भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सीता कसकी ?


  • श्रावण ६, २०८०
  • 325 Views
सीता कसकी ? image

२५ वर्षअघि मात्रै पनि सप्तरीमा विद्युत् दुर्लभप्रायः थियो । सूर्यास्तसँगै घर वरपरका नीम, सिसौका बुटामा जूनकिरीले आफ्नो शीतल साम्राज्य फैलाउँथे । सन्ध्याको लालीमा क्रमशः घूरको धुवाँले मैलिँदै जाँदा हाम्रो बार्दलीको पिलपिले चिम बल्थ्यो, तर बलेको केही क्षणमै अँध्यारोले नियास्रिएका पुतलीले गिजोलेर बत्ती जूनकिरीभन्दा मलिन हुन्थ्यो । त्यही ग्राम्य–गोधूलिमा हो मैले पहिलोचोटि सीतालाई भेटेको ।

१४ इन्चको श्यामश्वेत टीभीमा नजाने कुन अदृश्य रङले उजेलिन्थे ती पात्र । भर्खरै सडक, बिजुली पुगेको कञ्चनपुर गाउँमा सिमेन्टीका घर विरलै थिए । उब्जाउ जमिन र सहज जीवनको आशामा तराई झरेका पहाडे बाहुनहरूको बस्तीमा भौतिक पूर्वाधार बन्दै गरे तापनि बसाइँ सर्ने प्रत्येक घरमा निर्वासनजनित अनुभूतिको खाटा आलै थियो । कतै आदिवासीलाई विस्थापित गरेर त कतै निर्जन वन मासेर बसेका ती गाउँमा आप्रवासीका घर, ग्वाली त खडा भए, तर बाटोघाटो वा घरले मात्रै समाज बन्दैन । समाज एकत्रित गर्न साहित्य चाहिन्छ, साझा सुख र दुःखका बिसौनी चाहिन्छन् । त्यो बिसौनी बन्यो– रामानन्द सागरको ‘रामायण’ टेलिसिरियल । लैंगिक, आर्थिक, सामाजिक र धार्मिक असमानताका बावजुद चौतारा, पानपसल, मेलापात, भान्छा जताततै चासोको विषय बन्थ्यो– सीताको स्वयंवर । गाउँमा सबै घरमा टीभी पनि थिएनन् । रामायण हेर्ने बहानामा हिजोसम्म परपरै रहेका छिमेकी आत्मीय बने । ‘सीता त्यै पर जनकपुरकी त हुन्’, गाउँमा मान्छेहरू भन्थे, ‘बीसै टकाको भाडा तिरे पुगिन्छ सीताको घर ।’ तर, सीताको घर थियो आखिर कहाँ र ?सीतामाथि कसको स्वामित्व थियो र? एक हिसाबले पूरै रामायण यही प्रश्नमाथिको विमर्श हो ।

 

सीताको कथा, कथाको इतिहासमै सबैभन्दा पुरानो कथामध्येको एक हो । वाल्मीकिले हज्जारौं वर्षपहिले लेखेको यो कथालाई समयक्रमसँगै विभिन्न समुदायले आफूअनुकूल व्याख्या गरेका छन् । भक्तहरूले यसलाई शरणागति ग्रन्थ भनेका छन् । कसैले रामायणकै आधारमा रावण–सम्प्रदायको चर्चा उठाउन थालेका छन् भने कतिले राम र सीताको कथालाई पितृसत्ताको आततायी–अभिलेखका रूपमा वर्णन गरेका छन् ।

न जनकजस्ता ‘ज्ञानी’ ले सीतालाई बुझ्न सके, न रामचन्द्रजस्ता ‘मर्यादापुरुष’ ले सीताको स्वाभिमानमाथि न्याय गर्न सके । मरेपछि विभूति मान्न सजिलो छ, तर सीता बाँचेकी भए हाम्रो कानुनले अहिले पनि लव–कुशलाई अनागरिकै करार गर्थ्यो ।
भनिन्छ, शिवले गौरीलाई पहिलो पटक सुनाएको रामायण एक लाख श्लोकको थियो । हनुमानले पुनःवाचन गर्दा यो साठी हजार श्लोकमा झर्‍यो । वाल्मीकिले त्यही कथालाई चौबीस हजार श्लोकमा लिपिबद्ध गरे । अन्ततः भानुभक्तसम्म आइपुग्दा, यो बाह्र सय श्लोकमा सीमित भयो । यसबीच अनगिन्ती कथा लेखिए र पढिए पनि । तर, आज पनि ‘सीता कसकी र?’ भन्ने प्रश्नले हामी जति आन्दोलित हुन्छौं, त्यति नै मात्रामा अन्य नायिकाको नियति–चर्चाले हामीलाई सायदै बिथोल्छ १ आज केही भारतीयले ‘सीता हाम्री’ भने पनि, नेपाली कत्तिले त्यसको प्रतिवाद गरे पनि सीता वास्तवमा आफ्नो जीवनकालभरि नै सबैबाट परित्यक्त थिइन् । न जनकजस्ता ज्ञानीले सीतालाई बुझ्न सके, न रामचन्द्रजस्ता मर्यादापुरुषले सीताको स्वाभिमानमाथि न्याय गर्न सके । मरेपछि विभूति मान्न सजिलो छ, तर सीता बाँचेकी भए हाम्रो कानुनले अहिले पनि लव–कुशलाई अनागरिक नै करार गर्थ्यो । तर, यसमा दोष राम वा जनकको थिएन । सीताको व्यक्तित्व नै यस्तो थियो कि सामान्यजन त छाडिदिऊँ, प्रकाण्ड विद्वान्हरूलाई समेत सीता बुझ्नु दुष्कर थियो ।

कात्यायनीको गाई र सुनयनाको भान्छा
सीतायणका अनुसार, जनकपुरको १७ औं शताब्दीसम्मको इतिहास अद्यापि अन्धकाराच्छन्न छ, तर प्राचीन साहित्यमा जनकपुरको वर्णन तत्त्व–चिन्तनको केन्द्रका रूपमा गरिएको पाइन्छ । बृहदारण्यक उपनिषद्मा पनि ‘जनक–जनक इति वै धावन्ति’ भनेर इंगित गरिएको छ । हाल हामीले जनकपुर मानिआएको ठाउँ १७ औं शताब्दीमा मध्यभारतको लोहगढ नामक गाउँका भक्त सुरकिशोर दासले पहिचान गरेको जिकिर सीतायणले गर्छ । श्रुतिपरम्पराअनुसार, सीता स्वयं सुरकिशोरको ध्यानमा आई पूर्वी भारतवर्षमा गण्डकी तथा कौशिकीको मध्यमा रहेको भूमि नै मिथिला भएको संकेत गरेपछि मटिहानी हुँदै उनी जनकपुर पुगेको मान्यता छ । पछि सुरकिशोर दासले स्थापना गरेको मठलाई नै विभिन्नकालमा मकवानपुरका राजा माणिक सेन, हेमकर्ण सेन हुँदै पृथ्वीनारायण शाह र अमरसिंह थापासम्मले पृष्ठपोषण गरेपछि यसले राजकीय अनुमोदन र संरक्षण पाएको प्रसंग पनि सीतायणमा पाइन्छ ।

सुरकिशोरको अभिलेख अनुसार, त्यो बेला जनकपुर सघन वन थियो । पूर्णिमामा भक्तजनहरू आएर पूजाआजा गरे तापनि बाघ र चितुवाको डरले साँझ नपर्दै घर फर्किन्थे । तर, पौराणिक कथाका अनुसार, प्राचीनकालमा मिथिला शिरध्वज याज्ञवल्क्य, गार्गी, अष्टावक्रजस्ता विद्वान् मुमुक्षुको संगमस्थली थियो । भनिन्छ, सीताले सानी छँदा जनकको कुममा झुन्डिएर, अलि ठूली भएपछि जनकको काखमा बसेर र अन्ततोगत्वा ब्राह्मणहरूसँगको प्रत्यक्षचर्यामा संलग्न भएर वेदान्तको ज्ञान प्राप्त गरेकी थिइन् ।

आफ्ना दरबारमा आएर मीमांसा गर्ने ऋषिहरूलाई जनकले गौदान गरेर बिदा गर्ने गरेका थिए । त्यसैबीच राजाबाट प्राप्त गाई लिएर याज्ञवल्क्य आफ्नो घर पुगे अनि पत्नीद्वय मैत्रेयी र कात्यायनीलाई धन जिम्मा लगाए । मैत्रेयीले गाईलाई हेरिन् र सोधिन्, ‘के यो धनले मलाई अमरत्व दिन्छ र?’ याज्ञवल्क्य धन क्षणिक रहेकाले यो अमरत्व वा ज्ञानको साधन नरहेको बताउँछन् । यति सुनेपछि गृहस्थआश्रम त्यागेर मैत्रेयी पनि याज्ञवल्क्यकै पछि लागेर अरण्यमा साधना गर्न निस्किन्छिन् । कात्यायनीचाहिँ गाईलाई हेर्छिन् र भन्छिन्, ‘आखिर विद्वान्हरूले पनि त खानैपर्छ ।’ यो गम्भीर बोधसँगै कात्यायनी संसार साधनामा लाग्छिन् । यी दुवै विदुषीहरूको कुरा सुनिरहेकी सीताको चित्तमा अनायास ठूलो रहस्योद्घाटन हुन्छ । याज्ञवल्क्यको आश्रमबाट फर्किएर सीता सिधै आमा सुनयनाको भान्छामा पुग्छिन् । ठूला–ठूला कराहीबीच सुनयना पकवान बनाउन व्यस्त हुन्छिन् । त्यहाँ बसेर सीता कसरी स्थूल खाद्यपदार्थ नै रासायनिक रूपान्तरणले सूक्ष्म चेतना बन्छ भन्ने तत्त्वबोध गर्छिन् ।

प्राच्य दर्शनमा स्त्रैण प्रज्ञालाई दुई खेमामा बाँडिएको छ– मैत्रेयीका झैं तर्क र तत्त्वको साधना गर्ने ब्रह्मवादिनी र कात्यायनीका झैं गार्हस्थ्य तथा सृष्टिपरम्पराको साधना गर्ने स्त्रीप्रज्ञा । मैत्रेयीलाई बुझ्न सजिलो छ, कात्यायनीलाई पनि बुझ्न सजिलो छ, तर सीता एकैसाथ मैत्रेयी र कात्यायनी थिइन् । अत्यन्त प्रखर विदूषी भएर पनि सीताले विद्वता प्रदर्शन गरिनन्, तर उनले आजन्म स्त्रीप्रज्ञालाई अक्षुण्ण राखिन् । उनको वात्सल्य, कोमलता, सौन्दर्य र समर्पणलाई लिएर कतिपय आधुनिक चिन्तक सीतालाई अबलाका रूपमा चित्रण गर्छन् । कतिपय अवस्थामा महिलावादी विदुषीहरू पनि यो दृष्टिकोणलाई अनुमोदन गर्छन्, तर मेरो विचारमा, दुर्भाग्यवश यो पितृसत्ताकै विकृत दृष्टिदोष हो ।

सीताको प्रसंग आउँदा म संस्कृतको एउटा पद्य सम्झिन्छु:

बन्धनानिखलु सन्तिबहूनि ।

प्रेमरज्जुकृत बन्धनमन्यत् ।।

दारुभेदनिपुणोऽपि षडङ्घ्रिः ।

निष्क्रियो भवति पंकजकोशे ।।

अर्थात्, संसारमा बन्धन त अनेकन् प्रकारका हुन्छन्, तर जो प्रेमको बन्धन छ, यसको रहस्य छुट्टै छ । देवदारको रूखमा आफ्ना सूँढले खोपेर प्वाल पार्न सक्ने भँवरा, जसै सूर्यको अन्तिम चुम्बनसँगै बन्द हुँदै गरेको अरबिन्द वा कमलको कोमल आलिंगनमा कैद हुन्छ, उसले आफ्नो कर्कश बलले ती पत्रदललाई च्यात्दैन । अपितु, नतमस्तक भएर सो कोमलतामै आफूलाई समर्पण गरिदिन्छ । प्रेमी र बलात्कारीबीचको फरक नै यही हो । प्रेम बलात् आघातले जितिंदैन । प्रेम समर्पणले मात्रै जितिन्छ । हामी सीतालाई अबला ठान्छौं । वाल्मीकिले पनि सीतालाई अबला नै मानेका थिए । संस्कृत शब्द अबलालाई दुई किसिमबाट अर्थ्याउन सकिन्छ– पहिलो बलहीन र दोस्रो– बलले जित्न नसकिने । सीता अबला थिइन्, तर दोस्रो खालकी अबला । जीवनमा जे पनि पाउनयोग्य छन्– प्रेरणा, प्रेम, प्रसाद, ती सब अबला, बलातीत छन् ।

हामी अधिकार नपाए खोस्नुपर्छ भन्ने धारणामा हुर्कियौं । यो आफैंमा नराम्रो पनि होइन । हाम्रोजस्तो विभेदयुक्त समाजमा शुर्पणखा, मन्दोदरीजस्ता विद्रोही, आत्मस्वाभिमानी चेत पनि चाहिन्छ । यो हरेक महिलाभित्र हुनु जरुरी पनि छ तर, संसारमा त्यस्ता वस्तु पनि छन्, जसलाई तर्क, बलले वा स्वामित्वले जित्न सकिन्न । सीता त्यही अबला शक्ति थिइन्, जसलाई न रावणले जित्न सके न रामले । सीतालाई जित्न प्रेम चाहिन्थ्यो । सधै मर्यादापुरुष रहेका राम सीताको हकमा चुकेका हुनाले उनलाई रामचन्द्र भनियो भन्ने मान्यता पनि छ । चन्द्रमामा पनि दाग हुन्छ । राम रामचन्द्र भए । सीता विभूति भइन् ।

विभूतिका अनेकन अर्थ छन्, तीमध्ये एक अर्थ ऐश्वर्यशाली वा ईश्वरीय शक्ति हो भने अर्को अर्थ हो– खरानी । निदा फाजलीले संसारलाई जादुको खेलौना भनेका थिए– नपाए सुन, पाए खरानी । सीताको कथाको जटिलता नै यही हो । राम मृगमरीचिकाको पछि लाग्छन्, भेट्टाउँदैनन् । वास्तवमा रामले जीवनपर्यन्त खोजेको मृगमरीचिका सीता स्वयं थिइन् । वाल्मीकिले बारम्बार सीतालाई सुनसँग दाँजेका छन् । जसरी अग्निले सुनलाई गलाउँदैन, त्यसैगरी सीता अग्निपरीक्षाबाट अनाहत निस्किइन् । सीताले रामलाई त्यागेपछि रामले दोस्रो विवाह गरेनन् । कसरी गर्थे ? सीताजस्तो विराट् व्यक्तित्वको सान्निध्य पाएपछि उनको शून्यता पूरा गर्न कसले सक्थ्यो ? भनिन्छ, रामले सीताको अनुपस्थितिमा उनकै सुवर्ण मूर्ति बनाएर राजकाज चलाए र अश्वमेध यज्ञसमेत गरे । सीता रामकी मृगमरीचिका थिइन् । कहिले माटो, कहिले सुन १ अप्राप्य, दिव्य, सुवर्ण १

सीताको प्रकृति कात्यायनीकै जस्तो गार्हस्थ्य देखिए पनि उनको अधिकांश जीवन मैत्रेयीको जस्तो अरण्यमै, स्व–खोजमै बित्यो । रामायण कथा असाध्यै आलंकारिक छ । भनिन्छ, वाल्मीकि ऋषि स्वयं रामायण लेख्नुअघि डाँकु थिए । जो व्यक्ति डाँकु होस् र स्वयंमा ऋषि पनि होस्, त्यस्तो चेतनाबाट मात्रै रामायणको कथा सम्भव छ । अरस्तुप्रदत्त पाश्चात्य चिन्तनमा हरेक आयाम दुई विरोधी दशामा विभक्त हुन्छ– राम्रो या नराम्रो, नायक वा खलनायक, दुःखान्त वा सुखान्त इत्यादि । यस प्रकृतिलाई अंग्रेजीमा बाइनेरि भनिन्छ । यो प्रणाली आफैंमा शक्तिशाली प्रणाली हो । कम्प्युटरदेखि लिएर अनेकन् आधुनिक प्रविधि यही चिन्तनधाराका उपज हुन् । विज्ञानको विस्तारसँगै बाइनेरि दृष्टिकोण अन्य संकायमा पनि हावी हुन थाल्यो । दुर्भाग्यवश यही दृष्टिकोणको संकीर्ण झ्यालबाट हामीले पूर्वीय साहित्यलाई पनि बुझ्ने कोसिस गर्र्यौं । वाल्मीकिको रामायण व्यापक छ । यहाँ दोषरहित न राम छन्, न गुणरहित रावण । तर, जिन्दगी गुण–दोषको गणना मात्रै होइन । नैतिकता सापेक्ष कुरा हो, मानपदवी वा सुख–दुःखका अनुभूति पनि सापेक्ष हुन्छन् । यदि सबैथोक सापेक्ष छन् भने निरपेक्ष सत्त्व के हो रु यो विहंगम खोजको अभिभारा वाल्मीकिले सीताको काँधमा छाडिदिएका छन् । राम नियमपरस्त थिए भने रावण आदतपरस्त । निरन्तर रूपान्तरणका लागि जो तरलता चाहिन्थ्यो त्यो सीतामा मात्रै थियो । सीतामा विरोधाभास छ किनभने उनमा रूपान्तरण छ ।

जसरी स्थूल भोजन रक्त, पिण्ड हुँदै चेतना बन्छ, त्यसरी नै महिलाको श्रम र वात्सल्यकै बुनियादमा संसारका तमाम पुरुषार्थ अडिएका छन् । दुर्भाग्यवश, हामीले महिलाको श्रमको न उचित आर्थिक मूल्यांकन गर्न सकेका छौं न नै त्यसको गरिमा बोध गरेका छौ । कतिपय नवमार्क्सवादीहरूले पुँजीवादले मजदुर वर्गको मात्रै होइन, विशेषतः महिलाको श्रम शोषणबाट अतिरिक्त नाफा निकालेको छ भनेर सार्थक तर्क पनि गरेका छन् । पितृसत्ता र कालान्तरमा पुँजीवादले मान्छेको मूल्यलाई, उसको सृजनात्मकता र श्रमलाई केवल आर्थिक उपार्जनका तुलाबाट तौलियो । यो तौल्याइले हाम्रा आमा, दिदी, बहिनीको श्रमलाई नगण्यप्रायः बनाइदियो । राजा जनकलाई हामीले राजर्षि मान्यौं, शिखर चैतन्य मान्यौं, तर सुनयनाको भान्छा नभएको भए, जनक जनक हुने थिएनन् । सीताले जनकको सभा पनि देखिन् र सुनयनाको भान्छा पनि । तर, त्योभन्दा माथि, उनले हामीहरूले सत्यको खोजमा अवहेलना गरेका पाकशास्त्र, कृषि, वात्सल्य, करुणाको शाश्वत महत्ता बुझिन् । हामी आज पनि मिथिलाको बौद्धिक अभ्युदयको कुरा गर्दा जनकको महिमागान गर्छौं, तर सुनयनाको भान्छालाई बिर्सन्छौ । यो हाम्रो दृष्टिदोष हो । यही दर्शनले सामाजिक लाभांश लिन सबैले स्वार्थी, हिंस्रक र व्यक्तिवादी हुनैपर्ने अवस्था सृजना गरेको छ । सबै जना जनकै भए, रामै भए, मैत्रेयी नै भए दुनियाँ प्राज्ञ त हुन्थ्यो होला, तर कति नीरस १ कति तिक्त १ कति अधुरो १

महामृत्युञ्जय मन्त्रमा ऋषिहरू त्यस्तो जीवनको कल्पना गर्छन्, जहाँ जीवन यति पूर्ण होस् कि मृत्यु आउँदा पाकेको फलजस्तै बोटमा घाउ नै नलगाई अमृतको यात्रामा निस्किन सकियोस्– अर्थात् मर्न सकियोस् । नपाकेको फल खस्दा रूखमा चोट लाग्छ । हाम्रा जीवनमा पनि अनेकन् चोट लाग्छन्, आघात हुन्छ । कतिपय अवस्थामा तिनै आघात खेप्नुपर्दा हामी तिक्त र रिक्त हुन्छौं । शोषकविरुद्ध चेतनशील हुनु वा त्यसको प्रतिकार गर्नु राम्रो कुरा हो, तर आफूलाई शोषित पात्र ९भिक्टिमहुड० का रूपमा देख्नु स्वयंको गरिमालाई अवहेलना गर्नु हो । जीवनमा चोट अवश्यंभवी छन् । ती चोट सीताले पनि सहिन् ।

आसामी लोकरामायण कथाको एउटा प्रसंग घतलाग्दो छ– धोबीको कुरा सुनेर रामले सीतालाई झुक्याएर वनमा छोड्नका लागि लक्ष्मणलाई अह्राउँछन् । त्यो कुरा सुनेर लक्ष्मण लज्जित हुन्छन् र त्यसमा आफ्नो असमर्थता जनाउँदै सो काम गर्न स्वयं दाजुलाई अनुरोध गर्छन् । यसपछि रामचन्द्रले लक्ष्मणलाई जुन अभिव्यक्ति दिन्छन्, त्यसमा उनको विवशता प्रस्ट बुझ्न सकिन्छ । राम भन्छन्, ‘सीता अरूको त के कुरा मैले भनेको पनि सुन्दिनन् । मैले वनवास नजानका लागि आदेश नै गरें, मानिनन् । लक्ष्मणरेखा काटेर बाहिर ननिस्कनू भनेर तिमीले सम्झायौ, तर त्यो पनि मानिनन् र परिणामतः त्यत्रो युद्ध नै हुन पुग्यो । रावण–वधपछि पनि जनसमाजमा उनको पवित्रता प्रदर्शन गर्न मात्र मैले खोजेको थिएँ, उनी आफैंले अग्निपरीक्षा लिने भइन् । यसरी सीता आफ्नै विवेकको निर्णयबाहेक अरूको कुरो नसुन्ने भएकीले अब धोवीको यो अवगालको कुरो सुनाएँ भने उनले मसँग जे प्रश्न गर्छिन्, त्यसको जवाफ सायद मसँग हुनेछैन ।’

यसरी सीता एक विद्रोही व्यक्तित्व थिइन् । उनी नियतिको पाबन्द पात्र पनि होइनन् । सीता प्रखर विद्रोही पात्र हुँदाहुँदै पनि विद्रोही व्यक्तित्वको प्रदर्शन नहुनु उनको वैशिष्ट्य थियो । उनको विद्रोहले मर्यादामा आँच ल्याएन, उनको माधुर्य घटाएन । जीवनका हरेक दुःख उनी आफैंले रोजेका दुःख थिए र तिनलाई उनले आजन्म हार्दिकताका साथ वरण गरिन् ।

सानोमा भर्खर–भर्खर म्यारिज खेल्न सिक्दा मलाई जोकर वा माल परे तारै खसेझैं लाग्थ्यो । तर, खेललाई विजयी निष्कर्ष दिन माल भएर मात्रै हुँदो रहेनछ । आफूसँग आएका समग्र पत्तीलाई समन्वय गर्न सक्नुपर्छ भन्ने बुझ्न मलाई धेरै समय लाग्यो । जीवनमा सुख पनि छन्, दुःख पनि छन् । आँपको मञ्जरीले चैत–वैशाखको उत्ताउलो हावा–हुन्डरी पनि झेल्नुपर्छ, फलले ग्रीष्मकालीन सूर्यको उत्तप्त ताप पनि सहनुपर्छ र बर्खाको दर्के झरी पनि प्युनुपर्छ । कलिलोमा आँप तीतो हुन्छ र पाक्नुअघि अमिलो पनि, तर निष्कर्षमा, कैयौं आघात भोगेर पाकेपछि त्यही आँप रस–सौरभमय मिठासमा परिणत हुन्छ । प्रकृतिको प्रज्ञा यही हो । स्त्रीप्रज्ञा पनि यही हो– मिठास, मधु, आनन्द १

केही दिनअघि मात्रै एक सखीले मलाई भन्नुभएको थियो, हाम्रा छोरीहरू सीताजस्ता नबनून् । तर, मलाई किन–किन लाग्छ, मेरी छोरी भएमा ऊ सीताजस्तै बनोस् । यो कठोर दुनियाँबाट पराजित भएर ऊ कठोर नबनोस् । नम्र, मिष्ठ र मधु बनोस् १

सीता बनेर बाँच्न गाह्रो छ । आज पनि कैयन् सीताहरू अनागरिक लव–कुशका लागि लडिरहेका होलान् । सामाजिक सञ्जालमा वा अन्यत्र अग्निपरीक्षा दिइरहेका होलान् । चुनौतीबिनाको जिन्दगी के जिन्दगी रु मेरी छोरी सीताजस्तै बनोस् । लालित्य, सौन्दर्य, मेधाको उपमा बनोस् । मिठास बनोस् । मधुपर्क बनोस् । समाजलाई चुनौती बनोस् । कसैले बुझून् या नबुझून्, यो विशाल अन्तरिक्षमा एक्लै कौतुकमय रमण गर्ने रमणी बनोस्– साधवी बनोस्– कोमलताको पर्याय बनोस् ।र, जहाँसम्म सीता कसकी भन्ने प्रश्न छ, हिजोआज मलाई लाग्छ, सीता कसैकी होइनन् । न रामकी, न जनककी । जो व्यक्ति समाज, राज्य वा देशबाट उठेर स्वयम्भू बन्छ, तिनैलाई हामीले शास्त्रीय अर्थमा विभूति मानेका थियौं । सीता स्वयंमा आफ्नै थिइन् । कसैको जस्तो लाग्नु संयोग मात्र हो ।कान्तिपुर..

 


Thali Mobile Pvt.Ltd.