काठमाडौँ । प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीमा तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यवसायीसँग दुई करोड रुपैयाँ मागेको र त्यसमा पार्टी नेतृत्वको टिम संलग्न रहेको प्रकरण बल्झिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि पार्टी नेतृत्वको कोर टिमले २ करोड मागेको भन्दै श्रेष्ठले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उपनिर्वाचनको मुखमा रास्वपाले श्रेष्ठलाई सांसदबाट निष्कासन गरेको थियो ।
श्रेष्ठले हालै दिएको अन्तर्वार्तामा उक्त प्रकरणमा संलग्न रास्वपा नेताबारे आफूलाई थाहा भएका कुरा सार्वजनिक गर्ने बताएपछि महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गरेर प्रमाण पेस गर्न चुनौती दिएका छन् । श्रेष्ठले आधार प्रमाणबिना पार्टीको छविमा आँच पुर्याउन अभिव्यक्ति दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता व्यक्तिलाई ७२ घण्टाभित्र कारबाही गर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
मन्त्री बनाउनका लागि केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको श्रेष्ठले अन्तर्वार्ताहरूमा बताउँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पार्टीको भागमा नपरे अर्को कुनै मन्त्री बनाउने पनि ‘कोर टिम’ बाट आश्वासन पाएको श्रेष्ठको दाबी छ । उनले तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पार्टीको भागमा पार्नका लागि आग्रह गरेको पनि उनले बताउँदै आएका छन् ।
नागरिकता मुद्दामा लामिछानेको सांसद पद खारेज भएपछि २०८० वैशाख १० मा चितवन–२ मा उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा रास्वपाबाट लामिछाने उम्मेदवार थिए । उपनिर्वाचनको मुखमा सार्वजनिक मन्त्री बन्न पार्टी नेतृत्वको कोर टिमले ३ करोड मागेको र २ करोडमा मान्ने अवस्था रहेको संवाद सार्वजनिक भएपछि श्रेष्ठलाई पार्टीले कारबाही गरेको थियो । उनी समानुपातिकतर्फबाट प्रतिनिधिसभामा सांसद थिए ।
महामन्त्री ढकालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठले नाम लिएका केन्द्रीय सदस्य थापामाथि सोधपुछ तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उल्लेख छ । ‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो । यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
तत्कालीन सांसद डा। श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड रुपैयाँ माग भएको भन्ने अडियो सार्वजनिक हुँदा पनि राज्यका निकायहरूले भने अनुसन्धान गरेका थिएनन् । रास्वपाको केन्द्रीय अनुशासन आयोगको छानबिनबाटै उनलाई दोषी करार गरिएको थियो भने त्यसमा अन्य क–कसको संलग्नता रहेको भन्ने खुलाइएको थिएन । रास्वपाले थालेको केन्द्रीय सदस्य थापामाथिको सोधपुछ र अनुसन्धानको निष्कर्ष कहिलेसम्म आउने भने विज्ञप्तिमा उल्लेख छैन । कान्तिपुर दैनिकबाट…
