काठमाडौँ । बृहत् नागरिक आन्दोलनले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेको छ । ‘शैक्षिक प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ नाम दिइएको मार्चमा प्राध्यापक–विद्यार्थीले राज्यले सही शिक्षा नीति दिन नसक्दा लाखौं नागरिक बेरोजगार बन्न पुगेको भन्दै आक्रोश पोखे ।
शैक्षिक मार्चका सहभागी सोमबार त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा नाराबाजी गर्दै । विद्यार्थीले सडकमै सभा गर्दै शिक्षा क्षेत्रका विकृति अन्त्य गर्न माग गरेका थिए । कीर्तिपुर पाँगा दोबाटोबाट सुरु भएको जुलुस त्रिविस्थित उपकुलपति कार्यालय परिसरमा आएर धर्नासहित सभामा परिणत भएको थियो । सहभागीले राज्यले नै शिक्षामा निजीकरण र व्यापारीकरण गर्न प्रश्रय दिएकामा असन्तुष्टि जनाए । प्राध्यापक बालकृष्ण माबुहाङले राणाकालदेखि बहुदल, पञ्चायत, प्रजातन्त्र र गणतन्त्रसम्म आउँदा राज्यले राष्ट्रिय शिक्षाको चरित्र स्पष्ट पार्न नसकेको बताए ।
आमनागरिकले सीधा सीधा सरोकार राख्ने शिक्षा स्पष्ट नहुँदा शैक्षिक प्रतिगमन भइरहेको उनले प्रस्ट्याए । शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा जनपक्षीय काम गर्न नसकेको सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकमा संकट उत्पन्न गराएको उनको भनाइ थियो । पूर्वराजदूत विजयकान्त कर्णले राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधानप्रति विश्वास नभएकाले राज्यका हरेक निकायमा प्रतिगमन मौलाएको आरोप लगाए । विद्यार्थी सरोज यादवले नागरिक अगुवासामु त्रिभुवन विश्वविद्यालय अर्धमृत अवस्थामा पुगेको तथ्य प्रस्तुत गरे ।
‘यो विश्वविद्यालयले दिएको शैक्षिक प्रमाणपत्रले रोजगारी दिन सक्दैन, व्यावहारिक शिक्षा र विचार दिन सक्दैन,’ उनले भने । पढाइ र रोजगारबीच तालमेल नमिलेको अनुभव उनले सुनाए । लागू भएको सेमेस्टर वार्षिक प्रणालीभन्दा महँगो रहेको विद्यार्थीहरूले बताए । सामान्य विषय अध्ययन गर्न पनि सेमेस्टरमा मासिक १५/१६ हजार शुल्क लाग्दा विपन्नले छोराछोरी पढाउन नसक्ने अवस्था रहेको यादवले औंल्याए । ‘काठमाडौं बसेर त्रिविमा पढ्न मासिक कम्तीमा ३० हजार खर्च लाग्ने भएको छ,’ विद्यार्थी जगत विकले भने, ‘प्राध्यापक कुटिन्छन्, विश्वविद्यालयका पदाधिकारी बोल्दैनन्, अराजकता बढेको छ ।’ विद्यार्थी एलिजा ढकालले सरकार र विश्वविद्यालयलाई दर्जनभन्दा बढी प्रश्न गरिन् ।
‘छात्रा सुरक्षित छैनन्, विश्वविद्यालय हाताभित्रै दुर्व्यवहार सहर्नुपर्छ,’ उनले भनिन्, ‘कक्षाकोठा, शौचालय, पुस्तकालय, प्रयोगशाला विश्वविद्यालयको जस्तो छैन, अस्तव्यस्त छ । पैसा नहुनेहरू कहाँ गएर पढ्ने ?’ पदाधिकारी नियुक्तिदेखि विद्यार्थी भर्नामा समेत हुने भागबन्डा कहिले अन्त्य हुन्छ भन्दै विद्यार्थीले प्रश्न गरे ।
विश्वविद्यालयतर्फ आउँदै गरेको मार्चमा बोकेका ‘शैक्षिक प्रतिगमन’ उल्लिखित बुख्याचा प्रहरीले खोसेको थियो । नाटक प्रदर्शनका लागि ल्याइएका बुख्याचा खोसेपछि आक्रोशित प्रदर्शनकारीले सडकमै धर्ना दिएर सभा गरेका थिए । पछि प्रहरीले फिर्ता गरेपछि कलाकारहरूले नाटक र कवि विनोदविक्रम केसीले कविता वाचन गरेका थिए ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
