भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विप्लव नेकपाको मुख्यालय काठमाडौंबाहिर, शिवगढीमा कार्यालय शिलान्यास


  • बैशाख २, २०७८
  • 716 Views
विप्लव नेकपाको मुख्यालय काठमाडौंबाहिर, शिवगढीमा कार्यालय शिलान्यास image

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले रुपन्देहीको शिवगढीमा पार्टी केन्द्रको सम्पर्क कार्यालय बनाउने भएको छ । अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको उक्त भवन नेकपाका महासचिव विप्लवले बुधबार शिलान्यास गरेका छन् । सरकारसँग २१ फागुनमा तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव नेतृत्वको नेकपाले अहिलेसम्म काठमाडौंमा भने औपचारिक कार्यालय खोलेको छैन । करिब एक करोड लागत अनुमान गरिएको उक्त पार्टी कार्यालयसँगै एउटा सभाहलसमेत निर्माण गर्ने योजना नेकपाको छ ।

उक्त भवन निर्माणको जिम्मेवारी पाएका पार्टी केन्द्रीय सदस्य सञ्जीवकुमार झाँक्रीका अनुसार आगामी असारभन्दा अगाडि नै योजना सम्पन्न गर्ने गरी काम सुरु भइसकेको छ । पार्टी कार्यालयको भवन चार कोठाको पाँचतले हुनेछ भने दुईतले सभाहल भवनमा करिब तीन सयभन्दा बढी मानिस अटाउनेछन् । झाँक्रीका अनुसार वर्षायामभन्दा अगाडि दुवै भवनका एक तलाको काम मात्रै सम्पन्न गरिने र बाँकी काम पछि गर्ने गरी पार्टीले योजना बनाएको छ । करिब पाँच रोपनीभन्दा बढी क्षेत्रफल रहेको यस क्षेत्रमा नेकपाले केही समयपछि सहिद स्मृति पार्कसमेत निर्माण गर्ने बताएको छ ।

‘राणा शासनयता भएका प्रगतिशील आन्दोलनका सम्पूर्ण योद्धा र सहिदहरूको सम्मानमा एउटा पार्क बनाउने योजना पनि छ । तर, त्यसका लागि केही समय लाग्ने देखिन्छ । हामीले योजना भने तयार पारिसकेका छौँ,’ झाँक्रीले भने । संरचना निर्माण गर्न लागेको उक्त जग्गा पार्टीको आफ्नै सम्पत्ति भएको नेकपाको दाबी छ । रोल्पामा गरेको आठौँ महाधिवेशनमा नेकपाले देशका विभिन्न क्षेत्र र साबिकका गाविसस्तरमा एक–एकवटा भवन बनाउने योजना पारित गरेको त्यहीअनुसार अहिले काम सुरु भएको झाँक्रीले बताए । उनका अनुसार त्यसैमध्येको एक यही भवन निर्माण गर्ने योजनासमेत थियो ।

उनले भवन निर्माणका लागि पार्टीसँग भएको रकमका साथै उद्योगी, व्यापारी र जनतासँग सहयोग माग्ने बताए । साथै, भवन निर्माण कार्यमा पार्टीका नेता–कार्यकर्तालाई समेत श्रमदान गराउने जानकारी झाँक्रीले दिए । उनले यसपछि बिस्तारै देशैभर पार्टीका कार्यालय निर्माण कार्यलाई तीव्रता दिनेसमेत बताए । ‘आठौँ महाधिवेशनमा हामीले पार्टी र आन्दोलनमा लाग्नेको संरक्षणका लागि सहजीकरण गर्न देशैभरका सम्पूर्ण गाविसमा भवन निर्माणको योजना बनाएका थियौँ । त्यसैअनुसार थप कामसमेत अगाडि बढाउने योजना पार्टीले गरेको छ,’ उनले भने ।

 


Thali Mobile Pvt.Ltd.