DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शून्य प्रगति रहेको ओली–दाहालका १४ संवाद


  • आश्विन २३, २०७७
  • 486 Views
शून्य प्रगति रहेको ओली–दाहालका १४ संवाद image

काठमाडौँ । स्थायी कमिटी बैठकले कार्यविभाजन र सहकार्यको आधार बनाएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो २७ दिनमा ११ पटक एक्लाएक्लै भेट भयो । योबीचमा सचिवालयका तीन बैठक बसे, त्यहाँ पनि ओली र दाहालसँगै भए । ओली र दाहालबीच २७ दिनमा १४ पटक आमने–सामने संवाद भयो ।

तर, स्थायी कमिटी बैठक सकिएको (२६ भदौ) देखि बिहिबार (२२ असोज) सम्म श्रृंखलाबद्ध भेट गरे पनि ओली र दाहालले मन्त्रिपरिषद् पूनगर्ठन, संवैधानिक एवं राजनीतिक नियुक्ति र पार्टी एकताका काम टुंगाउने स्थायी कमिटीका महत्वपूर्ण प्रस्तावलाई अझै नतिजामा पुर्‍याउन सकेका छैनन् । बरु, यी मुद्दामा ओली र दाहालबीच मतभेद देखिएका छन् ।असोज ४ को सचिवालय बैठकले अन्य नेताहरुसँगको समेत परामर्शमा यी मुद्दा टुंगाउने जिम्मा ओली र दाहाललाई नै दिएको थियो ।

तर, निर्णय कार्यान्वयनमा भएको ढिलाईलाई लिएर नेकपाभित्र ओली र दाहालको भित्रभित्र आलोचना पनि सुरु भइसकेको छ । असोज ४ यता ओली र दाहालबीच लगातार संवाद भएका छन्, तर निष्कर्षमा पुग्ने गरी प्रगति भएको छैन । उनीहरुबीचका भेटघाट संवाददेखि संवाद र भेटदेखि भेटमै सीमित छन् ।अर्थात उनै पात्र र उनै मुद्दामा ओली र दाहालले दर्जनौं घण्टा बिताएका छन् । पछिल्लोपटक ओली र दाहालबीच बिहीबार करिब तीन घण्टा संवाद भयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनैतिक नियुक्ति, पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा केन्द्रित थियो ।

तर, यो भेटमा पनि मन्त्रिपरिषद् पुनर्गठन कहिले र कसरी ? संवैधानिक तथा राजनैतिक नियुक्तिको मापदण्ड के ? अनि पार्टी एकताका बाँकी काम टुंग्याउने सूत्र के ? जस्ता प्रश्नको सिधा उत्तर आएको छैन । एकताका काम टुंगाउने विषयमा पनि दुई अध्यक्षबीच कुराकानी भएको छ । मन्त्रिपरिषद् पूनगर्ठनका विषयमा भने बिहीबार खासै छलफल भएको छैन । रिक्त तीन मन्त्रालयमा पदपूर्ति गर्ने विषयमा ओली र दाहालबीच सहमति बने पनि पात्रबारे टुंगो लागेको छैन ।

ओली भने तत्काल व्यापकरुपमा मन्त्रिपरिषद् पूनगर्ठनको पक्षमा छैनन् । यस्तोमा प्रधानमन्त्रीले चाहेको खण्डमा तीन मन्त्रालयमा जतिसुकै बेला पनि पदपूर्तिको सम्भावना रहेको निकट स्रोतहरु बताउँछन् । तर, यिनै विषयलाई लिएर ओली र दाहालबीच भएका छलफललाई समयरेखामा हेर्ने हो भने स्थायी कमिटी बैठक सकिएयता ११ पटक भेट भयो । भदौ २८ र ३१ गते दुई अध्यक्षबीच बालुवाटारमा भेट भयो । असोज ५, ८, ९, ११, १२, १३, १६, १८ र २२ गते दुईअध्यक्षबीच भेट साथै छलफल भएको छ ।

यस बीचमा ३ पटक सचिवालय बैठक बसेको छ । मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा नयाँ–नयाँ विवाद जन्मेको छ । अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्ने कार्यविभाजनमा उल्लेख छ । यही समन्वयको सूत्रमा बसेर ओली र दाहालले पार्टी र सरकारसँग जोडिएका कैयौ मुद्दामा लगातार संवाद गरेका छन् । तर, नतिजा अहिलेसम्म शून्य छ । कान्तिपुर दैनिकबाट…

 

 


Thali Mobile Pvt.Ltd.