भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जसपासँग दाहालको प्रस्तावः सरकार र चुनावमा सहकार्य गरौं


  • चैत्र १, २०७७
  • 788 Views
जसपासँग दाहालको प्रस्तावः सरकार र चुनावमा सहकार्य गरौं image

काठमाण्डाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो।

जसपाका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेतालाई भेट्न पेरिसडाँडा पुगेका थिए। भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता साझेदारीको प्रस्ताव गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए। ‘नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाऔं भन्ने प्रस्ताव उहाँहरूले राख्नुभयो’, वार्तापछि यादवले भने, ‘नयाँ समीकरण बनाउने विषयमा छलफल गर्न उहाँहरूले हामीलाई बोलाउनुभएको हो।’

भेटवार्तामा माओवादी केन्द्रका नेताहरूले नयाँ सरकार बनाउने विषयमा मात्र नभई आगामी चुनावसम्म सहकार्य गर्न प्रस्ताव गरेको जसपाका नेताहरूले जनाएका छन्। ‘उहाँहरूले यो सहकार्य नयाँ सरकार बनाउन मात्र नभई आगामी चुनावसम्म गरौं भनी प्रस्ताव गर्नुभएको छ’, यादवले भने। यसबारे कुनै निष्कर्षमा भने नपुगिएको जसपाका नेताहरूले बताएका छन्। भेटमा रेशम चौधरीको रिहाइलगायत जसपाका अजेन्डाहरूमा पनि छलफल भएको थियो। भेट सकारात्मक भएको यादवले बताए। उनका अनुसार यस्तो भेटघाट र छलफल जारी रहनेछ।

सञ्चारकर्मीसँग कुरा गर्दै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले कुराकानी सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए। जसपाका अध्यक्षद्वय यादव र ठाकुरसहित पाँच शीर्ष नेता पेरिसडाँडा पुगेका थिए।

यसअघि शुक्रबार जसपाका शीर्ष नेताहरूले नयाँ सत्ता समीकरणबारे नेपाली कांग्रेसका नेताहरूसँग कुराकानी गरेका थिए। जसपाका नेताले बिहीबार प्रधानमन्त्री केपी ओलीसँग पनि यसै विषयमा कुराकानी गरेका थिए। जसपाका नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले पनि सत्ता साझेदारी गर्न प्रस्ताव गरेका छन्। ओलीसँगको भेटमा कुनै निष्कर्षमा नपुगिएको जसपाल अध्यक्ष यादवले बताए। अर्का अध्यक्ष ठाकुरनिकट नेतारूले भने प्रधानमन्त्री ओलीले ठाकुरलाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेको दाबी गरेका छन्। तर अध्यक्ष यादवले यस्तो प्रस्ताव नआएको दाबी गरे। ‘ठाकुरजीलाई प्रधानमन्त्री बन्न कहींबाट प्रस्ताव आएको छैन। बाहिर आएको हल्लामात्र हो’, यादवले भने, ‘यो यथार्थ होइन।’

स्रोतका अनुसार जसपालाई अहिले एमाले र माओवादी केन्द्र दुवैतिरबाट सत्ता साझेदारीको प्रस्ताव आएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले छुट्टाछुट्टै रूपमा यस्तो प्रस्ताव गरेका छन्। यसैगरी नेपाली कांग्रेसका नेताहरूले पनि यस विषयमा जसपाका नेताहरूसँ कुराकानी जारी राखेका छन्। जसपाका नेताहरू भने कुन पक्षसँग सत्ता साझेदारी गर्ने भन्ने विषयमा दुई धारमा बाँडिएका छन। बाबुराम भट्टराई, अध्यक्ष यादवलगायत केही नेता माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष ठाकुर, राजेन्द्र महतोलगायतका नेता ओलीसँग निकट देखिएका छन्। गत वर्ष तत्कालीन समाजवादी पार्टी फुटाउन अग्रसर देखिएका प्रदीप यादव, इस्तिायक राई, विमल श्रीवास्तवलगायतका नेता पनि ओलीसँग मिलेर सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन्।

प्रतिनिधिसभामा जसपाको ३४ सिट छ। जसमध्ये हरिनारायण रौनियार र रेशम चौधरी हाल निलम्बनमा छन्। एमाले र जसपा मिलेमा नयाँ सरकार बन्न बहुमत पुग्छ तर माओवादी केन्द्र र जसपामात्र मिलेमा बहुमत पुग्दैन। त्यसमा नेपाली कांग्रेसको सहयोग पनि चाहिन्छ।

यो समाचार आजका नागरिक दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.