरूको वर्गबाट आएका थिए । भिशेहरूका सैद्धान्तिक गुरु दे गालका पनि गुरु थिए ।

अर्कोतिर बिस्तारै सेना, प्रशासन र न्याय क्षेत्रका भिशे सत्ताका साझेदारहरू कित्ता फेरेर दे गालतर्फ ढल्किरहेका थिए । दे गाल फ्रान्समा ‘सुव्यवस्था’ बहाल गर्न चाहन्थे र त्यसलाई कार्यान्वयन गर्नसक्ने संयन्त्र भिशे सत्तासँगै भएको उनले देखे । जर्मनीको प्रभुत्व स्विकार्ने र पेताँको ‘राष्ट्रिय क्रान्ति’ को पछि लाग्नेहरू दे गालतिर आए । उनीहरूले बुझे – दे गाल र पेताँको उद्देश्य एउटै थियो, खालि बाटो फरक थियो । उनीहरूको सङ्गतमा दे गाल बिस्तारै चरम दक्षिणपन्थतिर ढल्केको सभामा देखियो ।

कम्युनिस्ट प्रवाह
सभाले भविष्यको बारेमा सामान्य छलफल ग¥यो । सबैको मूल चासो प्रतिरोध सङ्घर्षमा थियो । सङ्घर्षलाई हतियार र खर्चको टड्कारो आवश्यकता थियो । सन् १९४३ सम्म कम्युनिस्टहरूले नेतृत्व गरेको एफटीपीएफ ९ँत्एँ० ले नै प्रतिरोध सङ्घर्षको बिँडो थामेको थियो । त्यसपछि अन्य समूहहरू देखिन थालेको थियो । तिनलाई दे गालले आफ्नो स्थान बलियो बनाउन प्रयोग पनि गरे । तर, सन् १९४३ को शरद याममा प्रतिरोध सङ्घर्षले दे गाललाई चिन्तित बनायो ।

जून महिनामा उनका गुप्त सेनाका कमान्डर जनरल देलेस्त्राँ पक्राउ परे । ज्याँ मौलीँलाई नाजीहरूले समातेर यातना दिई हत्या गरे । त्यसपछि दे गालले फ्रान्स पठाएका सबै दूतहरूको हत्या भयो । यसले गर्दा कम्युनिस्ट पार्टीहरूको प्रभाव बढ्यो र दे गाल चिन्तित भए । सैन्य समितिको नेतृत्व जोइँभिलले लिए । एफटीपीएफका प्रतिनिधि नै प्रतिरोधको राष्ट्रिय परिषद्मा निर्याणक भए ।

कम्युनिस्टहरूप्रति दे गाल सशङ्कित हुँदै गए । कम्युनिस्टहरू फ्रान्सलाई मुक्त बनाउन चाहन्थे र मुक्तियुद्धका सहयोद्धाहरूबीच फाटो नआओस् भन्ने उनीहरूको मूल चासो थियो । तर, उनीहरूले कोर्सिकालाई मुक्त गर्दा पनि दे गाल आत्तिए । उनका जर्नेलहरू पासी र सौस्तेल कम्युनिस्टविरोधी थिए । उनीहरूले अब कम्युनिस्टहरूलाई निस्तेज गर्न हतियार आपूर्ति नगर्नेसम्म सोच्न भ्याए । त्यस्तै, सन् १९४४ को मार्च महिनामा दे गालले कथित घरेलु फ्रान्सेली सेनाको नेतृत्वमा जनरल कोइनिगलाई ल्याए ।

कोइनिगलाई गुरिल्ला युद्धको दाउपेच थाहा थिएन । त्यसैले उनले लडाकूहरूको नेतृत्व गर्न सकेनन् । उनको कच्चा नेतृत्वले गर्दा धेरै सैनिकहरू अनाहकमा मारिए । प्रतिरोध सङ्घर्ष दे गालको हातबाट फुत्केपछि फ्रान्सेली जनताले आ–आफ्नै शैलीले जनयुद्ध गर्न थाले । युद्धको अन्त्यमा कम्युनिस्टहरूले सत्ता कब्जा गर्न खोज्नेछन् भन्ने दे गालको अनुमान थियो । यही दृश्य देखाएर उनले अमेरिकी र फ्रान्सेली पुँजीपतिहरूलाई आफ्नो पक्षमा ल्याउन खोजे ।

तर, तत्काललाई फ्रान्समा समाजवादी क्रान्ति गर्ने फ्रान्सेली कम्युनिस्ट पार्टीको योजना थिएन । देशलाई मुक्त गर्ने र फासीवादीहरूलाई हराउने उनीहरूको तत्कालको लक्ष्य थियो । उनीहरू प्रतिरोधको राष्ट्रिय परिषद्ले निर्धारित गरेको लक्ष्यप्रति प्रतिबद्ध थिए । परिषद्ले सन् १९४४ मार्च १५ मा एउटा कार्यक्रम तय गरेको थियो । सो कार्यक्रम अनुसार दे गालको नेतृत्वमा सरकार गठन गर्नुपर्ने थियो, पुँजीवादी गणतन्त्रलाई लोकतान्त्रिक बनाउनुपथ्र्यो, एकाधिकार पुँजीको हैकम सीमित गर्नुपथ्र्यो र सामाजिक सुधारका पाइलाहरू चाल्नुपथ्र्यो ।

कम्युनिस्टहरू कू गर्ने योजनामा थिएनन् । बरु, दे गालसँग धेरै योजना थिए । भित्री मनमा उनलाई कम्युनिस्टहरूले कू गर्ने छैनन् भन्ने थाहा थियो । उनलाई आफ्नो मुख्य शत्रु अमेरिका हो भन्ने थाहा थियो । तर, कम्युनिस्ट खतराको हौवा दिएर उनले शत्रुलाई दबाब दिन चाहे । यसबेलासम्म अमेरिकाले उनको सरकारलाई मान्यता दिएको थिएन ।

उनीहरूलाई खुसी पार्न उनले १७ जना क्षेत्रीय कमिस्नरहरू नियुक्त गरेर गुप्त रूपमा फ्रान्समा पस्न भने । मित्र शक्तिको सेना नआउँदासम्म ती अधिकारीहरूलाई उनले लुकेर बस्न भने । देश मुक्त हुँदाबित्तिकै उनीहरूलाई दिइएको मन्त्रालय, प्रशासन आदिको जिम्मेवारी सम्हाल्न उनीहरूलाई आदेश दिइएको थियो ।
प्रस्तुति : सुरेन  । मजदुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.