काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरका गिरबहादुर गुरुङ छतमा सुकाएको लुगा कालो भएको देख्दा अचम्मित हुन्छन्। गुरुङ यसबारे छिमेकी रामचन्द्र श्रेष्ठलाई सोध्छन्– ‘यो के भएको हो ?’ श्रेष्ठ जवाफ दिन्छन्, ‘औद्योगिक क्षेत्रका उद्योगबाट निस्किएको कालो मुस्लोले वातावरण प्रदूषित बनाएको छ।’ कानुन व्यवसायी विकास आचार्य पनि राति पार्किङमा राखेको गाडीमा बिहान कालो लाग्ने गरेको अनुभव सुनाउँछन्।
गुरुङ, श्रेष्ठ र आचार्य मात्रै होइन, नेपालगन्ज औद्योगिक क्षेत्र आसपासका बासिन्दा वर्षौंदेखि यस्तै प्रदूषण सहन बाध्य छन्। नेपालगन्ज औद्योगिक क्षेत्रका प्रमुख कृष्ण पुनका अनुसार मोडर्न रोज एन्ड उड प्रो प्रालि र रिजवान इन्जिनियरिङले वायु प्रदूषण गरेका छन्। उनी भन्छन्, ‘रिजवानले विभिन्न केमिकल प्रयोग गर्ने भएकाले हानिकारक देखिएकाले उद्योग नै बन्द गरेका छौं।’
वायु प्रदूषणले श्वास–प्रश्वास, छाला, आँखा र मुटुरोगीलाई बढी असर पार्ने भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे बताउँछन्। भन्छन्, ‘वायु प्रदूषित क्षेत्रमा लामो समय बस्ने व्यक्तिमा दमको समस्या हुन्छ। आर्सेनिक, लिडजस्ता रसायनबाट निस्कने धुवाँले क्यान्सरकै खतरा पनि हुन सक्छ।’
विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेका अनुसार वायुमा सूक्ष्म कणको मात्रा पार्टिकुलेट म्याटर (पीएम) २.५ को मात्रा औसत ४० माइक्रोग्राम प्रतिघनमिटरसम्मलाई गुणस्तरीय मानिन्छ। त्योभन्दा बढी स्वास्थ्यका लागि हानिकारक हुने निरीक्षक लामिछाने बताउँछन्।
तर, नेपालगन्ज ०७५ भदौमा देशकै धेरै प्रदूषित सहरमा दरिएको थियो। त्यति बेला पीएम २.५ को मात्रा १८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो। विभागले २० कात्तिक २०७५ मा काठमाडौंपछि नेपालगन्जलाई प्रदूषित सहर भनेको थियो। त्यति बेला प्रदूषणको मात्रा ७५.३३ माइक्रोग्राम थियो। काठमाडौंमा ८८.८ माइक्रोग्राम प्रतिघनमिटर थियो। नेपालगन्जमा मापदण्डको झन्डै चार गुणा बढी प्रदूषण रहेको विभागको तथ्यांकले देखाउँछ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विभाग प्रमुख रेजिना मास्के तराई÷मधेसका सीमावर्ती क्षेत्रमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने स्तरले प्रदूषण बढिरहेको बताउँछिन्। ‘ट्रान्सबाउन्डरी समस्याका कारण प्रदूषण नेपालतर्फ आएको देखिएको हो’, विभाग प्रमुख मास्के भन्छिन्। नेपालगन्ज, बारा, वीरगन्ज, लुम्बिनी, विराटनगर, कन्चनपुरको भीमदत्तलगायत सहरमा प्रदूषण अत्यधिक बढेको पाइएको उनको भनाइ छ। सीमावर्ती भारतीय क्षेत्रमा औद्योगिक तथा खेतीपातीका काम धेरै हुने गरेकाले त्यसको असरसमेत नेपालमा देखिएको जनाइएको छ। एक ठाउँको असरले अन्य स्थानमा प्रदूषण बढेको देखिन्छ।
विभागका प्रवक्ता इन्दुविक्रम जोशी निषेधाज्ञापछि काठमाडौंको अवस्था औसत रहे पनि बाहिरका सहरमा प्रदूषण अति बढेको बताउँछन्। ‘धनकुटा, विराटनगर, भीमदत्त, लुम्बिनी, वीरगन्ज, हेटौंडातिर प्रदूषण अत्यधिक बढेको छ’, जोशी भन्छन्, ‘भौगोलिक अवस्थाका कारण पनि वायु प्रदूषण बढेको हुन सक्छ।’ ती क्षेत्रमा हावाको अवस्था एकदमै संवेदनशील भएकाले त्यहाँका उद्योग सार्नुपर्ने देखिएको उनी बताउँछन्।
महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनले पनि मुख्य सहरी क्षेत्रमा हावामा पाइने धुलोका कण पार्टिकुलेट म्याटर (पीएम) २.५ को मात्रा राष्ट्रिय मापदण्डभन्दा बढेको देखिएको उल्लेख गरेको छ। ‘चौबीस घण्टामा औसत पीएम २.५ को तह ३६८ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको देखिएकाले वायु प्रदूषण नियन्त्रणका लागि रणनीतिक योजना र कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्छ।’
वायु गुणस्तर मापन केन्द्रहरूको सन् २०१९ को तथ्यांकअनुसार काठमाडौं रत्नपार्कमा ३२१ दिनमध्ये १४३, ललितपुर पुल्चोकमा ३५३ दिनमध्ये ३७, काभ्रे धुलिखेलमा २२० मध्ये ४१, भक्तपुरमा २९८ मध्ये ४८, चितवन सौराहामा २८७ मध्ये ११६, ललितपुर भैंसेपाटीमा ३३६ मध्ये ५२, लुम्बिनीमा १०३ मध्ये ५०, नेपालगन्जमा ३१० मध्ये १८०, झापा दमकमा ४७ मध्ये ३२, बारा सिमरामा २२७ मध्ये १२७, र काठमाडौं शंखपार्कमा २९९ मध्ये २९ दिन धुलोको कण मापदण्डभन्दा बढेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, काठमाडौं उपत्यकाकै वायु प्रदूषणको अवस्था सन् २०२१ जनवरी ४ र ५ मा अत्यधिक जोखिमपूर्ण अवस्थामा पुगेको जनाइएको छ। जुन बेला पीएम २.५ को तह औसत २०६ र २५७ माइक्रोग्राम प्रतिघनमिटर पुगेको देखिन्छ।
महालेखाले सोलुखुम्बु, रौतहट, मकवानपुर, स्याङजा, जाजरकोट र अछाममा घरभित्रको प्रदूषण गर्ने उपकरण खरिद गर्न विभागले २०७७ असारमा ९९ लाख ६३ हजार भुक्तानी गरेको उल्लेख गरेको छ। ती उपकरणको वारेन्टी तीन वर्ष मात्रै रहेकामा मापन कार्य सुरुआत नै नगरेको जनाइएको छ। कतिपय ठाउँमा स्टेसन नभएकाले प्रदूषण के कति छ थाहा नभएको विभागले जनाएको छ।
पुरा समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकबाट…
