DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दोलखामा थप ३ वटा जलविद्युत आयोजना निर्माण हुने


  • असार ३, २०८०
  • 292 Views
दोलखामा थप ३ वटा जलविद्युत आयोजना निर्माण हुने image

दोलखा । जलविद्युत आयोजनाको हवको रुपमा स्थापित दोलखाका दुई पालिका विगु र गौरीशंकरमा थप तीन वटा जलविद्युत आयोजना निर्माण हुने भएका छन् । विगु गाउँपालिकामा दुई वटा र गौरीशंकर गाउँपालिकामा एउटा जलविद्युत आयोजना थप हुने भएको हो । विगुमा ९९ दशमलव ८ मेगावट र ४० मेगावटको लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा गौरीशंकरमा ६ दशमलव २ मेगावटको लोवर खानी–बी आयोजना निर्माण हुने भएको छ ।

गौरीशंकरमा कोप्लाङ इनर्जी हाइड्रोपावर प्रालिले २०८३ साल पौषबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने गरी लोवर खानी–बी जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । प्रस्तावित आयोजनाले गौरीशंकर गाउँपालिका भएर बग्ने खानी खोलाको पानी उपयोग गर्नेछ । आयोजनाबाट वार्षिक सरदर ३६ दशमलव ४३ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाको मुख्य संरचनाहरु खानी खोलाको बायाँ किनारमा पर्दछन् । विद्युत उत्पादनपछि टेलरेस क्यानलमार्फत खानी खोलामा पठाइनेछ । उत्पादित विद्युतलाई १८ किलोमिटर लम्बाइमा रहेको नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । विगु गाउँपालिकामा निर्माण हुने तामाकोशी ५ जलविद्युत आयोजनालाई दुई भागमा निर्माण गर्न लागिएको छ । पहिलो भागमा सिभिल संरचना र हाइड्रोमेकानिकलको काम गर्न लागिएको हो । दोस्रोमा इलेक्ट्रोमेकानिकलको काम हुनेछ ।

उत्पादित विद्युतलाइ राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न प्रसारणलाइन निर्माण हुनेछ । आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले पाएको छ । सो आयोजनाका लागि करिब ८ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । त्यसको पावर हाउस सुरीदोभानमा निर्माण हुनेछ । सो आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

तामाकोशी–५ संघीय सरकारको समेत प्राथमिकतामा परेको आयोजना हो । केही समय अघि मात्रै बजेट प्रस्तुत गर्ने क्रममा संघीय सरकारले आगामी आर्थिक वर्षदेखि सो आयोजनाको निर्माण कार्य धमाधम अघि बढाउने जनाएको थियो । यस्तै, आगामी तीन वर्षमा व्यवसायिक उत्पादन सुरु गर्ने गरी विगु गाउँपालिका वडा नम्बर १ स्थित लाप्चे खोलामा ४० मेगावटको लाप्चे–तामाकोशी अर्थ–जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुन लागेको छ । डायनामिक हाइड्रो इनर्जी प्रालिले निर्माण गर्न लागेको अर्ध–जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन समेत भइसकेको छ ।

जसअनुसार १९ सय ९७ मिटर मुख्य सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । विद्युत उत्पादनपछि २ सय ६६ मिटरको टेलरेस टनेल निर्माण गरेर पानीलाई पुनः लाप्चे खोलामा नै फर्काइनेछ । उत्पादित विद्युतलाई १ सय ३२ केभी ४४ किलोमिटर प्रसारणलाइन निर्माण गरेर आयोजनाको स्वीचयार्डदेखि बाह्रबिसे सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

हाल दोलखाको उत्तरी क्षेत्रमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना, अपर तामाकोशी रोल्वालिङ खोला जलविद्युत आयोजना, लप्चीखोला जलविद्युत आयोजना, मकर जितुमाया जलविद्युत आयोजना, अपर लोहोरे खोला जलविद्युत आयोजना र सिंटगी जलविद्युत लगायतका थुप्रै आयोजनाहरु रहेका छन् । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.