DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा नीति तथा कार्यक्रमको जवाफ दिने


  • जेष्ठ ९, २०८०
  • 176 Views
प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा नीति तथा कार्यक्रमको जवाफ दिने image

काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ। आज प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि तीन दिन उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल भएको थियो। बैठक दिउँसो १ बजे बस्दै छ।

प्रधानमन्त्री प्रचण्डले आज जवाफ दिएपछि राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ। प्रतिनिधिसभामा भने नीति तथा कार्यक्रममाथि छलफल जारी छ। राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसद सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष भएको र प्रतिपक्षका सांसदले सामयिक नभएको दाबी गरेका छन्।

आजको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद सुमित्रा बिसीले असामान्य अवस्थामा सामान्य जस्तो गरी नीति तथा कार्यक्रम आएको बताए।

सांसद हरिराम चौधरीले आत्मनिर्भर हुने गरी बजेट व्यवस्था गर्न माग गरेका छन्। सांसदद्वय भगवती न्यौपाने र इन्दिरादेवी गौतमले समसामयिक अवस्थालाई सम्बोधन हुने गरी सरकारको नीति तथा कार्यक्रम आउन नसकेको टिप्पणी गरे।

सांसद कृष्णप्रसाद पौडेलले युवा पलायनलाई रोक्ने गरी नीति तथा कार्यक्रम अनुसारको बजेट व्यवस्था गरिनुपर्नेमा जोड दिए। कुल ५९ दशमलव नौ लाख हेक्टटर कृषियोग्य जमिनमध्ये १० लाख हेक्टर बाँझै रहेकाले त्यसमा खेती हुने व्यवस्था गरे आयात प्रतिस्थापन गर्न सकिने उनको भनाइ थियो।

सांसद तारामान स्वाँरले अर्थतन्त्रको समस्या बुझेर समाधान गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए। सांसद जगतबहादुर कार्कीले पर्यटन प्रवद्र्धनबाट नै नेपालको कायापलट हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

राष्ट्रियसभाको अर्को बैठक जेठ ९ गते मङ्गलबार दिउँसो १ बजे र १ मिनेटमा बस्नेछ। यो समाचार नागरिक दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.