भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सामुद्रिक पाहुना चराले नेपालमा कोरल्यो बचेरा


  • भाद्र ३०, २०८१
  • 289 Views
सामुद्रिक पाहुना चराले नेपालमा कोरल्यो बचेरा image

कपिलवस्तु । सामुद्रिक चरा ठिमाहा फ्यालफ्यालेले कपिलवस्तुस्थित पन्छी आरक्ष जगदीशपुर तालमा बचेरा कोरलेको छ । जगदीशपुर पन्छी आरक्षको मध्य भागमा रहेको ढिस्कोको उत्तरपूर्वी कुनाका दुई ठाउँमा ठिमाहा फ्यालफ्यालेका ५ वटा बचेराका तस्बिर जनकपुरका डा। एसके सिंहले खिचेका छन् ।

डा. सिंहले एउटा गुडमा ३ र अर्कामा २ वटा बचेराका तस्बिर खिचेका छन् । ‘डुंगामा जाँदै गर्दा ठिमाहा फ्यालफ्यालेले टाउकामा ठुङला जस्तो गर्‍यो,’ उनले सुनाए, ‘सतर्कता अपनाउँदै अघि हेर्दा दुईवटा गुडमा बचेरा देखियो ।’ ठिमाहा फ्यालफ्यालेको बचेराका तस्बिर खिचेर रेकर्ड बन्दा खुसी लागेको सिंहले बताए ।

पेसाले चिकित्सक रहेका उनी सोखले वाइल्डलाइफ फोटोग्राफीमा लागेको बताउँछन् । जगदीशपुर ताल क्षेत्रमा ६०र७० वटा ठिमाहा फ्यालफ्याले उडेको र बसेको आफूले देखेको नेचर गाई अनिल चौधरीले बताए । उनका अनुसार त्यहाँ कम्तीमा १५ वटा गुँड छन् ।युरोप, एसिया, अफ्रिका र अस्ट्रेलियाका समुद्र, नदी र सिमसार क्षेत्रमा पाइने चरा ठिमाहा फ्यालफ्यालेले नेपालमा पहिलो पटक बच्चा कोरलेको वरिष्ठ चराविद् हेमसागर बरालले बताए ।

‘मुलुकका लागि राम्रो हो, यसले पर्यापर्यटनप्रति आकर्षण थपेको छ,’ उनले भने । गत वर्ष भदौ दोस्रो साता जगदीशपुरमा फोटोग्राफर सुगम ताम्राकार र पेम्बा शेर्पा तथा कोशी पुलछेउमा निसान बरालले ठिमाहा फ्यालफ्यालेको गुँड फेला पारेका थिए । तर ठिमाहा फ्यालफ्याले ओथारो बसेको समाचार बाहिरिएपछि जगदीशपुरमा फोटो खिच्नेको भीड बढेपछि चरा ओथारो छाडेर भागेका थिए ।

कोशीमा भने बरालले ‘नेस्टिङ फलोअप’ गर्न पाएनन् । यस वर्ष भने सामुद्रिक चराले राम्ररी बचेरा हुर्काओस् भनेर तालभित्र जान कडाइ गरिएको कपिलवस्तु नगरपालिका–९ का वडाध्यक्ष दीपकबहादुर गुरुङले बताए । अनियमित हिउँदे आगन्तुक तथा बसन्त ऋतुमा बटुवा प्रजातिका रूपमा ठिमाहा फ्यालफ्याले चरा आउने गर्छ । नेपालमा कहाँबाट यो चरा आउँछ भन्ने अनुसन्धान नभए पनि अरब सागर आसपासबाट आउने अनुमान गर्न सकिने चराविद्हरू बताउँछन् ।

अन्य देशमा बढी देखिने यो चरा नेपालमा विरलै देखिन्छ । निकै चञ्चले यो चराको तस्बिर गुँड लगाउने बेलाबाहेक अन्य समयमा खिच्न गाह्रो हुन्छ । यो चरा पानीमा पातमाथि झारपात र झिँजाझिँझी राखेर ओथारो बस्छ । फ्यालफ्यालेका ८ प्रजाति हुन्छन् । ठिमाहा फ्यालफ्यालेले किरा फ्ट्यांग्रा खान्छ । साउनमा आथारो बस्ने यो चराले तीन सातामा बच्चा कोरल्ने र दुईरतीन महिनामा हुर्काएर लाने गर्छ ।

सन् १९८२ मा कोशी ब्यारेजमा ४ सयभन्दा बढीको संख्यामा यो चरा देखिएको थियो । ४१ वर्षपछि गत वर्ष करिब एक सयको संख्यामा यो चरा पहिलो पटक जगदीशपुरमा देखिएको चराविद् हठन चौधरीले बताए । जलवायु परिवर्तनको असरले समुद्रमा तापक्रम वृद्धि हुँदा यस्ता चराले बचेरा हुर्काउन तालतलैया र सिमसार क्षेत्र रोजेको हुन सक्ने उनले बताए । ‘पन्छी आरक्ष भएपछि जगदीशपुर तालको जैविक विविधता संरक्षण भएको छ । त्यसैले नयाँ चराले गुँड लगाउने र ओथारो बसेर बचेरा हुर्काउने रोजाइमा परेको छ,’ चराविद् कृष्णप्रसाद भुसालले भने ।

जगदीशपुर तालले नेपालमा सबैभन्दा बढी पानीचरालाई आश्रय दिँदै आएको छ । आईयूसीएन नेपालले गरेको एक अध्ययनअनुसार यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरिसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइन्छन्, त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मीयाममा आउने, ६४ प्रजातिका चरा जाडोयाममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । यहाँ विश्वमै दुर्लभवन्य जन्तु पानी बिरालो र ८ प्रजातिका चरा पनि पाइन्छन् । कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.