भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नयाँ राष्ट्रपति २५ फागुनभित्रै


  • पुष २२, २०७९
  • 310 Views
नयाँ राष्ट्रपति २५ फागुनभित्रै image

काठमाडौं । निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगको तयारीअनुसार २५ फागुनभित्रै मुलुकले नयाँ राष्ट्रपति पाउने भएको छ । आयोगले राष्ट्रियसभामा रिक्त एक सदस्य पदको निर्वाचन २५ माघमा गर्ने र त्यसपछि राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको हो । राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आयोगले रिक्त स्थानमा उपनिर्वाचन गरेपछि राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी गरेको हो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २ सय ७५ सदस्य, राष्ट्रियसभाका ५९ सदस्य र र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कूल ८८४ जना मतदाता हुन्छन् ।

मतदाता नामावली संकलन गर्दै आयोग

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ढिलामा २५ फागुनभित्रै आयोगले राष्ट्रपति निर्वाचन गर्नेगरी काम गरिरहेको जानकारी दिए । ‘२५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी आयोगले काम गरिरहेको छ, पहिले राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वाचन हुन्छ, त्यसपछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने, ‘आयोगले अहिले मतदाता नामावली संकलनको काम गरिरहेको छ ।’ आयोगले राष्ट्रपति निर्वाचन सकिएपछि उपराष्ट्रपति पदको निर्वाचन गर्नेसमेत स्पष्ट पारेको छ ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फरक–फरक मितिमा गर्नुपर्ने उल्लेख छ । व्यवस्थानुसार राष्ट्रपति निर्वाचन सम्पन्न भएको १५ दिनभित्र उपराष्ट्रपति निर्वाचन गर्नुपर्छ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा पर्दै आइरहेको छ ।

ती प्राविधिक विषयलाई मिलाएर आयोगले निर्वाचन गर्नेगरी रणनीति बनाएको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी २९ फागुनमा सकिँदै छ । यस्तै, उपराष्ट्रपतिको पदावधि ९ चैतमा सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ । आयोगले संविधानमा नै राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि पाँच वर्ष तोकिएकाले पदावधि कायम रहँदा नै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथका विषयमा अन्योल देख्दै आएको हो ।

सो विषयमा आयोगले गत १८ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारका मन्त्रीहरूसँग छलफल गरेको थियो । देशको पहिलो राष्ट्रपतिमा डा। रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए । यस्तै, तेस्रो पटकसमेत २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुन नै दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुन र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो ।

राष्ट्रियसभामा एक पद रिक्त उपनिर्वाचन २५ माघमा
सरकारले राष्ट्रियसभामा रिक्त रहेको एक स्थानमा २५ माघमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रियसभाको एक सिटमा २५ माघमा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रियसभामा एक सदस्य पद रिक्त रहँदै आएको छ । उनी लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । २३ असोजमा उनको राजीनामा स्वीकृत भएको थियो । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.