DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भारतीय नागरिक परीक्षण नगरी निर्वाध नेपाल भित्रिँदै


  • पुष २९, २०७८
  • 438 Views
भारतीय नागरिक परीक्षण नगरी निर्वाध नेपाल भित्रिँदै image

बाँके । माघेसंक्रान्तिका वेला लाग्ने मेलामा सहभागी हुन भन्दै भारतीय नागरिक खुलेआम नेपाल प्रवेश गरिरहेका छन् । कोरोना परीक्षण नगरी भारतीय नागरिक नेपाल प्रवेश गर्दा थप जोखिम बढेको छ । माघे संक्रान्तिका वेला प्युठानको स्वर्गद्वारी, दाङको रिहार र बाँकेको भुवरभवानीको दर्शन गर्न तथा मेला भर्न हजारौँ भारतीय नागरिक नेपाल आउने गरेका छन् । दैनिक ६–७ हजार भारतीय जमुनाह नाका भएर आउने गरेको इलाका प्रहरी कार्यालयका इन्चार्ज सइ मीनबहादुर विष्टले जानकारी दिए ।

उनले दर्शनका लागि र मेला भर्न आउने भारतीयको कोरोना परीक्षण गर्न सम्भव नभएको बताए । ‘माघे संक्रान्तिका वेला दर्शन र मेला भर्न आउने भारतीयको कोरोना परीक्षण गर्ने हो भने जमुनाह नाकामा भिड थेग्न सकिँदैन,’ उनले भने । भारतीय नागरिक जमुनाह नाकाबाट बस चढेर सीधै स्वर्गद्वारी र रिहार पुग्ने गरेका छन् । उनीहरूका लागि जमुनाहमै बस व्यवस्था गरिएको सइ विष्टले बताए । ‘कोरोना संक्रमण फैलिन नदिन दर्शनार्थीलाई बसमा राखेर सीधै गन्तव्यमा पुर्‍याउने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

उनीहरू मेलामा खुलेआम हिँड्डुल गर्नेछन् छन् । यसले मन्दिर परिसरमा आउने नेपालीलाई कोरोना संक्रमण हुने खतरा छ । ‘बाटोमा कोरोना फैलाउने खतरा नभए पनि मन्दिरपरिसरमा लाग्ने मेला र दर्शनार्थीलाई कोरोना सार्न सक्ने सम्भावना अधिक छ,’ जमुनाह नाकास्थित हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले भने ।

एन्टिजेन पजिटिभ आउने भारतीयलाई नाकाबाटै फर्काइँदै

महोत्तरीर भारतीय सहर मधुवनी, दरभंगा, सीतामढी र मुजफ्फरपुरलगायतका क्षेत्रमा कोरोना बढ्न थालेपछि महोत्तरीको सीमानाकामा चेकजाँचमा कडाइ गरिएको छ । महोत्तरीको मुख्य नाका मलिवारा भिठामोडमा स्वास्थ्य कार्यालयको तर्फबाट राखिएको हेल्थ डेस्कमा भारतबाट आउने शंकास्पद पैदलयात्री र सवारीमा आएका पर्यटक र मालबाहक सवारीमा रहेका सम्पूर्णको एन्टिजेन परीक्षण गर्न थालिएको छ ।

एक सातायता एन्टिजेन परीक्षणलाई प्राथमिकतामा राखिएपछि भारतको राजस्थानलगायतका विभिन्न प्रदेशबाट आएका धार्मिक पर्यटक बोकेका केही सवारीसाधन फिर्ता पठाइएको छ । २५ पुसमा ९३ जनाको एन्टिजेन परीक्षण गर्दा १४, २६ गते ८८ जनाको परीक्षण गर्दा नौ र २७ गते ३० जनाको परीक्षण गर्दा दुईजनामा पजिटिभ देखिएपछि सबैलाई फिर्ता पठाइएको छ ।

एकजना नेपालकै नागरिक रहेकोमा उनलाई घरमा आइसोलेट भएर बस्न तथा पिसिआर परीक्षण गराउन भन्दै घर पठाइएको हेल्थ डेस्कले जनाएको छ । दुई दिनमा एन्टिजेन परीक्षणमा पजिटिभ आएकामध्ये पर्यटक बोकेको ६ वटा बस र चारपांग्रे एक हलुका सवारी फिर्ता पठाइसकिएको छ । नाकामा एन्टिजेन परीक्षण तीव्र पारिए पनि खुला सीमाका कारण सबैको परीक्षण सम्भव नरहेको साथै होल्डिङ सेन्टरको अभाव हुँदा शंकास्पदलाई राख्ने ठाउँसमेत नभएको हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले नाकाहरूमा थप हेल्थ डेस्क राख्न पहल गरिरहेको बताए । उनले नाकामा कडाइ गर्दै कोरोनाविरुद्धको खोप बढीभन्दा बढी मानिसलाई लगाउन ध्यानकेन्द्रित गरेको जानकारी दिए । कोरोना न्यूनीकरणका लागि जलेश्वरस्थित प्रादेशिक अस्पताललाई समेत अक्सिजन प्लान्टसहित तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

भारतबाट फर्केका नेपाली परीक्षणविनै गाउँमा

धनगढीर सुदूरपश्चिममा भारतबाट फर्कनेहरूमा कोरोना संक्रमण देखिने दर बढेको छ । प्रमुख दुई नाका गड्डाचौकी र त्रिनगर नाकामा गरिने परीक्षणमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । गड्डाचौकी नाकामा बुधबार एक सय चार र त्रिनगर नाकामा ६२ जनामा संक्रमण देखिएको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो एक सातामा सुदूरपश्चिममा सात सय २२ संक्रमित थपिएका छन् । तीमध्ये नाकामा गरिएको परीक्षणमा भारतबाट आएका पाँच सय ३० जना रहेका निर्देशनालयले जनाएको छ ।

बुधबार मात्रै सुदूरपश्चिममा सात सय ५५ जनाको परीक्षण गर्दा दुई सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । अधिकांश संक्रमित भारतबाट फर्केका छन् । भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि रोजगारीका लागि भारत गएकाहरू त्रासले स्वदेश फर्कन थालेका छन् । यहाँका विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिममा कोरोना संक्रमण समुदायस्तरमा उच्च हुने खतरा बढेको छ । फर्कनेमध्ये कैयौँ व्यक्ति परीक्षण नगराई घरतर्फ गइरहेकाले संक्रमण समुदायमा फैलिने खतरा बढेको हो ।

‘अहिले संक्रमित देखिएका ९० प्रतिशतभन्दा बढी भारतबाट फर्केकाहरू छन्,’ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ओमप्रकाश जोशीले भने, ‘नाकामा सबैको चेकजाँच गर्ने र फर्केकालाई केही दिन क्वारेन्टिनमा नराख्ने हो भने समुदायस्तरमा संक्रमण फैलिने जोखिम छ ।’

भारतबाट आउनेको व्यवस्थापनमा समस्या
भारतबाट फर्किनेको लर्को लागेपछि नाकामा परीक्षण गर्न र पजिटिभ देखिएकालाई व्यवस्थापन गर्नसमेत समस्या भइरहेको छ । नाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेनबाट कोरोना परीक्षण भइरहेको छ । तर, भिड बढेकाले भारतबाट आउने सबैको परीक्षण हुन सकेको छैन । खुला सीमाना भएकाले लुकिछिपी आउनेको संख्या पनि उत्तिकै छ । नाकामा गर्ने परीक्षणमा संक्रमित बढेपछि धनगढी र महेन्द्रनगरका आइसोलेसन केन्द्रहरू भरिन थालेका छन् ।

गड्डाचौकी र त्रिनगर नाकामा अहिले परीक्षणमा केही कडाइ गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रमुख नाकाहरूमा परीक्षणको दायरा बढाइएको बताए । सकेसम्म भारतबाट फर्किरहेका सबैको परीक्षण गरिरहेको उनले बताए । ‘सुरुको अवधिमा संक्रमण नदेखिन सक्ने भएकाले नाकामा नेगेटिभ आयो भनेर ढुक्क हुने अवस्था छैन । घरमा गएर कम्तीमा १० दिन अलग बस्न आग्रह गरिरहेका छौँ,’ प्रवक्ता कार्कीले भने, ‘परिवारमा संक्रमण फैलन नदिन व्यक्ति आफू पनि सचेत हुनुपर्‍यो ।’

त्रिनगर नाकामा पजिटिभ देखिएकालाई धनगढी उपमहानगरपालिका–१५, बेलीस्थित आइसोलेसनमा लग्ने गरिएको छ । घरमै आइसोलेसनमा बस्न चाहने व्यक्तिलाई सम्बन्धित वडाको सिफारिसमा घर जान दिने गरिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । नयाँ पत्रिका दैनिकबाट ……

 


Thali Mobile Pvt.Ltd.