DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सरकारी मेडिकल कलेज भए गौचरण


  • आश्विन २३, २०७७
  • 511 Views
सरकारी मेडिकल कलेज भए गौचरण image

सातै प्रदेशमा मेडिकल कलेज खोल्न डा. गोविन्द केसीसँग भएको सहमतिअनुसार सरकारले ठाउँठाउँमा साइट कार्यालयसमेत उद्घाटन गरेर कर्मचारी राखेको छ । तर, पूर्वाधार निर्माणका लागि डिपिआरसमेत बनेको छैन । प्रधानमन्त्री केपी ओलीले रुपन्देहीको तिलोत्तमामा प्रदेशस्तरीय मेडिकल कलेज खोल्न ८ चैत ०७५ मा कलेज र पूर्वाधार विकास आयोजनाको कार्यालयको उद्घाटन गरेका थिए ।

गत आर्थिक वर्षमा सरकारले १० करोड बजेट विनियोजन गरेको थियो, तर पूर्वाधार निर्माणको शिलान्यास कहिले हुने भन्ने टुंगो छैन । त्यस्तै, महोत्तरीको बर्दिबासमा मेडिकल कलेज बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलले डेढ वर्षअघि साइट कार्यालय उद्घाटन गरेका थिए । त्यहाँ सरकारले १० करोड ६३ लाख बजेट विनियोजन गरेको थियो ।

तर, बर्दिबासको प्रस्तावित जग्गा पनि गौचरण बनेको छ । अझ सप्तरीको राजविराजमा कलेज बनाउन ४० करोड ५० लाख विनियोजन गरिएको थियो । राजविराजमा सरकारले जग्गाको समेत टुंगो लगाउन सकेको छैन । रुपन्देहीमा प्रस्तावित कलेजको पूर्वाधार विकास आयोजनाका प्रमुख मानबहादुर घिमिरेले भने छोटो अवधिमा धेरै काम भएको दाबी गरे । उनका अनुसार गत वर्ष गुरुयोजना स्वीकृत गर्ने काम भएको छ ।

त्यस्तै, वातावरण प्रभाव मूल्यांकनको अन्तिम प्रतिवेदन वन मन्त्रालयमा पुगेको छ, स्वीकृत हुन बाँकी छ । डिपिआर निर्माणका लागि सम्झौता गर्ने अन्तिम तयारी रहेको आयोजनाले जनाएको छ । डा. गोविन्द केसीको आन्दोलनकै क्रममा खोलिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि चिकित्सा शिक्षाका कार्यक्रम पूर्ण रूपमा सञ्चालन भएका छैनन् । प्रतिष्ठानमा स्नातक तहमा एमबिबिएस, नर्सिङलगायत चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन भएका छैनन् ।

प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यका अनुसार एमडी र एमएस तहको पढाइ भने यसै वर्षदेखि सुरु गरिएको छ । अहिले जनरल सर्जरी र प्रसूति तथा स्त्री रोगमा चार–चार, हाडजोर्नीमा तीन, जनरल मेडिसिन, बालरोग र एनेस्थेसियोलोजीमा दुई–दुई गरी ६ विधाका १७ सिटसंख्यामा अध्यापन सुरु गरिएको छ । उता गण्डकी प्रदेश सरकारले प्रदेशमा पाँच सय शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा चिकित्सा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी अध्ययन–अध्यापन कार्य सुरु गर्ने उल्लेख छ । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय पनि स्थापना गर्न लागेको छ ।

विश्वविद्यालयमातहत चिकित्सा विज्ञान विषयको पढाइ सुरु गर्ने उसको तयारी छ । प्रदेश २ मा शिक्षा र स्वास्थ्य मन्त्रालयले छुट्टाछुट्टै ढंगले मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढाएका छन् । शिक्षा मन्त्रालयले महोत्तरीको बर्दिबासमा मेडिकल कलेज स्थापनाका लागि कार्यालय खोलेको छ । डेढ वर्षअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कलेजको भौतिक पूर्वाधार विकास आयोजनाको कार्यालय उद्घाटन गरेका थिए । तर, त्यसपछि सरकारले वास्ता नगर्दा काम अघि बढ्न सकेको छैन ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाएको छ । भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढे पनि शैक्षिक पाटोमा भने कुनै प्रगति भएको छैन । प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएका भए पनि अहिले अवस्था भद्रगोल छ । कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने भनिए पनि अहिलेसम्म भौतिक संरचना कहाँ निर्माण गर्ने भन्नेसमेत टुंगो लागेको छैन ।

जसले गर्दा सरकारले बजेट छुट्याए पनि काम अघि बढ्न सकेको छैन । सरकारले गत आर्थिक वर्षमा मेडिकल कलेजका लागि १० करोड बजेट विनियोजन गरेको थियो । कलेजले कर्णाली प्रादेशिक अस्पतालसँग सम्झौता गरिसकेको छ, तर एक वर्ष बितिसक्दा पनि थप प्रगति हुन सकेको छैन । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.