भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सेवाका नाममा धर्मशालामा व्यापार


  • पुष २२, २०७९
  • 228 Views
सेवाका नाममा धर्मशालामा व्यापार image

काठमाडौँ । अमालकोट कचहरी र सेवा समितिबीच २०६० जेठ १२ गते विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भए पनि सम्झौताको १९ वर्षपछि पशुपति गौशाला धर्मशाला अघोषित व्यापारिक केन्द्र भएको छ ।

सम्झौताविपरीत होटल, रेस्टुरेन्ट, लज र अस्पताल
पशुपतिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सञ्चालित धर्मशालामा लज चलाइएको छ । सहुलियतमै लज चलाए पनि सेवा समितिले १९ वटा सटरबाट कार्यविधिबिनै चर्को भाडा असुली गरिरहेको छ । पशुपति गौशाला धर्मशालामा पसल सञ्चालन गर्ने स्याङ्जाका श्रीधर न्यौपानेले ३० हजार रुपियाँभन्दा बढी मासिक भाडा तिर्नुहुन्छ । उहाँले भन्नुभयो, “दुई वर्षमा सम्झौता नवीकरण गर्नुपर्छ । मैले १४ वर्षदेखि पसल चलाइरहेको छु । भाडा चर्को छ ।” धर्मशालामै ट्राभल्सका सञ्चालक अच्युत चापागाईंले पनि कार्यालय चलाएको १० वर्ष भयो । उहाँले मासिक ३५ हजार रुपियाँ भाडा तिर्नुहुन्छ ।

सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले १९ मध्ये १८ वटा सटर भाडामा लगाइएको बताउनुभयो । उहाँले धर्मशालाबाट उठ्ने भाडा पारदर्शी रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले यत्रो सेवा गरिरहेका छौँ । तपाईं भाडाको कुरा गर्नुहुन्छ १ प्रक्रिया मिलाएको छ, अफिस आउनुस्, देखाउँला ।” पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले विश्व सम्पदा पशुपतिनाथको सम्पत्तिमाथि सेवा समितिले दोहन गरिरहेको बताउनुभयो । उहाँले कोषलाई वार्षिक ५१ हजार रुपियाँ बुझाउने सेवा समितिले एउटै सटरबाट मासिक ३५ हजार असुलेको विषयमा छानबिन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अचाक्ली भाडा लिइरहेको गुनासो आएको छ । जिल्ला प्रशासन कार्यालयमा भाडाको अडिट बुझाउने र कार्यविधि बनाएर मात्रै भाडादर निर्धारण हुन्छ । तर अहिलेसम्म भएको छैन । अब हामी छानबिन गर्छौं ।” काठमाडौँको गौशालास्थित कित्ता नं। ८३ को ४–१५–२–० र ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गामा धर्मशाला र गाईनन्दी संरक्षण गर्न प्रयोग गर्ने सर्त सम्झौता गरिएको हो तर मारवाडी सेवा समितिले जर्सी गाईपालन गरेर डामेर छाडिएका साँढेहरू धादिङ लगेर राखेको छ । अहिले २१७ वटा दुहुना गाई र बाच्छाबाच्छी धर्मशालामा छन् । अध्यक्ष गोयलले भन्नुभयो, “धादिङमा जग्गा किनेर साँढेहरूको संरक्षण गरिएको छ ।”

कोषका प्रवक्ता अधिकारीले स्थानीय जातका गाई पाल्ने परम्परा भए पनि सेवा समितिले जर्सी गाई पालेको बताउनुभयो । उहाँले गाई र नन्दीलाई अव्यवस्थित तरिकाले थुनिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो परम्पराविपरीत छ । सेवा समितिले यो विषयमा प्रस्टीकरण दिनुपर्छ ।”

सेवा समितिले सम्झौताको मापदण्डविपरीत ३० बेडको डायलासिस सेन्टर सञ्चालन गरेको छ । गाई पालिएको भवन र डायलासिस सेन्टरको भवन जोडिएका छन् । अध्यक्ष गोयलले सेवा गर्ने उद्देश्यले सेन्टर चलाइएको बताउनुभयो । उहाँले “मापदण्डको कुरा होइन सेवा गरेको कामलाई हेर्नुस्,” भन्नुभयो ।

प्रवक्ता अधिकारीले डायलासिस सेन्टरका लागि उपयुक्त जग्गा खोज्न सुझाव दिँदै धर्मशाला जुन प्रयोजनका लागि बनाइएको हो त्यो मात्रै गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु र गाई–नन्दीका लागि बनाइएको गौशालामा अनेक व्यवसाय सञ्चालन गर्न मिल्दैन । त्यस्तो अवस्थामा सम्झौता रद्द हुन्छ ।” गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.