भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ठेकेदार खोज्दै प्रशासनमा धर्ना


  • जेष्ठ १०, २०८०
  • 235 Views
ठेकेदार खोज्दै प्रशासनमा धर्ना image

गोरखा । मध्यपहाडी लोकमार्गअन्तर्गत मसानेठाटी–ठाँटीपोखरी खण्ड निर्माणको काम अघि बढाउन दबाब दिँदै स्थानीयवासीले मंगलबार जिल्ला प्रशासनमा धर्ना दिएका छन् । ठेकेदार खोज्दै आएका उनीहरूले मसानेठाँटी–लुइँटेल–ठाँटीपोखरी सडकको काम छिटो हुनुपर्ने माग गर्दै नाराबाजी गरे ।

१६ किलोमिटर सडकखण्ड पछिल्लो पटक ठेक्का लागेको ३ वर्षमा ३० प्रतिशतभन्दा बढी काम भएको छैन । ‘६ वर्ष भयो, घाँसपात, पानीपँधेरो, भान्सामा धुलोमाटो लतपतियो, पुरानो हिँडिरहेको ह्युमपाइप फालेर नयाँ बनाउने भने, अहिले नयाँ बाटो बनेन, पुरानो बाटो भत्काइदिए,’ पालुङटार–१ भुलभुलेखारकी इन्दिरा देवकोटाले भनिन्, ‘ठेकेदारको चरम लापरबाही भयो । मूल ठेकेदारको मुख नै देख्न पाएका छैनौं, पेटी ठेकेदार भन्ने हुँदोरहेछ, ती पनि काममा छैनन् ।’ सडकमा धुलो उडेर बसिसाध्य नभएको उनले बताइन् ।

उक्त सडकमा ढुंगा र गिट्टी बीचमा थुपारेर अलपत्र छाडिएको छ । ठेकेदारले ज्याला नदिँदा कामदारलाई घर जाने गाडीभाडा आफूहरूले जोहो गरेर पठाउनुपरेको दुखेसो देवकोटाको छ । ‘ज्याला नपाएपछि कामदारले पसलमा पैसा तिर्न सकेका छैनन्, कति दिनसम्म काम गरेको पैसा नपाउँदा कामदार त्यसै फर्किएका छन्,’ उनले भनिन्, ‘ज्याला नपाएका कामदारलाई हामीले खाना खुवाउनुपर्ने स्थिति छ ।’ जभाभावी निर्माण सामग्री थुपार्ने तर काम नहुँदा नालामा पानी नबगेर सडक हिलाम्मे बन्ने गरेको पालुङटारका कमल पोखरेलले बताए ।

‘चार लेनको बाटो बन्ने भन्या छ, आशा गर्‍यौं तर एक–दुई वर्ष होइन, कहिलेसम्म हेर्ने यो अवस्था ?,’ उनले भने, ‘धुलोले अत्तालिएका छौं, अब बर्खा लाग्न थाल्यो, एम्बुलेन्स पनि हिँड्न सक्दैन, यसको जिम्मेवारी कसले लिने रु’ ठेकेदारलाई निर्माणस्थलमा तुरुन्त उपस्थित गराउनुपर्ने पालुङटार–४ लुइँटेलका कालिकाप्रसाद सोडारीले माग गरे । सडक निर्माणलाई तीव्रता दिन माग गर्दै यसअघि पनि पटकपटक ठेकेदारका प्रतिनिधिलाई स्थानीयले सचेत गराएका थिए । ‘क्वालिटीको काम गर्दैनन्, कामदारको रासनपानीको पैसा पनि तिर्दैनन्,’ सोडारीले भने ।

ठेकेदारले काम नगर्दा जनप्रतिनिधि र नगरपालिकालाई समेत अप्ठ्यारो भएको पालुङटार–४ की वडा सदस्य सीता सेन्चुरीले बताइन् । ‘ठेक्का नलाग्दासम्म नगरपालिकाले अप्ठ्यारो ठाउँमा ग्राभेल राख्थ्यो, अहिले ठेक्का लागिसकेपछि डुप्लिकेसन हुँदो रहेछ । नगरपालिकाले गर्न मिलेन, प्रश्न नगरपालिका, वडातिर पनि आउँछ ठेकेदार काम नै गर्दैनन्,’ उनले भनिन् । निर्माण सुरु भएको चार वर्षमा म्याद थपबाहेक फिल्डमा काम हुन नसकेको गण्डकी प्रदेशका पूर्वसांसद हरिशरण आचार्यले बताए । ‘यस्तो अप्ठ्यारो कहिलेसम्म बेहोर्ने ? ठेकेदारसँग कुरा गरेर सडक छिटो बनाइनुपर्छ,’ उनले भने ।

मध्यपहाडी लोकमार्गअन्तर्गत मसानेठाँटी–ठाँटीपोखरी सडक निर्माणको ठेक्का हिमदुङ प्यासेफिक जेभीले पाएको छ । २०७७ असार २६ मा ठेक्का सम्झौता गरेको कम्पनीले काम सम्पन्न नगरेपछि २०८० असार २६ सम्म म्याद थप भएको छ । हालसम्म कामको प्रगति ३० प्रतिशतबाट अघि नबढेको मध्यपहाडी लोकमार्ग पालुङटार कार्यालयका सूचना अधिकारी विदुर सुवेदीले बताए । ‘लिखित र मौखिम ताकेता गरेका छौं । काम चटक्कै छाडेको छैन, गरेको पनि छैन,’ उनले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.