काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको कार्यकाल पूरा गरेर नवीन घिमिरे बिदा भइसकेका छन् । उनी जसरी बिदा भए, वास्तवमा भन्नु पर्दा उनको बिदाइ त्यति सुखद बन्न सकेन । अख्तियार प्रमुखको कार्यकाल उनको जीवनकालकै करिअरमा दुःखद् बन्न पुगेको छ । विगतका प्रमुखभन्दा अलि फरक बनेर निस्कन्छन् भन्ने आममानिसका सोचाइलाई उनले गलत प्रमाणित गरिदिएका छन् ।
उनको कार्यकाल अरूको भन्दा तात्विक फरक भएन । किनकि, यसअघिका प्रमुखले जे गरेका थिए उनले त्यही काम गरे । उनको कार्यकालमा अख्तियारको इतिहासमै विशेष अदालतमा धेरै मुद्दा दर्ताको रेकर्ड कायम भयो । जसलाई उनले आफ्नो ठूलो सफलताको रूपमा लिएका छन् । मुद्दा दर्ताको रेकर्ड कायम त भयो तर उनले आफ्नो अब्बलतलाई राम्रोसँग प्रयोग गर्न सकेनन् ।
प्रशासनमा लामो अनुभव र त्यसमा अब्बल नवीन घिमिरे अख्तियार प्रवेश गर्नुअघि राम्रो च्यासिस थिए । जुन च्यासिसले विषाक्त धुवाँ फाल्दैन भन्ने थियो । तर, राम्रो काम गर्न सकेन । यसअघिका प्रमुखले जसरी विषाक्त धुवाँ फालेका थिए त्यस्तै धुवाँ उनले उडाए । यसअघि पनि प्रमुख भएर लोकमानसिंह कार्की र दीप बस्न्यात बिदा भएकै हुन् ।
१ हजार रुपैयाँ लिएको आरोपमा पियनलाई महिनौं थुनेर विशेष अदालतमा मुद्दा दर्ता गर्दै गर्दा उनले अर्बौ रुपैयाँको भ्रष्टाचारको फाइल खोल्नै चाहेनन् । उनीहरूले पनि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गरेकै थिए । घिमिरेले पनि त्यही मुद्दा दर्ता गरे । पहिलाको तुलनामा धेरै मुद्दा दर्ता गरेर रेकर्ड बनाए, घिमिरे त्यसमै दंग छन् । कार्की र बस्न्यात जसरी बिदा भएर अहिले पनि मख्ख छन् ।
उनीहरू आफूले गरेको कर्ममा प्रफुल्लित नै छन् । किनकि उनीहरूमा लोभ र लाच पचाउन सक्ने शक्ति रहेछ । यसअघिका दुई प्रमुखको विगत देखेकैले होला घिमिरेले आफ्नो ४५ वर्षको जीवनकालमा कुनै दाग नलागेको र प्रमुख आयुक्त हुँदा पनि दाग लाग्ने नदिने बाचा गरेका थिए । तत्कालीन एमालेको कोटामा १९ चैत २०७१ मा आयुक्तमा नियुक्ति भएका उनले आफ्नो कोटमा कालो दाग लाग्न नदिने बाचा कति पूरा गरे उनले आफैलाई हेरेर समीक्षा गरेनन् ।
नविन घिमिरे भ्रष्टाचारको अभिषप्त दलदलमा यसरी हेलिए कि जुन दलदलबाट उठ्नै सकेनन् । ४५ वर्षको सरकारी सेवामा अब्बल कर्मचारी भएर बनाएको राम्रो छवी मात्रै गुमेन कलंकको दाग पनि बोके । एक हजार रुपैयाँ घुस लिएको प्रमाणित गर्न नसकेको उनको अख्तियारले ठूलो भ्रष्टाचार देखेन । बरु अनुसन्धान गरेर मुद्दा दर्ता गर्नुभन्दा तामेलीमा राखे । यसो हुनुमा घिमिरेले राजनीतिक उपसानामा ध्यान केन्द्रित गरे । उनले अधिकृत भएर लगाउने रेजा अख्तियारको प्रमुख भएर कोरोना महामारीको ठूलो संकटमा भएको भ्रष्टाचारमा लगाउन सकेनन् । राजधानी दैनिकबाट…
