DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मानव तस्करले निमोठेको टर्की-सपना


  • फाल्गुन १९, २०७७
  • 656 Views
मानव तस्करले निमोठेको टर्की-सपना image

काठमाडौँ । मोहन लामा थाङ्का आर्ट गरेर गुजारा चलाइरहेका थिए । उनकी ठूलीआमाका छोरा विसम लामा होटलको कुक थिए । सानीआमाका छोरा युवराज भने रोजगारीको खोजीमा । युवराजले एक दिन मोहन र विसमलाई टर्की जाने कुरा सुनाए ।

आफूले प्रक्रिया सुरु गरिसकेको बताउँदै उनले दुवैलाई सामाखुसीमा गुरुदेव मेडिकल चलाउने पूर्णिमा बस्नेतको सम्पर्क नम्बर दिए । महिनाको ५ सय डलर कमाउन सकिने प्रलोभनमा परेका तीनै जना टर्की जाने योजनामा पुगे ।

युवराजले जसरी टर्कीको प्रक्रिया चाले, उनीहरूले पनि त्यही बाटो रोजे । सुरुमा सामाखुसी पुगेर पूर्णिमालाई भेटे । पूर्णिमाका बाबु किस्मत भनिने लक्की सिंह टर्कीमा बस्ने र उनैले सबै प्रक्रिया मिलाइदिने जानकारी मोहनले पाए । मोहन र विसमले पूर्णिमालाई जनही ५० हजार नगद हातैमा थमाइदिए । त्यसपछि उनीहरूको सम्पर्क टर्की बस्ने लक्कीसँग भयो । लक्कीले भनेअनुसार सुनिता थापा क्षत्रीको बैंक खातामा यी दुईले एक/एक लाख र तेस्रो चरणमा स्वयम्भू बस्ने कविता सापकोटाको खातामा डेढ/डेढ लाख रुपैयाँ जम्मा गरिदिए ।

लक्कीले उनीहरूलाई टर्कीको ‘इलाइट टुरिजम यत्रिम ए एस’ नामक कम्पनीको कागजात पठाएर व्यक्तिगत श्रम स्वीकृतिका लागि जीवन भट्टलाई भेट्न अह्राए । भट्टलाई जनही ९० हजार बुझाएपछि श्रम स्वीकृतिको कागजात हात पर्‍यो । टर्की जाने मोहन र विसमसहित यही प्रक्रिया अपनाएर उड्न लागेकी अञ्जना थापा पनि भेटिइन् । उनीहरू तीनै जना टर्कीको इस्तानबुल पुगेर लक्कीले भनेअनुसार ताक्सिम स्क्वायर पुगे । उनीहरूलाई अन्डरग्राउन्ड शैलीको एउटा कोठामा पुर्‍याइयो । जहाँ दुई महिनाअघि नै टर्की उडेका सानीआमाका छोरा युवराजसहित सुर्खेतमा प्रेम सिजापती र नुवाकोटकी माया तामाङ पनि थिए । त्यही अँध्यारो कोठामा २० दिनसम्म बन्धकझैं बसेपछि लक्कीले कोरोनाका कारण भनेअनुसार काम दिलाउन नसकेको भन्दै छिमेकी देश ग्रिस पठाइदिने प्रस्ताव गरे । तर त्यसका लागि जनही २३ सय युरो अर्थात् तीन लाखभन्दा धेरै जम्मा गर्नुपर्ने थियो ।

‘यतिका धेरै पैसा फसिसक्यो । अब केही लाख खर्चेर राम्रो हुन्छ भने किन नजाने भनेर हामीले उसको कुरा मान्यौं,’ २४ वर्षीय मोहनले सुनाए । समयमै भनेजति पैसा जुटाउन नसक्दा विसम भने ताक्सिममै छुटे । मोहनका अनुसार ग्रिसको सिमानातिर लैजाने बेला भ्यानमा २१ जना थिए । एउटै कोठामा बसेका चारसहित अन्य पाँच नेपाली र १२ पाकिस्तानीलाई अवैध रूपमा सीमा कटाउन दुई जना एजेन्ट खटिएका थिए । तर बाटोमै ग्रिक प्रहरी देखेपछि डोंकर (अवैध रूपमा सीमा पार गराउन प्रयोग गरिने व्यक्ति) ले उनीहरूलाई अगाडि बढाउन सकेनन् । त्यसपछि आफूसहित ९ जना नेपाली भागेर फेरि ताक्सिम नै फर्किएको मोहन बताउँछन् । लक्कीका एजेन्टले नै उनीहरूलाई अलग्गै कोठामा राखे । दुई सातापछि एजेन्टले फेरि खबर पठाए, ‘अब बाटो ठीक छ, सजिलै ग्रिस छिर्न सकिन्छ ।’

मोहनका अनुसार अवैध रूपमा ग्रिस छिर्ने दोस्रो प्रयासमा भने ३० नेपाली थिए । बोर्डर छेउको जंगलमा फोहोर फाल्न प्रयोग हुने प्लास्टिकभित्र गुजुल्टिएर पहिलो रात कटाएको मोहन सम्झिन्छन् । बिहान ४ बजे नै उनीहरूलाई डोंकरले हिँडाए । त्यो दिन पानी परिरहेको थियो । अत्यधिक चिसोले खुट्टा र हात कक्रक्क परेर सुन्निन थालेको थियो । ‘दिनभर जंगलमा सुत्दा अनि लगातार तीन रात हिँड्दा त बाटैमा मरिन्छ कि जस्तो लागेको थियो,’ उनले भने ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.