DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्त्रीको ध्यान मोर्चा विस्तारतर्फ


  • असार २४, २०८०
  • 250 Views
प्रधानमन्त्रीको ध्यान मोर्चा विस्तारतर्फ image

काठमाडौँ । एमालेसहित विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध पारिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल भने समाजवादी मोर्चालाई बलियो बनाउनतर्फ लागेका छन् । बिहीबार सत्तारूढ गठबन्धनको बैठक राखेर राजीनामा नदिने र संसद् फेस गर्ने निर्णय गराएका प्रधानमन्त्रीले शनिबार मोर्चाको बैठक राखेर त्यसलाई प्रदेश तहसम्म लैजाने निर्णय गराएका छन् ।

विपक्षी दलहरूको अवरोधका कारण बुधबारदेखि संसद् बैठक बस्न सकेको छैन । मिटरब्याजपीडितलाई न्याय दिने कानुन शून्य अवस्थामा पुगेको छ तर दाहाल संसद् अवरोध खुलाउन पहल गर्नुको साटो सत्ता गठबन्धनभित्रै बनेको मोर्चालाई थप सक्रिय बनाउनतिर लागेका छन् । सभामुख देवराज घिमिरेले गतिरोध अन्त्य नभएसम्मका लागि संसद् बैठक नराख्ने बताएका छन् । एमालेले प्रधानमन्त्री दाहालले संवाद गर्न नखोजेको बताएको छ । एमाले र राप्रपाले प्रधानमन्त्रीको राजीनामा मागेका छन् भने अर्को विपक्षी दल रास्वपाले दाहालको जवाफ खोजेको छ ।

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन एक व्यापारी पटक–पटक भारतमा पुगेर प्रयास गरेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन् । विपक्षी दलले बुधबार बैठक सुरु हुनेबित्तिकै त्यो अभिव्यक्तिको विरोध गरेका थिए । सभामुख घिमिरेले बिहीबारसम्मका लागि पहिले स्थगित गरेको बैठकलाई शुक्रबारसम्म सारेका थिए । शुक्रबार पनि बैठक नराखी आइतबारलाई सारेका छन् ।

गठनको तीन सातापछि शनिबार पहिलो औपचारिक बैठक गरेको मोर्चाले आफ्ना गतिविधि विस्तार गर्ने प्रयास गरेको छ । माओवादी, जसपा, एकीकृत समाजवादी र नेकपा सम्मिलित मोर्चाले नीति तथा कार्यक्रमका लागि कार्यदल, ६ महिनाका लागि संयोजक र प्रदेशस्तरमा कार्यक्रम गर्ने घोषणा गरेको छ । शनिबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको मोर्चाको पहिलो बैठकले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई संयोजक तोकेको छ । प्रदेशमा मोर्चा गठनको विषयमा सन्देश दिन प्रदेशस्तरमा कार्यक्रम गर्ने निर्णय गरेको छ र नीति, कार्यक्रम तथा आचारसंहिता निर्माणका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

बैठकमा संलग्न एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जिल्ला तहसम्म मोर्चाको संयन्त्र गठन गर्ने तयारी रहेको बताए । ‘अहिले हामी प्रदेशस्तरसम्म जान्छौं, आगामी २७ गते मोर्चाको दोस्रो बैठक बस्छ, त्यसले प्रदेशस्तरमा राजधानीहरूमा सन्देशसभाको मिति घोषणा गर्छ,’ उपाध्यक्ष पाण्डेले भने, ‘सन्देशसभामै मोर्चाको प्रदेश संयन्त्रको घोषणा हुनेछ । आवश्यकताअनुसार जिल्ला तहसम्म पुर्‍याउँछौं ।’ मोर्चाको अध्यक्ष ६–६ महिनामा परिवर्तन गर्ने सहमति भएको उनले बताए ।

बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । माओवादीका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा कार्यदलमा रहेको उपाध्यक्ष पाण्डेले बताए । कार्यदलले २७ गते बस्ने बैठकमा प्रतिवेदन पेस गर्नेछ ।

प्रतिनिधिसभामा मोर्चाका ५४ सांसद छन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । पहिलो दल कांग्रेस र दोस्रो दल एमाले नमिलेको अवस्थामा मोर्चालाई बाहिर राखेर सरकार गठन हुन सक्दैन । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.