भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सामाजिक सञ्जालमा बदलियो एमाले अध्यक्ष ओलीको शैली


  • आश्विन ७, २०८०
  • 303 Views
सामाजिक सञ्जालमा बदलियो एमाले अध्यक्ष ओलीको शैली image

काठमाडौं । विरोधीमाथि कठोर वचन लगाउन सधैँ तयार देखिने एमाले अध्यक्ष केपी ओली सामाजिक सञ्जालमा फरक ढंगले प्रस्तुत हुन थालेका छन् । एमाले आगामी निर्वाचनको तयारीमा जुटिसकेको छ, यसैलाई लक्षित गरेर ओलीले सामाजिक सञ्जालमा शैली बदलेका छन् । राजनीतिबाहिर रहेकासँग सामाजिक सञ्जालमार्फत पहुँच पुर्‍याउने ओलीले रणनीति अपनाएका छन् ।

दैनिक औसत १८ घन्टा सक्रिय जीवनशैलीमा रहने ओली पछिल्ला दिनमा सामाजिक सञ्जालमा बढी नै सक्रिय देखिएका छन् । युट्युब च्यानलदेखि फेसबुक पेज, ट्विटर, टिकटक, रिल, इन्स्टाग्रामजस्ता आधिकारिक पेजमा ओली अन्य पार्टीका समकालीन नेताभन्दा नियमित रूपमा बढी सक्रिय छन् ।

पछिल्लो एक महिनामा ओलीले निजी पेजबाट औपचारिक प्रकृतिका कार्यक्रमका चार–पाँचवटाबाहेक राजनीतिक सन्देश राखेका छैनन् । उनका अधिकांश सन्देश बढी रुचाइएर लाइक, कमेन्ट आउन सक्ने सामाजिक र अनौपचारिक गतिविधि र क्रियाकलापतिर लक्षित छन् ।

टुँडिखेलको सरकारी कार्यक्रम नै ओझेलमा पार्ने गरी एमालेले संविधान दिवसका दिन ३ असोजमा ‘सेल्फी विथ नेसनल फ्ल्याग’ कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलसहितका नेता–कार्यकर्ता सहभागी भए । साँझको कार्यक्रममा महासचिव पोखरेलले भने, ‘यो ऐतिहासिक क्षण मोबाइलमा कैद गर्नुहोला र सकेसम्म टिकटकमा राख्नुहोला ।’

त्यसको एक दिनअघि ओलीले संविधान दिवसमा नारायणचौरमा भेला हुन ‘मर्निङवाक ड्रेसअप’मा भिडियो सन्देश दिएका दिए । र, संविधान दिवसमा भनेका थिए, ‘संविधान दिवसको अवसरमा बिहानै सेल्फी विथ नेसनल फ्ल्याग कार्यक्रममा सहभागी भएर फर्केँ । दशकौँ लामो संघर्ष, बलिदान र धेरै ठूलो अवरोध छिचोलेर संविधानसभामार्फत संविधान जारी भएको थियो ।

संविधानले जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको छ र जनताका ३१ वटा मौलिक हक ग्यारेन्टी गरेको छ । संविधानले हामीलाई अधिकार दिएको छ, कर्तव्य, विवेक र इमानदारिता भने हामी आफैँसँग हुनुपर्छ । संविधान दिवसको सबैलाई शुभकामना १’ त्यस्तै, १ असोजमा तिजको शुभकामना सन्देश भिडियो गीतसहित राखिएको छ ।

राजनीतिक कार्यक्रम र निर्वाचन प्रचारमा सामाजिक सञ्जाल शक्तिशाली देखिएपछि एमालेले वडा तहसम्म प्रचार सञ्जाल बनाएर सामाजिक सञ्जालको प्रचारलाई महत्व दिने निर्णय गरेको थियो । सोही निर्णयपछि गत जेठबाट ओलीले पार्टी घेराबाट बाहिर पुग्ने प्रयास गरेका छन् । त्यही रणनीतिअनुसार बाहिरी मतदातासम्म पुग्ने साधनका रूपमा सामाजिक सञ्जाललाई भरपूर उपयोगको नीति अघि बढाइएको ओलीको सचिवालयको भनाइ छ ।

गत वैशाख अन्तिममा सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रचार प्रभावकारी बनाउने निर्णय लिएपछि उपमहासचिव विष्णु रिमाल कार्यान्वयनका लागि धरानका मेयर हर्क साङपाङलाई बिम्ब बनाएर आन्तरिक बैठकमा दिएको एउटा अभिव्यक्तिका कारण विवादमा समेत तानिएका थिए । साङपाङले लगातार सामाजिक सञ्जालबाट प्रतिवाद गरेपछि रिमाल एक साता नबित्दै दुईपटक प्रस्टीकरण दिन बाध्य भएका थिए ।

६ जेठमा अनेमसंघको बैठकमा मिसन २०८४ अनुसार पार्टीले बहुमत ल्याउने हो भने अध्यक्ष केपी ओलीको फेसबुक पेजमा दैनिक ५० हजार लाइक गर्नुपर्ने भन्दै साङपाङलाई बिम्ब बनाएर रिमालले अभिव्यक्ति दिएका थिए । ‘हामीले के बुझौँ भने कमरेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजारभन्दा बढी लाइक आयो भने बुझ्नुस् पार्टीले बहुमत ल्यायो,’ उनले सामाजिक सञ्जालको शक्तिबारे भनेका थिए ।

कार्यक्रममा रिमालले कार्यकर्तालाई निर्देशन दिँदै भनेका थिए, ‘काठमाडौंका मेयरले नचाहिने कुरा लेख्ना साथै ८०–९० हजारले लाइक गर्‍या देखिन्छ । धरानको बौलाहा टाइपको मेयर छ । काम त राम्रै गर्‍या होला । धरानबाहिर पपुलर छ, धरानभित्र के छ थाहा छैन । उसकोमा ४०–५० हजारले लाइक गर्‍या देख्छु एक घन्टामा । त्यसपछि स्वतन्त्र पार्टीको सभापतिले राख्या देख्छु । उसको एक घन्टामा ३०–४० हजारले लाइक गर्‍या देख्छु । कहिलेकाहीँ लेख्न मन लागेन भने पनि तिनीहरूबाट पनि सिकौँ न । सूर्यको जय होस् लेख्दिनुस् । सूर्यको चिह्न हाल्दिनुस् । तपाईं आइडेन्टिफाई हुनुभयो । त्यति हुनासाथ हाम्रो परिवार एकै ठाउँमा देखिन्छ ।’

रिमालको यस्तो अभिव्यक्तिपछि एमालेको केन्द्रीय प्रचार विभागले केन्द्रीय प्रचार रणनीतिलाई विकेन्द्रित गर्दै लागू गर्ने प्रयास गरिरहेको छ । उसले अलग्गै पेजसमेत बनाएर प्रचार गरिरहेको छ । प्रचारका लागि एमालेमा अलग्गै विभाग र सञ्जाल भए पनि अध्यक्ष ओलीको प्रचार रणनीति बनाउनेदेखि कार्यान्वयनमा लैजानेसम्मको समग्र कामको अघोषित नेतृत्वको काम भने अहिले उनै रिमालले गरिरहेका छन् ।

पछिल्ला दिनमा ओलीको सामाजिक सञ्जालमा औपचारिक राजनीतिक गतिविधिका सन्देश कम, तर सामाजिक र अनौपचारिक गतिविधि बढी देखिन्छ । बढीभन्दा बढी नयाँ पुस्तालक्षित, तर समाजका विभिन्न जाति, वर्ग, समुदाय समेटिने उनका सामाजिक सञ्जालका सूचना सन्देशमा जीवन, दर्शन, अनुभव, प्रेरक भनाइ र प्रसंगदेखि अनेक आयाम समेटिएका छन् ।

त्यसका लागि ओलीले आफ्नो ७१औँ जन्म दिनदेखि अलग्गै ‘बा’ नामक युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । जहाँ उनले आफूमाथिका प्रश्नको जवाफको छोटो उत्तर समेटिएको भिडियो कन्टेन्ट नियमित रूपमै अपलोल गर्दै आएका छन् । ‘शक्ति भन्ने कुरा आवधिक र अस्थायी हुन्छ । जो मान्छेहरू शक्तिमा पुगेर शक्ति हो भन्ने कुरा बुझ्दैनन् र आफू चिरस्थायी भएँ भन्ठान्छन्, उनीहरूले आफ्नो शक्तिको आयु छोट्याउँछन् । आफ्नो लोकप्रियतालाई पनि धेरै कमजोर बनाउँछन्,’ पछिल्लो भिडियोमा ओलीले भनेका छन् ।

जीवन, दर्शन, अनुभव, मूल्य–मान्यता, जित–हार, विज्ञान, अध्यात्म अनेक पाटोमा आफ्ना धारणालाई ओलीले ‘भिडियो कन्टेट’का रूपमा युट्युब च्यानलमा मात्र होइन, रिल, टिकटकमार्फत पनि प्रवाह गरिरहेका छन् । उनका पछिल्ला तस्बिर र अक्षर सन्देशमा दैनिक औसत १० देखि १५ हजारले लाइक गरेका छन् । सबैभन्दा बढी नेपाल–भारत खेलअघि शुभकामना दिएको भिडियो सन्देशमा ९५ हजार र क्यान्सर रोगले पीडित चर्चित कविता वाचिक सरु गुरागाईंको स्वास्थ्यलाभको कामना गरिएको सन्देशमा ७४ हजारसम्मले लाइक गरेका छन् ।

पछिल्लोपटक २८ भदौमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मापुत्री स्वीकृतिले कुसेऔँसीमा ‘बा’ सम्झिएर मुख हेर्न र अन्तरक्रिया कार्यक्रमका लागि निम्तो दिन आएको तस्बिर र भिडियोलाई उनले विभिन्न पेजमा प्राथमिकताका साथ सेयर गरेका छन् । सल्लाघारी भक्तपुरमा आयोजित ‘बासँग विद्यार्थी कार्यक्रम’मा ३० भदौमा सहभागी भएका ओलीले साढे दुई घन्टाभन्दा बढी समय १४ देखि १८–२० वर्षे उमेर समूहका विद्यार्थीसँग बिताएका थिए । त्यही कार्यक्रमबाट उनले आफू २० वर्षसम्म राजनीतिमा क्रियाशील हुने मात्र बताएनन्, पार्टीभित्र योग्य उत्तराधिकारी आएपछि मात्र हस्तान्तरण गरेर आफू सहयोगी भूमिकामा देखिने एउटा महत्वपूर्ण सन्देश दिएका छन् ।

पार्टीभित्र कार्यकारी पदमा ७० वर्षे उमेर सीमालाई हटाएर अर्को कार्यकाल नेतृत्वका लागि अहिल्यैदेखि रणनीतिक ‘मुभ’ गरेका ओलीले नयाँ पुस्तासँगको त्यही अन्तरक्रियालाई पुनः पार्टी र देशको नेतृत्व गर्न चाहेको सन्देश प्रस्टसँगै प्रवाह गराएका छन् । जुन कार्यक्रममा थुप्रै बालबालिकाले उनीसँग सेल्फी पनि खिचाएका थिए । त्यसो त बालदिवसमा पनि ओलीले थुप्रै समय नयाँ पुस्तासँगै बिताएको तस्बिर र भिडियो सेयर गरेका छन् ।

टिकटकमा विश्वप्रकाशकी छोरीले ओलीलाई ‘बा’ शब्दको सम्मानसहित ढोग गरेको र ओलीले आशीर्वाद दिएको कन्टेन्ट सेयर गर्दै उनले अरू लेखेका छन्, ‘कार्यक्रमको नाम थियो–बासँग विद्यार्थी, मलाई लाग्यो– विद्यार्थीसँग म । ससाना बालबालिकाले आयोजना गरेको कार्यक्रम, कस्तो राम्रो व्यवस्थापन १ नयाँ पुस्तासँग नयाँ धेरै छ, सबैले सिक्नुपर्छ ।’

पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनलगत्तै शोक–वक्तव्य निकाल्न पनि ओली हतारिएनन्, सामाजिक सञ्जालबाटै श्रद्धाञ्जली दिँदै उनले एकजना हितैषी मित्र गुमाएको स्मरण गरे । जब कि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले शोक–वक्तव्य जारी गरे । अन्तिम श्रद्धाञ्जलीपछि नेम्वाङको आठ वर्षअघिको योगदानलाई सम्झिएर ओलीले सामाजिक सञ्जालबाटै सन्देश दिँदै भारतीय विदेशसचिव आएर संविधान रोक्न कडा चेतावनीसहितको दबाब दिएको र राष्ट्रपतिसमेत हच्किएका वेला नेम्वाङले संविधान जारी गर्न खेलेको भूमिकाको प्रशंसा गरे ।

तिजमा महिलासँग बिताएको, नाचेको, विभिन्न जनजाति समुदायसँग अन्तर्घुलन भएको, पार्टी कार्यक्रममा जाँदा विमानस्थलमा नयाँ पुस्ताले सेल्फी लिएको, टिचिङ अस्पतालमा डाक्टर अध्ययन गरिरहेका नयाँ पुस्ताका विद्यार्थीको कार्यक्रममा सहभागी भएकोजस्ता तस्बिर उनको पेजमा सेयर छ । त्यस्तै, मदन पुरस्कारका लागि छनोट भएको सुविन भट्टराईको उपन्यास इजोरिया पढ्दै सन्देश दिएको, सेलेब्रिटी गायिका रिमा विश्वकर्मासँग टेबलटेनिस खेलेकोदेखि अनेक अनौपचारिक क्रियाकलापका सन्देश ओलीले पेजबाट पछिल्ला दिनमा सेयर गरेका छन् । त्यसो त टकरावको सम्बन्धमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सँगै बसेका तीन तस्बिर सेयर गरेर ओलीले राजनीतिक सहिष्णुताको सन्देश पनि दिएका थिए ।

ओलीको प्रचार काममा सघाउँदै आएका उनका प्रेस संयोजक रामशरण बजगाईंले पार्टी अध्यक्षले अलग्गै रणनीतिक योजना बनाएरभन्दा पनि पार्टीबाहिरको पंक्तिसम्म पुग्न आधुनिक सञ्चार प्रविधि सामाजिक सञ्जालको भरपूर उपयोग मात्र गरिएको बताए । ‘पार्टीपंक्तिलाई त नियमित पार्टी कार्यक्रमबाटै सन्देश जान्छ, सन्देश दिने र पठाउने औपचारिक च्यानल छँदै छ,’ बजगाईंले भने, ‘आजकाल आमजनताको हातहातमा मोबाइल छ, अधिकांशले फेसबुकलगायतका सामाजिक सञ्जाल चलाउने गर्छन्, त्यसैले राजनीतिबाहिरका आमजनतासँग गाँसिन र पुग्नका लागि उहाँले त्यस्तै प्रकृतिका सन्देश सामाजिक सञ्जालबाट प्रवाह गर्न थालेको मात्र हो ।’

उनले ओलीले चाहेको सन्देशलाई मात्र सामाजिक सञ्जालमा राख्ने गरिएको पनि बताए । ‘उहाँ आफैँ सक्रिय स्वभावको हुनुहुन्छ, सामान्यतया बिहान ७ देखि साढे ७ भित्र उठिसकेपछि राति १२–१ बजेसम्म त सक्रिय हुनुहुन्छ, कतिपय अवस्थामा दुई–तीन घन्टा सुत्नुहुन्छ, हामी सल्लाह गर्छौँ, जे कुरा राख्न खोज्नुहुन्छ सामाजिक सञ्जालबाट त्यही जान्छ, यस्ता काममा उहाँले पर्याप्त समय पनि दिनुहुन्छ,’ बजगाईंले भने, ‘यो अर्कोपटक चुनाव जित्नका लागि भनेर रणनीति बनाएर, टिमसहित संगठित रूपमा गरिएको काम पनि होइन, अहिलेको समय र प्रविधिलाई प्रयोग गरिएको मात्र हो ।’

ओलीको नक्कली आइडीमार्फत गलत प्रचार नजाओस् भन्नेमा पनि एमाले सचेत छ । एमालेले केन्द्रीय प्रचार विभागले त्यसरी फेक आइडी चलाउनेहरूका विषयमा ध्यानाकर्षण भएको जनाउँदै १५ दिनभित्र सम्पर्कमा आउन अन्यथा कानुनी कारबाहीमा जान बाध्य हुने विज्ञप्तिमार्फत सूचित गरेको छ । ‘सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झन्डा दुरुपयोग भइरहेकाले यस्तो सूचना निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.